बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरू हल गर्छौँ : मन्त्री अधिकारी

सोमबार, ०२ भदौ २०८२, १७ : ११
सोमबार, ०२ भदौ २०८२

सारांश

  • मन्त्री बलराम अधिकारीले डेढ वर्षभित्र सहकारीका समस्या समाधान गर्ने बताए।
  • सहकारी विभागले हिनामिना गर्नेको सम्पत्ति रोक्का राख्ने लगायतका काम गरिरहेको छ।
  • अधिकारीले ६ हजार ७ सय व्यक्तिलाई पूर्ण र ५६ हजारलाई आंशिक भुक्तानी गरेको जानकारी दिए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरू हल गर्ने बताएका छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारीहरूलाई व्यवस्थित रूपले परिचालन गर्नको लागि हाल सहकारी विभाग सक्रिय रूपले लागेको जानकारी दिएका हुन् । 

विभागले विभिन्न निर्देशन गर्ने, हिनामिना गर्नेहरूको सम्पत्ति रोक्का राख्ने लगायतका काम गरिरहेको उनको भनाई थियो। सहकारसँग आबद्ध दुई वटा केन्द्रीय निकायहरू नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी महासङ्घलाई पनि गाउँसम्म पुगेर सहकारीको डाटा सङ्कलन गर्न आग्रह गरेको उनले जानकारी दिए ।

उनले भने, ‘उहाँहरूलाई पनि हामी तलसम्म गएर तपाईँहरू गाउँ तहसम्म पुगेर कुन सहकारी कस्ता छन्, त्यसको डाटा बनाएर ल्याउने र त्यसलाई त्यही किसिमको परिभाषित गरेर राम्रोलाई राम्रो छ भन्ने हिसाबले सन्देश दिँदै जाने र बिग्रेकोलाई त्यही हिसाबले नियमन गरेर त्यसलाई अगाडी बढाउने कुराहरूमा सक्रिय रूपमा लाग्नुस् भनेर भनेका छौँ । उहाँहरू पनि लाग्नुभएको छ । मलाई के विश्वास छ भने यहाँहरू सबैको सहयोग भयो भने हामी एक/डेढ वर्षभित्रमा सहकारीले देखिएका समस्याहरू हल गर्‍यौँ भन्ने सन्देश दिन सक्छौँ ।’ 

मन्त्री अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीका ६ हजार ७ सय व्यक्तिहरूको रकम पूर्ण भुक्तानी गरिसकेको जानकारी दिए । ५६ हजार व्यक्तिहरूको आंशिक भुक्तानी गरेको र ४ हजारभन्दा बढीको हिसाब मिलान र नगद भुक्तानी गरिसकेको उनले बताए । 

एक वर्षको अवधिमा भएको यो काम महत्त्वपूर्ण उपलब्धि रहेको उनको दाबी छ । समस्याग्रस्त सहकारीहरूको सम्पत्ति रोक्का राखेर, रोक्का राखेको सम्पत्तिलाई परिचालन गरी प्रक्रिया मिलाएर, बैंकमा धितो भएकोलाई बैकबाट मिलाएर पुँजी ल्याउँदा एक/डेढ वर्ष लाग्ने उनको भनाई छ । 

उनले भने, ‘समस्याग्रस्त सहकारीको अहिलेसम्म ६ हजार ७ सय व्यक्तिहरुको पूर्ण भुक्तानी गरिसकेका छौँ । ५६ हजार व्यक्तिहरूको आंशिक भुक्तानी गरेका छौँ । ४ हजार भन्दा बढीको हिसाब मिलान र नगद भुक्तानी गरिसकेका छौँ । यो एक वर्षको अवधिमा त्यति काम गरेको छ, ठुलो महत्त्वपूर्ण उपलब्धि हो । त्यो सम्पत्ति, पुँजी कहाँबाट ल्याउने हो भन्दा हिजो बिग्रेका तिनै सहकारीलाई नियमन प्राधिकरणले नियमन गर्ने कुरा आउला नै तर तिनीहरूको सम्पत्ति रोक्का राखेर, त्यो सम्पत्तिलाई परिचालन गरेर, प्रक्रिया मिलाएर, बैकमा धितो भएकोलाई बैंकबाट पनि कुरो मिलाएर, प्रक्रिया मिलाएर ल्याउँदा एक/डेढ वर्ष त्यसै जान्छ ।

उनले थपे, ‘अहिले हामीले समस्याग्रस्त घोषणा गरेका सहकारीहरू २४ वटा छन् । तीमध्ये ३ वटाको राफसाफ भएको छ । २ वटाको पनि राफसाफ भएको छ, ४ लाख मात्रै बाँकी छ हिसाब मिलान गर्न । ५ वटाको त्यसरी सकिएको छ । हामी यो सालभित्रमा अरू ५/७ वटाको सक्ने कोसिसमा छौँ । अर्को साल भित्र यी जति घोषणा भएको छ, सबैको सक्छौ भन्ने छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप