शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मदन पुरस्कार ‘उरमाल’लाई, जगदम्बा प्रेमदेवलाई

शुक्रबार, ०६ भदौ २०८२, १८ : ४१
शुक्रबार, ०६ भदौ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई अर्पण गर्ने निर्णय गरेको छ । यस्तै लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा–श्री सम्मान अर्पण गर्ने घोषणा गरिएको छ ।

गुठीको साधारण सभाले शुक्रबार गरेको निर्णयअनुसार ‘लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान’ गरेबापत गिरीलाई जगदम्बा–श्री प्रदान गरिने भएको अध्यक्ष  कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

२०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि कुल २९९ पुस्तक प्राप्त भएका थिए। तीमध्ये सात पुस्तकहरू अन्तिम चरणमा छनोटमा परेका थिए ।

छनोटमा परेका पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ समावेश थिए ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो ।

रानी जगदम्बाको निधनपछि २०४५ सालदेखि जगदम्बा–श्री पुरस्कार प्रदान गर्न थालिएको हो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो ।

मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई दिइन्छ भने, जगदम्बा–श्री नेपाली भाषा, वाङ्मय र संस्कृतिको वृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई अर्पण गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप