शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कथा

को होलान् मेरा बाबाआमा ?

शनिबार, ३१ साउन २०८२, १८ : ४८
शनिबार, ३१ साउन २०८२

सारांश

  • सन्ध्या नाम गरेकी युवतीले आफ्नो वास्तविक आमाबुवाको खोजी गर्छिन्, तर उनले आफ्नो जन्मको बारेमा स्पष्ट जानकारी पाउन सक्दिनन्।
  • युवतीलाई अठार वर्षको उमेरमा नेपाल पठाइन्छ, जहाँ उनले आफ्नो वास्तविक आमाबुवाको खोजी गर्दा विभिन्न समस्याहरूको सामना गर्छिन्।
  • अन्ततः, उनले थाहा पाउँछिन् कि उनलाई फोहोरको कन्टेनरमा फेला पारिएको थियो र उनलाई पाल्ने आमाबुवा थिए, तर उनको वास्तविक पहिचान अज्ञात रहन्छ।

समुद्रमा उर्लेका छालहरूजस्तै भएको छ मेरो मन । तिनै छालहरूलाई आफ्नो भित्री मनका कुरा भन्दै आएको पनि धेरै समय भयो । विशाल समुद्रभित्र पनि आफूलाई भुलाउन सक्तिनँ मैले । म को हुँ त मलाई थाहा छ तर मेरो आमाबुबा को हुन् ? त्यो मलाई थाहा छैन । मेरो बारेमा धेरैले धेरैवटा कथा भने । कुनचाहिँ मेरो कथा हो त्यो नै मलाई थाहा छैन ।

सानो दुईतले घर । घरअगाडि फराकिलो चउर । चउरमा बस्न राखिएका सेता सफा ६ वटा कुर्चीहरू । कुर्चीहरूका बिचमा सेतो गोलो टेबुल । बाहिर चउरमा बस्दा कति रमाइलो हुन्छ मलाई । खुला आकाश, स्वच्छ वातावरण । यही खुला आकाश, स्वच्छ वातावरणसँग भुल्दै जाँदा कति बेला कति बेला मलाई एउटै प्रश्नले चसक्क छुन्छ । त्यसपछि मेरो अगाडि सीमाहीन आकाशजस्तै पीडा तेर्सिएर बस्छ । के गरुँ कसो गरुँ जस्तो लाग्छ, मौन अवस्थामा त कति रोएँ कति ।

मलाई के नपुग्दो छ र ? सबै थोक छ । माया गर्ने आमाबुबा, दिदी, दाइभाइ । म कान्छी छोरी हुँ यो घरको । म सानै छँदा केही कुराको वास्तै हुँदैनथ्यो । खालि खान, खेल्न पाए पुग्थ्यो । जब ठुली हुँदै गएँ । आफ्नो परिचय खोज्दै जाँदा मुटु नै फुट्ला–फट्लाजस्तो भयो । हो, मलाई थाहा छ— यो घरमा सबैले अति नै माया गर्नुहुन्छ । मेरा हरेक सुख–दुःखमा उहाँहरू मिसिनुहुन्छ । घरमा सबैको अनुहार गोरो तर मेरो गहुँगोरो । सबै छक्क पर्थे मलाई देखेर । म किन दाइ, दिदी, भाइहरूजस्तै गोरी भइनँ भन्ने पनि नलागेको होइन मलाई ।

त्यो साँझ कहिले पनि बिर्सन सक्दिनँ म । हामी ६ जना खान बस्यौँ । खाना खानुअगाडि सधैँ टेबुलको एउटा छेउमा मैनबत्ती बाल्नुहुन्थ्यो आमाले । त्यो साँझ पनि मैनबत्ती बाल्नुभयो । सधैँ खाना खाँदा रमाइलो हुन्थ्यो । रमाइलो गर्ने क्रममा आमाले सबैले सानो बेलामा के–के गरे, कस्ता–कस्ता थिए आदि भन्दै जानुभयो ।

दिदी सानो बेलामा खुब ऐना हेर्नुहुन्थ्यो रे । उहाँ सेतो फ्रक लगाएर ऐनाअगाडि उभिएर मजाले हाँस्नुहुन्थ्यो रे । अनि अनुहारलाई धेरै आकार प्रकारमा बदल्नुहुन्थ्यो रे । उहाँको अनुहारको नक्कल आमाले गर्दा हामी हाँसेर मुर्छै परौँलाजस्तै भयौँ ।

दाइले चाहिँ खाली बदमासी गर्नुहुन्थ्यो रे । एउटा सानो बल थियो रे, त्यो बलले दिदीलाई, मलाई, भाइलाई हिर्काउनुहुन्थ्यो अनि आफू लुक्नुहुन्थ्यो रे । त्यसपछि उहाँ उफ्रिँदा चल्दा धेरै सामानहरू फुटे, भाँचिए र बिग्रिए रे । धन्न, उहाँ चोट लाग्नुबाट बच्नुहुन्थ्यो रे ।

आमाले दिदी र दाइको बाल्यकालको कुरा भन्दै जाँदा कथा भनेजस्तै लाग्थ्यो हामीलाई । दाइ, दिदी, भाइ एकैचोटि कराउन थाल्नुभयो, ‘अब सन्ध्याको पालो ।’

त्यो बालिकालाई हेरेर म साह्रै रोएँ, स्टिभ पनि रुनुभयो । हामीले त्यो बालिकाको नाम नेपाली नै राखिदियौँ, ‘सन्ध्या । त्यो सन्ध्या अरू नभएर तिमी नै हौ ।’

‘हो, अब सन्ध्याको पालो ।’ आमा एकछिन घोरिनुभयो । त्यसपछि जुरुक्क उठेर भान्सातिर जानुभयो । सबैजना चुप लाग्नुभयो । मलाई कस्तो नरमाइलो लाग्यो । किन आमाले त्यसो गर्नुभयो ? सायद सानोमा मैले उहाँहरूलाई धेरै दुःख दिएँ होला जस्तो पनि लाग्यो । त्यसपछि म पनि आमा भएतिर गएँ र भने, ‘सरी, मामा, सानोमा मैले तपाईंलाई धेरै दुःख दिएँ । अब कहिले पनि दुःख दिन्नँ ।’

‘ओ, नो, माइ डियर सन्ध्या । यु आर भेरी सुइट डटर । यु आर भेरी काइन्ड, यु नेभर गेब मी ट्रबल ।’

आमाले त्यसो भन्नुभयो तर रुनुभयो । मैले दुःख दिएकी थिइनँ भने उहाँ किन रुनुभयो ? पक्कै पनि मेरा केही रहस्यमय कुरा छन् होला ।

म र आमा सबै भएको ठाउँमा आयौँ र आ–आफ्नै कुर्चीमा बस्यौँ । एकछिन आमा बोल्नुभएन । बुबाले बलिरहेको मैनबत्ती हेरिरहनुभयो । दिदी, दाइ र भाइले भने पालैपालो सबैलाई हेरिरहनुभएको थियो । म भने जिल्ल परिरहेकी थिएँ ।

‘डेबिड, लिना, फ्रेड ! सन्ध्याको बारेमा सुन्छौ । ल म आज भन्छु ।’ आमाले मलिनो स्वरमा भन्नुभयो ।

‘डेबिड र लिना जन्मिसकेका थिए । म र स्टिभसँगै काम गथ्र्यौं । कामकै सिलसिलामा हामीले नेपाल जानुपर्ने भयो । डेबिड पाँच वर्ष र लिना सात वर्षका थियौँ । फ्रेड त जन्मेकै थिएन । तिमीहरूलाई मेरो आमाको घरमा छाडेर स्टिभ र म नेपाल गयौँ । नेपालमा हामीले दुई महिना बितायौँ ।

नेपाल हामीलाई साह्रै मन पर्‍यो— विशेषतः त्यहाँको हावापानी, हिमालहरू, मानिसहरू । त्यहाँका गाउँका मान्छेहरू त कति सोझा, मायालाग्दा थिए । मिहिनेत पनि धेरै गर्थे ।

त्यस्तै एक दिन हामी घुम्दै होटलतिर जाँदै थियौँ । एउटा साह्रै कारुणिक आवाज रोएजस्तो लाग्यो । किन–किन त्यो आवाजले हामीलाई तान्यो । हामी त्यही आवाज भएको ठाउँतिर गयौँ । एउटा बालक । कस्तो डर पनि लाग्यो । भर्खरै जन्मेको जस्तो थियो । रुँदारुँदा आवाज पनि थाकेजस्तो । फोहोरको कन्टेनर नजिकैको दृश्य थियो त्यो ।

‘स्टिभले पख, पख । एकछिन नछोउ भन्नुभयो । म आमा भइसकेकी हुनाले एउटा बालकको पीडा बुझ्थेँ । मेरो मन मानेन । बालकलाई उठाएँ । उठाउनेबित्तिकै बालक रोएन । त्यसपछि हामी पुलिस अफिसमा गयौँ । बालक छोरा नभएर छोरी रहिछ । पुलिसलाई जिम्मा दियौँ, पुलिसले लियो पनि । कस्तो दिक्क लाग्यो । त्यसपछि हामी होटलमा फर्कियौँ । बाटोभरि यो बालिकालाई आफैँ लान्छु जस्तो लाग्यो । आफ्नै छोरीजस्तै गरेर पाल्छु, उसलाई आफ्नो बाबुआमाको अभाव हुन दिन्न भन्ने लाग्यो । स्टिभले पनि मेरो यो कुरा मान्नुभयो ।

भोलिपल्ट पुलिस अफिस गयौँ । त्यो बालिकालाई बालमन्दिरमा लगिसकेको रहेछ । नेपालका बाङ्गाटिङ्गा नियम मिलाएर उसलाई लिएर आयौँ । कस्ता होलान्, यो बच्चालाई जम्न दिने आमाबाबु ? त्यसरी फाल्ने हो भने किन जन्माउनु त ?

त्यो बालिकालाई हेरेर म साह्रै रोएँ, स्टिभ पनि रुनुभयो । हामीले त्यो बालिकाको नाम नेपाली नै राखिदियौँ, ‘सन्ध्या । त्यो सन्ध्या अरू नभएर तिमी नै हौ ।’

‘है !’ सबैको आवाज एकैसाथ निस्क्यो । म म नै होइनजस्तो लाग्यो । म को हुँ भन्ने कुरा पनि मैले बाह्र वर्षपछि मात्रै थाहा पाएकी थिएँ ।

आमा र बुवा नराम्रोसँग रुनुभयो । दाइ, दिदी, भाइको आवाज उनीहरूभित्रै बिलायो । मैले कसैलाई हेर्ने हिम्मत गर्न सकिनँ ।

एयरपोर्टबाट नेपालको भूमिमा टेक्नासाथ मेरो हातगोडा थर्थरी काँपेका थिए । पत्तै नपाई बरर आँसु झरे, मन बलियो बनाएँ ।

को थिए होलान् मेरा बुबाआमा ? किन मलाई फोहोर राख्ने कन्टेनरमा लगेर फाले होला ? जन्माएपछि किन मलाई यो गतिमा ल्याएर छाडिदिए ! धन्न म बाँचेछु । बरु मरेको भए पनि हुन्थ्यो । त्यति बेला म पीडाले जलेर झरिरहेको मैनबत्ती जत्तिकै भएकी थिएँ ।

अहिले त म बाइस वर्षकी भइसकेँ । मेरो आफ्नै केटा साथी छ । यहाँको चलन अनुसार बिस वर्ष पुगेपछि आमाबाबुको घरमा बस्नु हुँदैन । त्यसैले हामी छुट्टै बस्छौँ । कहिले–कहिले मलाई कर्म दिने आमाको खुब याद आउँछ, म उहाँलाई भेटिरहन्छु ।

जन्म मलाई कसले दिए थाहा छैन । कर्म मलाई कसले दियो, त्यो राम्रोसँग थाहा छ । मेरो जीवनको घटना सुनेपछि म निकै टोलाउन थालेँछु । मेरो हाइस्कुलको पढाइ सकिएपछि बुबाआमाले मलाई नेपाल पठाउनुभयो । त्यतिबेला म भर्खर अठार वर्षकी मात्रै थिएँ । 

एयरपोर्टबाट नेपालको भूमिमा टेक्नासाथ मेरो हातगोडा थर्थरी काँपेका थिए । पत्तै नपाई बरर आँसु झरे, मन बलियो बनाएँ ।

आएर ठमेलको होटलमा बसेँ । दुई दिनसम्म यताउति घुमेँ । जति घुम्थेँ, त्यति रुन्थेँ । आफूजस्तै गहुँगोरो आमाजस्तो लाग्ने स्वास्नीमान्छेलाई देख्नासाथ रिँगटा लाग्ला लाग्लाजस्तो हुन्थ्यो । बुबाजस्तो लाग्ने लोग्नेमान्छेलाई गएर धेरै प्रश्नहरू गरुँजस्तो लाग्थ्यो ।

यी हुन् कि मेरी आमा, ती हुन् कि मेरा बा भन्ने भ्रमै भ्रमले बेरिँदै गएँ म । कर्म दिने बुबाआमाले मलाई अठार वर्ष पहिलेको पुलिसको ठेगाना दिनुभएको थियो । त्यो ठेगाना लिएर खोजेँ । रामबहादुर भन्ने पुलिसलाई भेटेँ । उहाँसँगै गएर घुमेँ पनि । कसैको पत्तै लागेन । त्यति बेलाका पुलिसहरूको कथा सुनेँ । कसैले मेरी आमाले मलाई जन्म दिनासाथ कन्टेनरमा फ्याँकेर मरिन् रे भने । कसैले समाजको अगाडि जुझ्न नसकेर मलाई कन्टेनरमा फालेर आफू सुरक्षित बनिन् भने । मलाई जर्मन लानेबित्तिकै कति त मेरी छोरी हो भनेर दावा गर्न आएका थिए रे । मैले आदि–इत्यादि कुराहरू सुनेँ । यही घटना हो भन्ने कुरा कसैले पनि छुट्ट्याउन सकेनन् । म निराश भएर त्यहाँबाट फर्के । कुनचाहिँ कुरालाई आधार बनाउनु मैले ?

लाग्छ, बरु बाबु–आमा मरे रे भन्ने थाहा पाउनेले कमसे कम म फलानाको सन्तान हुँ भन्ने त थाहा पाउँथे । बाबुआमा नभए पनि आफन्तहरूको माझमा त हुन्थेँ । मैले पनि त्यति मात्रै थाहा पाउन पाएको भए पनि हुन्थ्यो । यो पनि छैन त्यो पनि छैन, कस्तो जीवन ! म नेपाली त हुँ, कसकी छोरी हुँ त म ?

समुद्र जतिकै विशाल छ मेरो दुःख । समय छालहरूजस्तै उर्लिरहेछ, मेरो मनभित्र यतिखेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुस्मिता नेपाल
सुस्मिता नेपाल
लेखकबाट थप