बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

हामी नारीले पनि आफूलाई परिवर्तन गराउन सक्नुपर्‍यो

शनिबार, ३१ साउन २०८२, १४ : २६
शनिबार, ३१ साउन २०८२

सारांश

  • महिलाहरूले समय अनुसार आफूलाई परिवर्तन गर्नुपर्छ र पुरुष-प्रधान समाजमा आफ्नो स्थान बनाउनुपर्छ।
  • लेखकले महिलाहरूलाई आफ्नो कर्तव्य निभाउन, शिक्षा हासिल गर्न र समाजमा योगदान दिन प्रोत्साहन गर्छिन्।
  • लेखकले महिला सशक्तिकरण, आत्मनिर्भरता र संगठित भएर अघि बढ्न जोड दिन्छिन्।

‘मधौरोले माडै नपिएमा, धामीले मात्र काम चल्दैन’ भनेजस्तो हामी महिला वर्ग पनि समय सुहाउँदो हुन आवश्यक छ । समयले खोजेको जस्तो हामी महिलामा पनि परिवर्तन आउन सक्नुपर्छ । हामी नारीहरूले आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । 

हामीमा क्षमता नभएको होइन, तर हामी आइमाई प्रत्येक महिना मासिक धर्ममा गदारिनुपर्ने, आमाको कर्तव्य निभाउँदा गर्भधारण गर्नुपर्ने, गर्भधारणको प्रक्रियामा आइमाईको शारीरिक रूपमा ठुलो परिवर्तन आउँछ । शरीरले आफूजस्तो अर्को मान्छे निर्माण गरी १० महिनासम्म आफ्नो कोखमा बोक्दा शारीरिक परिवर्तनमा मानसिक असर परी महिला आमाको मनस्थितिमा अर्कै प्रकारको असर परेको हुन्छ । यस्तोमा नारीले अलग स्थिति महसुस गर्छे । यसैबेला नारीले आफूलाई सम्हाली आफ्नो कर्तव्यपालन राम्रोसँग गर्नुपर्छ । बच्चा जन्माइसकेपछि आमाले धेरै समय नानीलाई स्याहार्नुपर्छ । यसले गर्दा आफूले लिएको जिम्मेवारीमा जति राम्रोसँग छोराछोरी नहुँदा निभाउँथ्यो, त्यो सम्भव नहुन सक्छ । यस्तो अवस्थामा उच्च ओहोदा सम्हालेका महिलाले साह्रै विचार पुर्‍याउनुपर्ने आवश्यकता रहन्छ ।

यस्तो स्थिति गर्भ अवस्थामा, सुत्केरी भएपछि महिलाहरूले आफ्नो काम, कर्तव्य, जिम्मेवारीमा कमी–कमजोरी नआओस् भनी धेरै विचार पुर्‍याउनुपर्छ । कारण आफूले लिएको जिम्मेवारी राम्रोसँग निभाउन सकोस् भनी । आइमाईको काम यस्तै हो भनेर कसैले टीकाटिप्पणी गर्ने मौका हामीले दिनुहुन्न । हामी महिला जुन–जुन क्षेत्रमा काम गरेका छौँ, त्यस क्षेत्रमा हामीले यस प्रकारको विचार पुर्‍याई कार्य गर्न सक्नुपर्छ। किनभने हामीलाई पुरुषशासित समाजले साह्रै हीन दृष्टिले हेरेको हुन्छ । हामीलाई हीन दृष्टिले हेरेको मात्र हुँदैन, कमी–कमजोरी खोजी तल झार्न खोजेको हुन्छ । हामी महिला वर्गले आफ्नो कार्य क्षेत्रमा साह्रै सतर्क भएर आफ्नो कर्तव्य निभाई कसैले औँला उठाउने मौका दिन हुन्न ।

मान्छेले सुरु गर्दा मातृप्रधान युग थियो र माथि आज पनि मातृप्रधान युगको शेष बाँकी छ भनी लेखेकी छु, त्यही मातृप्रधान युग जसलाई मैले वैदिककालभन्दा पहिलेको देवकाल भनी मानेकी छु, त्यस देवकालमा महिला प्रधान थिई ।

मैले माथि भनिसकेँ महिलालाई महिनैपिच्छे मासिक धर्मका बेलामा एक अलग परिस्थितिको सामना गर्नुपर्छ । त्यस्तै गर्भवती अवस्था र बच्चा जन्माएपछि आमाले अतिरिक्त समय निकाली आफूले जन्माएको नानीको स्याहारमा लगाउनुपर्ने हुन्छ, दिनुपर्ने हुन्छ । कुशल नारीले कसैले थाहै नपाई आफ्नो कर्तव्य निभाएकी हुन्छे । यसरी आइमाईले मात्र आफ्नो काम, कर्तव्य निभाउन गाह्रो पर्छ । यस कारण हामी महिलाले आजको परिवर्तनमा साह्रै सोची, सम्झी, बुझेर आफ्नो कदम अगाडि बढाउन आवश्यक छ । साथै हामी सदा चुस्त–दुरुस्त सतर्र्क रहेर आफ्नो कर्तव्य निभाउन सक्नुपर्छ । यस प्रकारले समयको मागलाई बुझ्न सकेनौँ भने हामी महिला फेरि जस्ताको त्यस्तै पुरुषको मनोरञ्जनको साधन र छोराछोरी जन्माउने यन्त्र भएर बस्नुपर्नेछ । यस कारण आज पढेलेखेकी महिलाले अगौटे भएर आफ्ना भविष्यमा आउने महिलाहरुलाई केही गरी देखाउने र सही बाटो बताउने उदाहरण भई देखाउन सक्नुपर्छ । हामीले त्यसो गर्न सकेनौँ भने हामी ‘खोरियाको फट्याङ्ग्रा खोरियामा’ नै रहनेछौँ ।

महिलाले सबभन्दा पहिले आफ्नो मूल्याङ्कन गर्न सक्नुपर्छ । मान्छेले सुरु गर्दा मातृप्रधान युग थियो र माथि आज पनि मातृप्रधान युगको शेष बाँकी छ भनी लेखेकी छु, त्यही मातृप्रधान युग जसलाई मैले वैदिककालभन्दा पहिलेको देवकाल भनी मानेकी छु, त्यस देवकालमा महिला प्रधान थिई । सम्पूर्ण मानव समाज महिलाको हातमा रहेको थियो । त्यस देवकालका नारी पावर्ती, दुर्गा, सरस्वती, लक्ष्मीको नामले आज पनि पुजनीय छन् । त्यही देवकालका पुरुष ब्रह्मा, विष्णु, रुद्र र तेत्तीसकोटि देवता भनी पुजिन्छन् र इतिहास राखेका छन् । मातृप्रधान युगमा नारी त्यति स्वार्थी हुँदिन । आफू प्रधान रहँदा पनि आफ्नो साथ निभाउने पुरुषहरूलाई बेकामको मूल्य अनुरूप पूजनीय, आदरणीय बनाई आजसम्म पुजिएको छ ।

उपरोक्त कुरामा सत्यता के कति छ भनी विचार गर्दा मातृप्रधान समाजको शेष आज पनि हामी पाउन सक्छौँ । हाम्रै नेपाल राष्ट्रमा हिमाली क्षेत्रमा मातृप्रधान संस्कार विद्यमान छ । जेठो छोराले विवाह गरी ल्याएकी आइमाईलाई त्यस परिवारका सम्पूर्ण छोराले आफ्नो सहधर्मिनी सम्झनुपर्ने र त्यस परिवारको हर्ताकर्ता त्यही नारी रहन्छे । पचास साठी वर्ष पहिलेको कुरा हो, म महिला आश्रम महाराष्ट्र वर्धामा पढ्नलाई २००४ सालमा गएको बेलामा भूदान यज्ञ सन्त विनोवाजीले चलाउँदा त्यसको प्रचारप्रसार र सन्त विनोवाजीको पदयात्रामा सहभागी भएर बाबाको साथसाथ हिँड्ने सौभाग्य पाएकी थिएँ । आफ्नो पदयात्राको कार्यक्रम लिएर सन्त विनोवाभावे पाकिस्तानतिर लागेपछि म चाहिँ असाम घुम्न हेर्न गोहाटी, सिलाङ चेरापुन्जीसम्म हेर्न पुगेँ । त्यस बेलामा सिलाङमा गरुण र खास्रु जातिमा मात्र प्रधान पंखरा म आफैँले देखी आएकी थिएँ । त्यस्तै भारतको कर्णाटक राज्यमा पनि छ रे भनी सुन्दछ । त्यस्तै उल्लेख भएको भेट्टाएकी छ अफगानिस्तानको दुर्गम क्षेत्रमा मातृप्रधान आजसम्म छ भनी धेरै ठाउँमा उल्लेख भएको भेटाएकी छु । 

यसका लागि युगौँदेखि पुरुषशासित समाजले । शोषण गरेकी नारी वर्गले बडो होसियारीसँग आफूमा सुधार ल्याई समयले मागेको जस्तो आफू बन्न सक्नुपर्छ ।

मेरो भनाइको तात्पर्य आजको पुरुषशासित समाजले हामी आमावर्गको अस्तित्व नै मेटाई नारीलाई मनोरञ्जनको साधन, बास्नापूर्ति गर्ने भाँडो, छोराछोरी जन्माउने यन्त्र बनाई नारीको अस्तित्व मेटाइराखेका छन् । आज समयले कोल्टे फेरेको छ । आजको युग व्यक्तिवादी युग हो । त्यसैले प्रत्येक मानिसले बाँच्नलाई आफूयोग्य हुनुपर्छ । स्वावलम्बी युगमा नारीले पनि लाभ उठाई मनोवृत्तिलाई त्यागी, हामी नारीवादी स्वावलम्बी भएर आफ्नो खुट्टामा उभिएर एउटा नागरिकले राष्ट्रप्रति, समाजप्रति लिने जिम्मेवारी लिएर आफ्नै कर्तव्य निभाउन सक्नुपर्छ । नारीले पुरुष शासित परम्परा संस्कारविरुद्धमा आफूलाई सुधारी शोषणमुक्त हुन सक्नुपर्छ ।

यसका लागि युगौँदेखि पुरुषशासित समाजले । शोषण गरेकी नारी वर्गले बडो होसियारीसँग आफूमा सुधार ल्याई समयले मागेको जस्तो आफू बन्न सक्नुपर्छ । आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । आफूमा समय सुहाउँदो बनाउन सक्नुपर्छ । आजकी नारीले समयलाई चिनेर, समयलाई बुझेर आमूल परिवर्तन ल्याउनुपर्छ । आजकी नारीले आफ्नो हराएको इतिहास खोज्नुपरेको छ, मेटिएको र विलीन भएको अस्तित्वलाई खाल्डोबाट झिकेर चहकिलो कहिल्यै नमेटिने रङ भरेर चिनारी गराउनु छ र त्यसपछि नारीको अस्तित्वलाई फेरि जगाउनु छ । यस्तो कार्य गर्न नारीले आफूमा धेरै सुधार र परिवर्तनका साथसाथै मेहनत, परिश्रम, धैर्यताका साथ फुकीफुकी होसियारीपूर्वक अघि बढ्नुपरेको छ । 

नारीले क्रान्तिकारी कदम बढाएर महिला वर्गमा आमूल परिवर्तन गराई समय सुहाउँदो आफूलाई बनाई पुरुष वर्गको साथमा काँधमा काँध, हातमा हात मिलाई अघि बढ्नुपर्छ । आफ्नो लोप भएको अस्तित्वलाई फेरि जगाउनुपरेको छ, जागृत गरी महिलाले समाजका लागि, राष्ट्रका लागि केही गरी केही बनी देखाउनुपरेको छ । यी महिला तिमी मान्छे जन्माउने आमा हौ भने पुरुषको सदासाथ रही सहधर्म र सहजीवन निभाउने अर्धाङ्गिनी, सहधर्मिती हो भने जसरी भए पनि हामी नारीले आफू योग्य भएर आफूले गुमाएको थलोकिलो खोज्न सक्नुपर्छ र प्राप्त गर्नुपर्छ । अब आउने समयलाई साथ निभाउने योग्य हामी नारी बन्न सक्नुपर्छ । 

खासगरी आजका नारी वर्गको जिम्मेवारी पढेलेखेकी बुद्धिजीवी महिलाहरूमा आउँछ । पढेलेखेकी बुद्धिजीवी महिलाले आफू आफ्नो जिम्मेवारीबाट पन्छिन भएन, त्यसलाई निभाउन सक्नुपर्छ ।

आजको समय भनेको आधुनिक समय हो । आजको युग भनेको वैज्ञानिक युग हो । अणु र मिसाइलले डर–त्रास फैलाएको, कम्प्युटरले सञ्चालन गराएको, ह्यासेस र एड्सले सताएको समयका हामी मान्छे, रेडियो र टीभीले पढाएको, मोबाइलले कुरा सुनाएको, वातावरण सुहाउँदो नारीले आफूलाई बनाउन सक्नुपर्छ । आजको समयले नारीलाई घचघचाएको छ । जागृत गराएको छ, दिशा निर्देशित गरिरहेको छ । आजकी नारीले समयको आवाजलाई सुनी, चिनी समात्नु परिरहेको छ । समय अनुकूल आफूलाई बनाई समय सुहाउँदो हामी नारी हुनुपरेको छ । हामीले समयको आवाज सुनेनौँ भने समयलाई चिनेर समात्न सकेनौँ भने, समयलाई समाती समयको साथसाथ हिँड्न सकेनौँ भने हामी अझ पछि पर्नेछौँ । यसकारण आजका नारीमाथि ठुलो जिम्मेवारी आएको छ । यस जिम्मेवारीलाई राम्रो बुझ्नुपरेको छ र निभाउनुपरेको छ । 

नारीले गल्ती गर्‍यौँ भने नारीको भविष्य अन्धकारको खाल्डोमा गाडिनेछ । यसकारण आजकी नारीको काँधमा महिलावर्गको ठुलो जिम्मेवारीको भार आएको छ । यस्तो समयमा पनि हामी नारी अघि बढ्न सकेनौँ भने समयलाई उपयोग गर्न सकेनौँ भने ‘खोरियाको फट्याङ्ग्रा खोरियाको खोरियामै’ हामी नारी रहनेछौँ ।

खासगरी आजका नारी वर्गको जिम्मेवारी पढेलेखेकी बुद्धिजीवी महिलाहरूमा आउँछ । पढेलेखेकी बुद्धिजीवी महिलाले आफू आफ्नो जिम्मेवारीबाट पन्छिन भएन, त्यसलाई निभाउन सक्नुपर्छ । अनि मात्र आजका महिलाको सशक्तीकरण सफल भएर हामीले महिला वर्गलाई समय सुहाउँदो बनाई अघि बढाउन सक्छौँ । यसका लागि हामी महिलामा एउटा संगठित रूप भएर जान सक्नुपर्छ । आजकी महिलाले महिला वर्गको भलाइका लागि त्याग, तपस्या देखाई जीवनको केही समय दिन सक्नुपर्छ । हामी महिलाले हाम्रा लागि हामी नै केही गर्न सक्तैनौँ, केही गरी देखाउने जिम्मेवारी लिँदैनौँ भने अझै हामी महिला युगौँयुगसम्म लाक्षी नै भएर बस्नेछौँ । यस कारण जुन महिलाले पढेकी छे, जुन महिला अगाडि बढेकी छे, जुन महिला केही गरी देखाउन आत्मजागृत भइसकेकी छे, त्यस महिलाले आफूलाई समर्पित भएर महिलाका लागि केही गरी देखाउने अठोटका साथ अघि बढी कार्य गरी सफलता हासिल गर्न सक्नुपर्छ । 

हामी दृढ निश्चय भएर अघि बढेमा भने कुनै पनि बाधाले हामीलाई रोक्न सक्दैन । हामी प्रत्येक क्षेत्रमा सफल हुन्छौँ, सफल रहन्छौँ । हामीले आत्मैदेखि दृढनिश्चय लिएर अगाडि बढी काम गर्नुपर्‍यो । दृढनिश्चय आत्मा भएको व्यक्ति सदा सफल रहन्छ । उसले हार खानुपर्दैन । मेरो यही शुभकामना हामी सम्पूर्ण महिलामा दिन चाहन्छु कि यस समयमा भगवान्ले हामीलाई हाम्रा लागि काम गर्ने मनोवृत्ति दिउन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भद्रकुमारी घले
भद्रकुमारी घले
लेखकबाट थप