शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गण्डकी प्रदेश

गाउँले सरेर गए, जनता पछ्याउँदै पालिका पनि सहर झरे

सोमबार, ०२ भदौ २०८२, ०९ : १६
सोमबार, ०२ भदौ २०८२

सारांश

  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले काठमाडौँ र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलायो।
  • मनाङको नार्पाभूमि र सिरान्चोक गाउँपालिकाले पनि काठमाडौँमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिए।
  • म्याग्दीको धवलागिरि गाउँपालिकाले पोखरा र काठमाडौँमा शिविर चलाएर सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दियो।
00:00 / NaN:NaN
Audio By AI

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साउन अन्तिम साता काठमाडौँ र चितवनमा शिविर चलायो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पालिकाले शिविर चलाएको हो । साउन २६ र २७ गते चितवन तथा २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।

मनाङको विकट पालिका नार्पाभूमिले पनि शिविर चलाएरै आफ्ना नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण गरायो । गाउँपालिकाको टिम हप्तौँसम्म काठमाडौँमा बसेर सेवा दिएको पञ्जीकरण शाखाका प्रमुख वीरेन्द्रसिंह बोहोराले जानकारी दिए । उनका अनुसार निकट भविष्यमै पोखरामा पनि यस्तै खालको शिविर सञ्चालन हुनेछ ।

गोरखाकै सिरान्चोक गाउँपालिकाले काठमाडौँको वनस्थलीमा साउन ३० गतेदेखि सुरु गरेको चार दिने घुम्ती शिविर आज सकिँदैछ । पालिकाले आफ्ना नागरिकलाई सहज होस् भनेर आवश्यक कागजातसहित उपस्थित हुन सूचना नै जारी गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहितको टोलीले सेवा दिइरहेको पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

534207508_122138645414724250_6926077049870817310_n

म्याग्दीको धवलागिरि गाउँपालिकाले पालिका अध्यक्ष र उपाध्यक्ष सहित सातवटै वडाका अध्यक्ष र सचिव सहितको टोली लिएर काठमाडौँमा शिविर सञ्चालन गरेर फर्किएको छ । १८ र १९ गते सञ्चालित शिविरमा डेढ सय जनाले सेवा लिए । सोही टोलीले पोखरामा पनि सेवा दिएर पालिका फर्किएको छ । खासगरी सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्मदर्ता र सिफारिस जस्ता सेवा शिविरबाट दिइएको पालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि बायोमेट्रिक अनिवार्य भएका कारण पनि पालिकाहरू नागरिक खोज्दै सहर झर्नुपर्ने बाध्यतामा पुगेका हुन् । ‘अघिल्लो वर्षसम्म जनप्रतिनिधिको सिफारिसमा हुन्थ्यो, तर यो वर्ष बायोमेट्रिक अनिवार्य भएकाले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ बारपाकका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले भने, ‘असक्त र बिरामी नागरिकको सहजताका लागि बसेकै ठाउँमा पुगेर सेवा दिएका हौँ ।’

बर्खाको समयमा गाउँसम्म पुग्ने कष्ट र झन्झटबाट नागरिकलाई मुक्त गर्न पालिका नै सहर पुगेर सेवा दिएको सिराञ्चोक गाउँपालिका अध्यक्ष गुरुङले सुनाए । ‘बसाइसराइ कसैले चाहेर पनि रोक्न सक्दैन । फेरि नागरिकलाई सेवाबाट वञ्चित गराउने कुरा पनि भएन,’ उनले भने, ‘नवीकरणका लागि गाउँमै बोलाएर पनि अशक्तहरूलाई समस्या हुने भयो । त्यसैले हामी नै नागरिक भएको ठाउँमा पुगेका हौँ ।’

गण्डकीमा रहेका केही विकट पालिकाहरूले यसअघि पनि घुम्ती सेवा सञ्चालन गर्दै आएका थिए । रोजगारी र अवसरको खोजीमा गाउँबाट सहर पस्नेको लर्को बढ्दै जाँदा स्थानीय सरकारलाई सेवा प्रवाह गर्न नयाँ चुनौती थपिएको छ ।

अहिले लाभग्राहीको बायोमेट्रिक अनिवार्य गरेपछि दुर्गम गाउँपालिकाहरू आफ्ना नागरिक खोज्दै काठमाडौँ, पोखरा र चितवन जस्ता प्रमुख सहरमा पुगेका हुन् । नार्पाभूमि गाउँपालिका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले विकटताका कारण सधैँभरि नागरिकहरू पालिकाभित्रै बस्न सक्ने अवस्था नरहेको बताए ।

‘हाम्रो भूगोल नै निकै विकट छ । यति सानो कामका लागि नागरिकलाई गाउँ फर्काएर दुःख दिनुभन्दा हामी आफैँ उहाँहरू भएकै ठाउँमा पुगेर सेवा दिनु हाम्रो दायित्व हो,’ उनले भने, ‘यो हाम्रो रहरभन्दा पनि नागरिकप्रतिको जिम्मेवारी र बाध्यता हो ।’

धेरैजसो हिमाली र विकट पालिकाहरूले विगत वर्षहरूमा पनि प्रमुख सहरहरूमा पुगेर घुम्ती रूपमा सेवा सञ्चालन गर्दै आएका थिए । घटना दर्ता, भत्ता वितरणदेखि दर्ता नवीकरणको काम यस्ता शिविरबाट हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप