बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

बिहीबार, ०५ भदौ २०८२, ०४ : २९
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • पर्यटन विभागले सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ।
  • विभागले पर्यटन प्रशासनलाई व्यवसायमैत्री बनाउने लक्ष्य राखेको छ, जसले लगानी र आकर्षण बढाउनेछ।
  • महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले विभागको कामलाई सरल बनाउन पहल लिएको बताए।

काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ ।

पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाई यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले विभागको कामलाई सरल, सहज र व्यवसायमैत्री बनाउन पहलकदमी लिइएको बताए । उनका अनुसार विभागले पहिलोपटक वार्षिक प्रतिवेदनमार्फत सम्पादन गरेका काम र भावी कार्य योजनाका साथै चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटेको छ । 

महानिर्देशक रेग्मीले प्रक्रियागत उल्झनलाई किनारा लगाउँदै नियमित सम्पादनलाई अगाडि बढाइएको जानकारी दिए । नीतिगत सुधारको दिशामा पनि विभाग केन्द्रित भएको उनले बताए । “नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, जैविक सम्पदा तथा मानव सिर्जित धरोहरहरूको संरक्षण र प्रवर्द्धनमार्फत देशलाई अन्तर्राष्ट्रियता एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य स्थलका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको छ”, महानिर्देशक रेग्मीले भने,“पर्यटन क्षेत्रमा आर्थिक क्रियाकलाप बढाई रोजगारी र स्वरोजगारीका अवसर सृजना, दिगो गुणस्तरीय पर्यटन प्रवर्द्धन, पर्यटकको सेवा, सुविधा र सुरक्षा सुनिश्चित गर्न यसले सघाउ पुर्‍याउने छ ।”

विभागले पर्यटकीय पूर्वाधारको विकास, गुणस्तरीय आतिथ्य सेवा व्यवस्थापन, साहसिक र पर्वतीय पर्यटनको प्रवर्द्धन तथा पर्वतारोहण व्यवस्थापनका क्षेत्रमा थप योजनासहित काम भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप