बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अटोमोवाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

शुक्रबार, ०६ भदौ २०८२, १२ : ०२
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • सरोकारवालाहरूले अटोमोबाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन्।
  • नाडा अटो सो मा भएको अन्तरक्रियामा वक्ताहरूले अटोमोबाइल क्षेत्र सुरक्षित रहेको र कर्मचारीलाई लामो अवधिको ऋण दिनुपर्ने बताए।
  • नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका अनुसार, अटोमोबाइल क्षेत्रमा २ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ।

काठमाडौँ । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरता विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले कर्जा प्रवाह गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल क्षेत्र रहेको बताए । साथै, यस क्षेत्रको थप विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए । दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए ।

अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडि फर्किनु नपर्ने उनको दाबी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै, कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधिका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’

भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरूबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए ।

काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ ।

उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजीकरण गरिदिन आग्रह पनि गरे । नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिँदा समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ छ ।

अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका विषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरि हायर पर्चेज क्षेत्रमा खराज कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताए । 

सिइओ गुरुङले बैंकको ऋण विविधीकरण गरिरहेको बताए । अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।

उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए । ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने ।

बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ ।

उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायिक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा कर्जा प्रवाह भएको बताए । बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ ।

‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टि गर्छ,’ उनले भने  ।

उनले २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ ।

उनले भने, ‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टीकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी_ रेसियो लगाएका छन् ।’

नेपालमा ०४१/०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे ।

‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टीभिटी आवश्यकता नै छ भनेर बैंकहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ ।’ उनले भने

उनका अनुसार अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । 

नेपालमा उत्पादन गर्ने उद्योगहरूलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमूलक उद्योगले २ करोड रूपैेयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ब्याजदर लिने गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप