जब ओली नै भन्थे– पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा हो
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन मिल्ने बताएका थिए।
- अहिले ओलीले भने 'राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु हुँदैन' भनिरहेका छन्, जसका कारण उनी र भण्डारीबीच खटपट बढेको छ।
- ओलीको पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले भण्डारीको प्रशंसा गर्दै राजनीतिमा आउन सक्ने बताएका थिए।
काठमाडौँ । २०८० साल असोजमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार ऋषि धमलालाई एउटा अन्तर्वार्ता दिएका थिए । एक घण्टा २८ मिनेट ५५ सेकेन्डको उक्त अन्तर्वार्ता दिँदा ओली बालकोटमा थिए, तर अहिले उनी बालुवाटारमा छन् ।
उक्त अन्तर्वार्ता दिँदा ओली एमाले अध्यक्षमात्र थिए भने हाल प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका छन् । त्यसवेला विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर निजी निवास फर्केकी थिइन् र उनको आगामी राजनीतिक यात्राबारे चर्चा र चासो बढेको थियो ।
उक्त अन्तर्वार्तामा एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुँदैन भन्नेहरूलाई गतिलो जबाफ दिएका थिए । उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन हुँदैन भन्ने तर्कलाई ‘बेकार’को संज्ञासमेत दिएका थिए ।
अहिले उनै ओली ‘राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु हुँदैन’ भनिरहेका छन् । यही दोहोरो नीतिका कारण ओली र विद्या भण्डारीबिच खटपट बढेको छ । यही वेला करिब २ वर्षअघि ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे दिएका अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अन्तर्वार्तामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक यात्रा र सम्भावनाबारे पत्रकार धमलाले केही प्रश्न गरेका छन्, जसको जबाफ दिने क्रममा ओलीले विद्या भण्डारी सक्रिय राजनीतिमा आउन मिल्ने र पार्टी अध्यक्ष वा प्रधानमन्त्रीसमेत बन्न मिल्ने दाबी गरेका छन् । ओलीको प्रष्ट जवाफ अन्तरवार्ताको १ घण्टा २० मिनेट ५५ सेकेण्डपछि सुन्न सकिन्छ ।
केही समय अघि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमालेले उनको सदस्यता नै कायम नरहेको र नवीकरण पनि नभएको भनेर उनलाई राजनीतिमा फर्कने ढोका बन्द गरेको थियो । एमाले केन्द्रीय कमिटी बैठकबाटै भण्डारीको सक्रिय राजनीति गर्ने चाहनामा ‘ब्रेक’ लगाइएको हो । अहिले विद्या भण्डारी पक्षका नेता–कार्यकर्ताले अध्यक्ष ओलीले त्यसवेला दिएको अन्तरवार्ताको झण्डै चार मिनेट अंश सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
भिडियोमा ओलीले विद्या भण्डारीको प्रशंसा गरेका छन् । राष्ट्रपति भएका वेला भण्डारीले अत्यन्तै देशभक्तिपूर्ण, जनपक्षीय र संविधानको रक्षकको रूपमा काम गरेको उनको भनाइ छ ।
पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुपर्ने ओलीको मत देखिन्छ । ‘सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुनु हुँदैन भन्ने बेकारको कुरा हो । पोल्टिकक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो’, ओलीले भनेका छन् ।
अन्तर्वार्तामा विद्याबारे ओलीको बोली
प्रश्न– विद्यादेवी भण्डारीले जुन किसिमले राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभयो, त्यसको तपाईंले प्रशंसा गर्नुभयो नि ?
ओलीको जबाफ : उहाँले अत्यन्तै देशभक्तिपूर्ण, अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकको हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो र गठबन्धनको त्यत्रो हमला, असहिष्णुताका बाबजुद राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैँ स्मरण गर्नेछ र प्रशंसा गर्नेछ ।
प्रश्न– विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गर्ने चर्चा पनि चलेको छ, तपाईं के भन्नुहुन्छ ?
ओलीको जबाफ : उहाँ (विद्यादेवी भण्डारी)को खुसीको कुरा हो त्यो । हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुस् भन्छौँ । या सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् भन्छौँ । हुनु हुँदैन भन्ने बेकारको कुरा हो यो । पोल्टिक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो ।
प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटमलाइन होइन ?
ओलीको जबाफ : कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो । राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन ।
प्रश्न– पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ ?
ओलीको जबाफ : पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ । अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को कुन पार्टी कसको के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।
राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ भन्नेमात्र हो । राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुनसक्छ । राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउनसक्छ । विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन् । अमेरिकामा सेरेमोनियल भन्ने कुनै ढोङ छैन । अमेरिकामा ढोङ छैन, राष्ट्रपति सर्वोच्च कार्यकारी हुन्छ । यहाँ ब्रिटिस सिस्टमअन्तर्गत संवैधानिक राजतन्त्र र राष्ट्रपति हुँदा सेरेमोनियल राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री बन्ने ब्रिटिस पार्लियामेन्टको नक्कल गरेर, संवैधानिक राजतन्त्रको नक्कल गरेर, सेरेमोनियल मोनार्कीको नक्कल गरेर सेरेमोनियल राष्ट्रपति बनाउने (गणतन्त्रमा पनि) त्यो उचित होइन । त्यो तरिका होइन ।
राष्ट्रपति भनेपछि कार्यकारी हुँदैन भन्ने कुरा होइन । राजा भनेको सामन्तवादको प्रतीक हो । जनताले त्योसँग सम्झौता गरेर सेरेमोनियल बनाएर आफूले शासन गर्ने एउटा कुरा हो । यहाँनेर जनताकै सर्वोच्च प्रतिनिधि, सर्वोच्च थलोको मान्छेचाहिँ कार्यकारी हुँदैन र सेरेमोनियल हुन्छ भन्ने नक्कलबाजीमात्रै हो ।
प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी भोलि एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ? सम्भावना छ ?
ओलीको जबाफ : सक्नुहुन्छ, पाइन्छ । सम्भावना छ÷छैन भन्ने उहाँको कुरा हो । आन्दोलनको कुरा हो त्यो । फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण