लन्डनमा ऐतिहासिक १६औँ नेपाली मेला सम्पन्न (तस्बिरहरू)
सारांश
- लन्डनमा सम्पन्न १६औँ नेपाली मेलामा बेलायतका ४४ नेपाली संघसंस्थाले विभिन्न संस्कृति झल्काए।
- मेलामा नेवार, किरात राई, लिम्बु र मगर समुदायका मौलिक नृत्य तथा झाँकी विशेष आकर्षण रहे।
- मेलामा नेपालका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राजदूतलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा आइतबार सम्पन्न १६औँ नेपाली मेलाले मिनी नेपालको झल्को मेटायो । तमुधिं यूके र नेपाली दूतावास लण्डनको सहकार्यमा सम्पन्न नेपाली मेलामा करिब १३ हजार दर्शकको उपस्थितिसहित बेलायतका ४४ नेपाली संघसंस्थाले आफ्ना जातजाती र समुदायको मौलिक संस्कृति, झांकी र नृत्य प्रस्तुत गरे ।
विदेशी भूमिमा नेपालको विविधतालाई उजागर गर्ने यो मेला बेलायतमा बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बनेको छ ।
मेलामा विभिन्न समुदायले आफ्ना मौलिक नृत्य र भेषभूषालगायत सांस्कृतिक विविधताको अद्भुत प्रदर्शन गरे । ट्होटे, धिमे, घिन्ताङ घिसी, हाक्पारे, धान नाच, च्याब्रुङ, साकेला, कौरा, सारंगा, थाली, टप्पा, मारुनीजस्ता परम्परागत नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाए ।

विशेषगरी नेवार समुदायको ४० जनाको सहभागितामा प्रस्तुत गरिएको धिमे नृत्य, किरात राईको साकेला, लिम्बु समुदायको च्याब्रुङ नृत्य र मगर समुदायको कौरा नृत्य मेलाका प्रमुख आकर्षणको रूपमा रहे ।

हरेक वर्ष आयोअजना हुने नेपाली मेलामा यसपटक अत्यधिक जमघट रह्यो भने मेलास्थलमा दिनभरी नै घुइंचो लागेको थियो । नेपाली खाना, च्यारिटी तथा व्यापारिक सामग्रीसहित ७५ स्टल राखिएका थिए । विभिन्न समुदायले आफ्ना मौलिक नृत्य र भेषभूषालगायत सांस्कृतिक विविधताको प्रस्तुति तथा खचाखच दर्शकले भरिएको उक्त मेला नेपालमय बन्यो । नेपालबाट बेलायत भ्रमणमा गएका पाहुनाहरुले आफूहरु नेपालमै रहेको महसुस गरे ।
प्रतियोगितामा पासा पुचः गुथि उत्कृष्ट
झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुचः गुथि यूके प्रथम भई ११०० पाउण्डसहित एम्बासडर कप जित्न सफल भयो । किरात याक्थुङ चुम्लुङ यूके दोस्रो र किरात राई यायोख्या यूके तेस्रो बने । झांकीतर्फ मगर संघ यूके प्रथम, पासा पुचः गुथि दोस्रो र याक्थुङ चुम्लुङ तेस्रो भए । नृत्यतर्फ पासा पुचः गुथि प्रथम, तनहुं समाज दोस्रो र याक्थुङ चुम्लुङ तेस्रो भए । झांकीको निर्णायक मण्डलमा साहित्यकार डा। रुपक श्रेष्ठ, बिएफबिएस गोर्खा रेडियो यूकेका स्टेशन म्यानेजर योगराज राई, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने र अभिनेत्री सृजना सुब्बा थिए ।

मेलाका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाली जहाँ पुगे पनि आफ्नो संस्कृति बोकेर लैजाने गरेको बताए । उनले बेलायतमा बस्ने प्रत्येक नेपालीलाई कम्तीमा तीनजना बेलायतीलाई नेपाल भ्रमणमा लैजान आग्रह गरे । अत्यन्त भव्य र सभ्य यस नेपाली मेलाले बेलायती समाजसमक्ष नेपाली कला, संस्कृति,परम्परा तथा भेषभूषालाई ज्यूँदो रूपमा प्रस्तुत गरेको छ भने नेपाल र नेपालीको छविलाई अन्य डायस्पोरामाँझ पुर्याउन सफल रहेको उनले बताए । भविष्यमा सार्क मुलुकलाई समेत सहभागी गराएर बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक नेपाललाई विश्वमा चिनाइनुपर्ने राजदूत घिमिरेले बताए ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विदेशमा नेपाली एकता, कला र पहिचान देख्दा गर्व महसुस भएको बताए । उनले गोर्खा सैनिकहरुको माग चाँडै पुरा गर्नुपर्नेमा जोड दिँदै वंशजको नागरिकता निरन्तरतामा आफ्नो समर्थन रहने उल्लेख गरे । प्राधिकरणमा रहंदा नेपाललाई उज्यालोतार्फ लान आफूले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै नेपाल र नेपालीको भविष्य उज्यालो बनाउने उद्देश्यले आफू उज्यालो नेपालको अभियानमा दुई दशकपछि लन्डन भ्रमणमा आएको बताउँदै आफ्नो अभियानलाई साथ दिन सबैलाई आग्रह गरे ।

आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले १६औँ संस्करणलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले लन्डनको नेपाली मेलालाई नेपालका पूर्वदेखि पश्चिमसम्मको सांस्कृतिक विविधता एउटै मञ्चमा देखिने एक मात्र अवसर भएको बताए । नेपाली मेलाको १६औँ संस्करणलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे । लन्डनको नेपाली मेला पूर्वदेखि पश्चिमसम्मको नेपालको विविधतापूर्ण संस्कृति एउटै मञ्चमा देख्न पाइने एक मात्र मञ्च बन्न सफल भएकोमा आफूहरु प्रफुल्लित भएको बताए । नेपाली कला, संस्कृति तथा परम्परालाई जोगाउनको लागि भाव दिनहरुमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा साथ र सहयोगको लागि सबैलाई सहयोग गर्न आग्रह गरे ।

मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिँदै मेलाले नयाँ पुस्ता र विदेशी समुदायमाझ नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको स्पष्ट पार्दै सहयोगी सबैलाई धन्यवाद दिए । नेपाली मेलामार्फत् विदेशमा हुर्किएको नेपालीको नयाँ पुस्ता र विदेशी समुदायमाझ समेत नेपाली कला, संस्कृति प्रवर्द्धनको लक्ष्य राखिएको गुरुङले बताए । कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए ।

मेलामा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, गण्डकी प्रदेश सांसद बेदप्रसाद गुरुङ, खेलाडीहरु सरिना रानी घले र संगम गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नेपाली लिंकका नवीन पोखरेल, ध्रुव राज अर्याल, नरेन्द्र बस्नेत, गोर्खा मिडियाका मिलन तमु र प्रकाश गुरुङलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण