प्रधानमन्त्रीलाई झोक चल्दा अदालतको पनि हुर्मत लिँदारहेछन्
सारांश
- प्रधानमन्त्री ओलीले संविधानको व्याख्या कसले गर्ने भन्ने प्रश्न उठाएका छन्।
- ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै बारम्बार प्रश्न उठाएका छन्।
- संविधानको धाराअनुसार सर्वोच्च अदालतले कानुनको व्याख्या गर्ने अन्तिम अधिकार राख्दछ।
काठमाडौँ । संविधानको व्याख्या कसले गर्ने भन्ने प्रश्न फेरि एक पटक उब्जिएको छ । कानुनका विद्यार्थी तथा संविधानका धारा पल्टाएर हेर्न जान्ने सामान्य शिक्षित वर्गका लागि यो प्रश्न औचित्यहीन जस्तो लाग्न सक्छ । किनकि संविधानको व्याख्या कसले गर्ने भनेर संविधानमा तोकिएकै छ ।
जब देशको कार्यकारिणी प्रमुख अर्थात् प्रधानमन्त्रीले नै प्रश्न उठाउँछन् भने अन्योल सिर्जना हुनु स्वाभाविक हो । प्रधानमन्त्रीले उठाएका विषयलाई हलुका रूपमा लिन वा नजरअन्दाज गर्न कसरी सकिन्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिएका अभिव्यक्ति निकै गम्भीर छन् । सामान्य मानिसले त्यसप्रकारका अभिव्यक्ति दिँदो हो त अदालतको मानहानिमा मुद्दा झेल्नुपर्ने अवस्था पनि आउन सक्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री संसदबाटै चुनिन्छ, चुनिएर बन्छ । कहिले–कहिले अदालतको झोक चल्दाबाहेक संसदले हटाउँछ । अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ ?’
अघिल्लो कार्यकालमा आफूले प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएकै कारण असन्तुष्ट प्रधानमन्त्री ओलीले यस्तो कटाक्ष गरेको प्रस्टै छ । तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ जेठमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
जबकि प्रतिनिधि सभाका बहुमत (१४६) सांसदले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिरसहित कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सोही रिट निवेदनमाथि सर्वोच्च अदालतले २०७८ असार २८ गते फैसला गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत सरकार गठनका लागि सघाउने क्रममा सांसदलाई सम्बन्धित दलको ह्विप नलाग्ने फैसलासमेत सर्वोच्च अदालतले गरेको थियो ।
प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो । देशको कार्यकारिणी अधिकार प्रधानमन्त्री (मन्त्रिपरिषद) मा निहित हुन्छ । यस्तो अधिकार संविधानले नै तोकेको हो ।
संविधानको धारा ७५ को उपधारा (१) मा ‘नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानुन बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ’ भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदले देशको संविधान, कानुन र विधि–विधानको परिधिभित्र रहेर कामकाज गर्नु पर्दछ । देशको कार्यकारिणी अधिकारको अर्थ संविधानभन्दा माथि वा संवैधानिक दायराभन्दा बाहिर भन्ने अर्थ कदापि होइन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने क्रममा पनि संविधानको यही मर्मलाई आत्मसात् गरेको थियो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट भएको सो फैसलालाई सुरुदेखि नै आलोचना गर्दै आएका थिए । उनले सर्वोच्च अदालतको फैसलापछि देशवासीका नाममा सम्बोधन गर्दै भनेका थिए, ‘आज फेरि जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो । त्यस कारण सर्वोच्चको परमादेशको कारण सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु ।’
सरकारबाट बाहिरिनु परेकोको विषयमा आफूलाई रत्तीभर चिन्ता नभएको बताएका ओलीले देश र जनताका प्रति सम्पूर्ण निष्ठाका साथ र इमानदारिताका साथ देशको समृद्धि, सुशासन र विकासका कुरालाई ध्यानमा राखेर काम गरेको जिकिर गरेका थिए ।
स्वाभाविक रूपमा प्रश्न उठ्छ– उसो भए संविधानको व्याख्या कसले गर्ने त ? यो प्रश्नको जबाफ संविधानमै छ ।
प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति सुनेपछि संविधानका धाराहरू पढेका, विधिको शासनका पक्षपाती नागरिकको मनमा प्रश्न उठ्छ– अनि प्रधानमन्त्रीलाई झोक चल्दा अदालतको पनि हुर्मत लिन्छन् ?
संविधानको धारा १२८ को उपधारा (२) मा ‘संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ’ भनिएको छ । यद्यपि प्रधानमन्त्री ओलीले संविधानमा रहेको यो व्यवस्थाका विरुद्ध सर्वोच्च अदालतप्रति बारम्बार प्रहार गर्दै आएका छन् । प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले दुई पटकसम्म उल्टाएकोमा उनी निकै असन्तुष्ट देखिएका छन् र संविधानको व्याख्याता नै आफू रहेको जसरी निरन्तर प्रश्न उठाउँदै आएका छन् । त्यसकै पछिल्लो उदाहरण हो– उनले मंगलबार सूचना आयोगको कार्यक्रममा व्यक्त गरेको धारणा ।
प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति सुनेपछि संविधानका धाराहरू पढेका, विधिको शासनका पक्षपाती नागरिकको मनमा प्रश्न उठ्छ– अनि प्रधानमन्त्रीलाई झोक चल्दा अदालतको पनि हुर्मत लिन्छन् ?
यो प्रश्न उठ्नु यसर्थ पनि स्वाभाविक छ कि संविधानको धारा १२८ को उपधारा (४) मा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या र प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले मान्नुपर्ने प्रावधान छ । उक्त उपधारामा भनिएको छ, ‘मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने छ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण