बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अटो लोन

सवारी साधन कर्जामा ब्याजदर घटाउने होडबाजी, कुन बैंकले कतिमा दिँदैछन् ऋण ?

बिहीबार, ०५ भदौ २०८२, १३ : ०८
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • दसैँ-तिहार नजिकिँदै गर्दा अटो शोहरूमा सवारी साधनको खरिदबिक्री बढ्दै गएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूले अटो लोन योजनाहरू ल्याएका छन्, जसमा गतिशील र स्थिर ब्याजदरका विकल्पहरू उपलब्ध छन्।
  • विभिन्न बैंकहरूले नाडा अटो शोमा स्टल राखेर आकर्षक अफरहरू सार्वजनिक गरेका छन्, जसमा कम ब्याजदर र छुटको व्यवस्था छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । वर्षायामको अन्त्यसँगै नेपालमा चाडवाडको सिजन सुरु भएको छ । सबैभन्दा ठुला चाडहरू दसैँ तिहारको नजिक आइपुग्दा यति बेला कतिपयले नयाँ घर तथा सवारी साधनको योजना बनाइरहेका छन् । यही अवस्थालाई सदुपयोग गर्न अहिले अटो क्षेत्रको प्रदर्शनी समेत आयोजना हुँदैछ । 

अहिले काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ चलिरहेको छ । त्यस्तै दुई साता अघि मात्रै नाइमाको मोबिलिटी एक्सपो सम्पन्न भइसकेको छ । अटो शोमा सवारी साधनको अवलोकन, बुकिङदेखि खरिदका काम समेत धमाधम भइरहेका छन् । अटो शोमा भएको अवलोकन र बुकिङका आधारमा दसैँ तिहारसम्मै सवारी सधान किन्ने क्रम चल्ने गर्छ । 

यही अवस्थालाई सदुपयोग गर्दै बैंक तथा वित्तीय संस्थाले समेत कर्जा प्रवाहसम्बन्धी विभिन्न स्किमहरू ल्याएका छन् । अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका बैंक तथा वित्तीय संस्थाहरू तुलनात्मक रूपमा सुरक्षित मानिने अटो क्षेत्रमा ऋण प्रवाह गरेर तरलता व्यवस्थापन गर्न चाहिरहेको देखिन्छ । त्यही भएर अटो शोमा विभिन्न बैंकहरूले स्टल नै राखेर लोन–स्कीमको प्रचार गरिरहेका छन् । 

भृकुटीमण्डपमा चलिरहेका अटो शोमा ८ वटा बैंकले स्टल राखेका छन् । त्यसरी स्टल राख्ने बैंकहरूमा कृषि विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंक रहेका छन् । स्टल नरहेका बैंकले पनि अहिले अटो लोनका प्रोडक्टलाई विशेष प्राथमिकता दिइरहेको देखिन्छ । 

  • कुन बैंकमा कतिमा पाइन्छ अटो लोन ? 

अहिले बैंक तथा वित्तीय संस्थाले दुई प्रकारले कर्जा प्रवाह गर्दै आएका छन् । पहिलो, गतिशील ब्याजदर र दोस्रो, स्थिर ब्याजदर । गतिशील प्रणाली अनुसार बैंकको आधार ब्याजदरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरिन्छ । विगत तीन महिनाको आधार दरको औसतका आधारमा यस्तो दर निर्धारण हुन्छ । बैंकको आधार दर घटबढ हुँदा ब्याजदर समेत त्यही अनुसार घटबढ हुने भएकोले यस्तो प्रणालीमा जोखिम ग्राहकलाई नै हुन्छ, त्यसैले यसको ब्याज तुलनात्मक रूपमा सस्तो हुन्छ । 

स्थिर ब्याजदर भने तुलनात्मक रूपमा महँगो हुन्छ । तर, यस्तो ब्याजदरमा किस्ता अवधिभरि ब्याजदर घटबढको समस्या नहुने भएकोले ग्राहकको मासिक किस्ता (ईएमआई) योजना बनाउन सजिलो हुन्छ । कतिपय अवस्थामा सस्तो ब्याजदरको प्रलोभनमा ऋण लिएका समेत पछि ब्याजदर महँगिँदै जाँदा ऋण तिर्न नसक्ने अवस्था सिर्जना हुने गरेको थियो । स्थिर ब्याजदरले यस्तो समस्या भने समाधान गर्छ । 

यी दुई प्रणाली अनुसार बैंकले छुट्टाछुट्टै ब्याजदर निर्धारण गरेका छन् । बैंकले भदौ महिनाको लागि सार्वजनिक ब्याजदर तालिका अनुसार गतिशील ब्याजदरमा अटो लोन दिन चाहनेले हाल न्यूनतम ६.२३ प्रतिशतसम्म तथा स्थिर ब्याजदर तालिका अनुसार ७.४९ प्रतिशतसम्ममा ऋण दिन सक्ने अवस्था देखिएको । अधिकतम भने गतिशील ब्याजदर अनुसार ११.६७ प्रतिशत र स्थिर ब्याजदर अनुसार १३.५० प्रतिशतसम्म तिर्नुपर्ने अवस्था रहेको देखिन्छ ।

  •  के के छन् बैंकका अफर ?

नाडा अटो शोमा स्टल राखेका बैंकमध्ये नबिल बैंकले ६.७४ प्रतिशत गतिशील ब्याजदरमा ७ वर्षका लागि अटो कर्जा अफर गरेको छ । उक्त लोनमा प्रशासनिक खर्च ०.५० प्रतिशत लाग्ने छ जनाएको छ ।

कृषि विकास बैंकले ६.२३ प्रतिशतमै विद्युतीय सवारी साधन खरिदका लागि ऋण दिने जनाएको छ । बैंकले सेवा शुल्कमा समेत ३३ प्रतिशतसम्म छुट दिने जनाएको छ । बैंकको आधार दर अहिले ५.८७ प्रतिशत रहेको छ । 

लक्ष्मी सनराइज बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ । बैंकले नाडा अटो शोका लागि ७ वर्षसम्म अवधिका लागि ७.९९ प्रतिशतको स्थिर दर अफर ल्याएको छ । सेवा शुल्कका पनि ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने योजना ल्याएको जनाएको छ । त्रैमासिक औसत बैंकले आधार दरमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशतमा कर्जा दिने जनाएको छ ।

सानिमा बैंकले पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा अटो लोनको अफर गरेको छ । यसका लागि सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ । 

ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशतमा अटोलोन दिने जनाएको छ । यो अफर अटो शो अवधिमा मात्रै लागु हुने बैंकले जनाएको छ । 

एनएमबि बैंकले नाडाको लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो लोनको अफर गरेको छ । बैंकले एक प्रतिशत भन्दा कम प्रिमियममै अटो लोनको अफर ल्याएको हो ।

हिमालयन बैंकले ८ वर्षसम्मको अवधिका लागि सवारी कर्जाको व्यवस्था गरेको छ । बैंकले ७.५० गतिशील प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । त्यसमा ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ ।

ddata

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप