बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्यायाधीश मल्लको आग्रह : भीभीआईपी र भीआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुहोस्

बिहीबार, ०५ भदौ २०८२, १३ : २७
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन्।
  • उनले भीभीआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताइन्, र महिलाहरू सक्षम रहेको उदाहरण दिन आग्रह गरिन्।
  • महिलाहरूको प्रहरी र न्याय क्षेत्रमा शून्यबाट १२ प्रतिशतसम्म सहभागिता पुगेको उनले बताइन्।

काठमाडौँ । सर्वोच्च अदालतकी  न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छन् । नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले भीभीआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी हुन् । 

महिलाहरू सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापालाई आग्रह गरिन् । उनले नेपाल प्रहरीमा महिलाहरूको सहभागिता हुन लामो समय लागेको पनि बताइन् । समाज महिलाहरू कमजोर हुन्छन् भन्ने मानसिकताबाट ग्रसित हुँदा प्रहरीको संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट महिला बहिष्कृत भएको उनको भनाई छ । 

उनले भनिन्, ‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाई । कुनै पनि आपराधिक घटनामा न्याय दिलाउने तपाईँहरू द्वार पनि हो । तर महिलाहरू यो द्वारबाट, यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए । बहिष्कृत यस अर्थमा थिए की किनभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरू थिए जुन चाहिँ लैङ्गिक लघुताभासमा आधारित थिए । के सोचिन्थ्यो भन्दाखेरि सुरक्षामा, सेनामा, कानुन कार्यान्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरूमा महिलाहरू सक्दैनन् । महिलाहरू सक्षम छैनन् । महिलाहरूले गर्न सक्दैनन् । अझ झन् प्रहरी र सुरक्षा फौजको कुरा आउँछ, महिलाको त बलै छैन ।’ 

उनले थपिन्, ‘अनि यो व्यक्तिगत क्षमतालाई नहेरी लिङ्गका आधारमा सामूहिक रूपमा चाहिँ सक्दैनन् भन्ने अनुमानबाट हामीहरू अगाडी बढेका थियौँ । अनुमानको कुरा पनि कस्तो थियो भने शारीरिक रूपमा पनि असक्षम, भावनात्मक रूपमा पनि धेरै कमजोर हुन्छ भन्ने सोच । अनि प्रश्न मलाई गर्न म लाग्छ, परिवर्तन त धेरै भएको छ । परिवर्तन त धेरै भएको छ तर पूर्ण भएको छैन । के साँच्चै महिला शारीरिक रूपमा कमजोर हुन्छन् ? म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अव यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईँहरू उदाहरण बनिदिनुस् ।’

उनले पछिल्लो समय महिलाहरू धेरै क्षेत्रमा अगाडी बढिरहेको बताइन् । शून्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागिता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप