लुम्बिनीमा फैलिन थाल्यो लम्पी स्किन
सारांश
- लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लम्पी स्किन रोग फैलिएको छ, जसका कारण ७ वटा गाईगोरुको मृत्यु भएको छ।
- प्रदेशमा खोपको अभाव देखिएको छ, जसका कारण संघीय सरकारसँग ३ लाख २७ हजार ७ सय खोपको माग गरिएको छ।
- रोग नियन्त्रणका लागि समयमै खोप उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ, नवलपरासीमा सबैभन्दा धेरै संक्रमण देखिएको छ।
बुटवल । गाई–गोरुमा देखा पर्ने लम्पी स्किन रोग लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेको छ । गत वर्ष लम्पी स्किनविरुद्धको खोप नलगाएका जिल्लामा अहिले सङ्क्रमण बढ्न थालेको हो ।
साउन यता ७ वटा गाई–गोरु लम्पी स्किन रोगका कारण मरेका छन् । नवलपरासीमा ६ र अर्घाखाँचीमा एउटा चौपाया यो रोगका कारण मरेको लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
लम्पी स्किन रोग नियन्त्रण गर्न लुम्बिनी प्रदेशमा ३ लाख २७ हजार ७ सय खोप आवश्यक पर्ने भन्दै निर्देशनालयले संघीय मन्त्रालयमा माग गरेको छ ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा लम्पी स्किनविरुद्ध १ लाख ११ हजार ३३९ खोप लगाएको थियो भने चालु आर्थिक वर्षको पहिलो महिना ४४ हजार ९०२ खोप लगाएको निर्देशनालयले जनाएको छ । प्रदेशमा अहिले १८ हजार खोप स्टकमा छ ।

लुम्बिनी प्रदेशका १२ मध्ये ७ वटा जिल्लामा लम्पी स्किन देखिएको छ । निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा नवीन बस्यालका अनुसार समयमै खोप उपलब्ध नभए सङ्क्रमण नियन्त्रणमा चुनौती बढ्न सक्छ ।
लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव यमनारायण देवकोटाले लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा लिन खोप नै आवश्यक भएकाले सङ्घ सरकारसँग माग गरिएको बताए ।
साउन महिनामा मात्र लुम्बिनी प्रदेशका २ सय पशुमा यो रोग देखा परेको छ । सबैभन्दा धेरै सङ्क्रमण पश्चिम नवलपरासीमा देखिएको छ, जहाँ १५२ पशु सङ्क्रमित छन् । यस्तै, कपिलवस्तुमा १४, दाङमा १०, बाँकेमा ८, रोल्पामा ७, रुपन्देहीमा ३, अर्घाखाँचीमा ६ वटा पशु चौपायामा यो रोगको सङ्क्रमण देखिएको छ ।

गत आर्थिक वर्ष लुम्बिनी प्रदेशका ८ वटा जिल्लामा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको थियो । गत आर्थिक वर्ष बर्दिया जिल्लामा २ हजार ७०० पशुमा खोप लगाइएको निर्देशनालयले जनाएको छ । यस्तै, नवलपरासी जिल्लामा २३ हजार, रुपन्देहीमा २० हजार २१९, कपिलवस्तुमा ६ हजार ७००, पाल्पामा ९ हजार ३००, गुल्मीमा ५ हजार ४००, प्युठानमा १ हजार २०० र रोल्पा १८ हजार ५०० पशुमा गत आर्थिक वर्ष खोप लगाइएको थियो । सङ्क्रमण कम देखिएका अर्घाखाँची, रुकुम, बाँके, दाङ जिल्लाका पशुमा भने गत आर्थिक वर्ष खोप नलगाइएको निर्देशनालयले जनाएको छ ।
अर्घाखाँचीमा यो वर्षको सुरुमै लम्पी स्किन रोग देखिएकाले खोप लगाउन सुरु गरेको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र अर्घाखाँचीकी सूचना अधिकारी राधा पन्थी पाण्डेयले बताइन् । जिल्लामा १ हजार खोप आएकोमा मंगलबारसम्म ६३४ वटा पशुमा खोप लगाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण