बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पूर्वराष्ट्रपति भण्डारीको कटाक्ष : राज्य संयन्त्र प्रणालीमा सञ्चालन भएनन्

बिहीबार, ०५ भदौ २०८२, १५ : २८
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई जबाफदेही बन्न आग्रह गरिन्।
  • भण्डारीले पार्टीभित्रको विकृति र सुशासनको कमीप्रति चिन्ता व्यक्त गर्दै संसद निरीह बनेको गुनासो गरिन्।
  • उनले शिक्षा नीति नयाँ पुस्ताको आवश्यकता अनुसार हुनुपर्ने र निलम्बनको प्रक्रियालाई लिएर असन्तुष्टि जनाइन्।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने बताएकी छन् । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् । 

आफूले अहिले दलहरूले गरेका कामकारबाहीबारे सबै कुरा नजिकबाट हेरिसकेको समेत बताइन् । उनले आफू माले हुँदै एमाले भएको स्मरण गर्दै त्यसवेला मार्क्सवादी र मालेबिच एकता भएर नेकपा एमाले भएको बताइन् । 

एउटा निश्चित दर्शनबाट अभिप्रेरित पार्टी बन्ने भन्दै अहिले पूर्ण लोकतन्त्रको युगमा प्रवेश गरे पनि जनताका इच्छाआकांक्षा पूरा हुन नसकेको भण्डारीले बताइन् । उनले पार्टीभित्र विकृति विसङ्गति फस्टाएको भन्दै त्यसलाई समाधान गर्न नसकेको बताइन् । ‘राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो । संस्थागत हिसाबले सिस्टम र प्रणालीमा जान सकेका छैनन् । राज्य संयन्त्र पनि प्रणालीमा सञ्चालनमा हुन सकेका छैनन्’, उनले संसद् नै निरीह थलो बनेको गुनासो गरिन् । 

उनले दलहरूले संविधान संशोधन गर्ने भनेर सहमति गरे पनि समस्याको समाधान गर्न छलफल हुन नसकेको भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्नुपर्ने बताइन् । उनले कसैले आरोप लगाउँदैमा निलम्बन हुने कुरा लोकतान्त्रिक नहुने भण्डारीको भनाइ छ । 

‘संसदका केही ठुला दलका नेताहरू निलम्बन यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेकाहरु प्रमाणित नभएसम्म दोषी हुँदैन तर पनि निलम्बन भइरहेको छ’, भण्डारीले शिक्षासम्बन्धी राम्रो कानुन बन्न नसकेको बताइन् । नयाँ पुस्ताको अपेक्षा अनुसार शिक्षा नीति बन्नुपर्ने भन्दै उनले कपिपेस्ट शिक्षाले पलायनतिर धकेल्ने दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप