देशका लागि खेल्ने सपना, खेतका गरा र बगरमा अभ्यास गर्न बाध्य
सारांश
- बझाङमा व्यवस्थित खेल मैदान बनाउने योजना एक दशकदेखि अघि बढ्न सकेको छैन, जसले खेलाडीहरूलाई समस्या पारेको छ।
- जिल्लामा खेल मैदान नहुँदा खेलाडीहरू खेतमा अभ्यास गर्न बाध्य छन्, र प्रतियोगिता आयोजना गर्न पनि कठिनाइ भइरहेको छ।
- राजनीतिक खिचातानी र बजेट अभावका कारण खेल मैदान बन्न नसकेको र यसले खेलाडीहरूको प्रतिभा विकासमा बाधा पुर्याएको छ।
धनगढी । बर्म गिरीले बझाङको खेल क्षेत्रमा आफ्नो जीवनका दुई दशक बिताइसकेका छन् । पूर्वखेलाडी तथा हाल भलिबल प्रशिक्षकको रूपमा उनी खेलकुद क्षेत्रलाई अगाडि बढाउन अहिले पनि सक्रिय छन् ।
बझाङमा एउटा व्यवस्थित खेल मैदान बन्ने भनेर हल्ला चलेको झण्डै एक दशक हुन लागे पनि काम अघि बढ्न नसकेको गिरी बताउँछन् ।
उसो त सुदूरपश्चिमका नौ वटै जिल्लामा अहिलेसम्म व्यवस्थित खेल मैदान बन्न सकेको छैन । अन्य जिल्लामा कामचलाउ मैदान भए पनि बझाङमा त्यो पनि छैन । जिल्लाका खेलाडीहरू धान र गहुँ काटेर खाली भएका खेतका गरामा अभ्यास गर्दै आफ्नो खेल जीवन अगाडि बढाइरहेका छन् ।
प्रशिक्षक गिरीका अनुसार जब खेतमा बाली हुन्छ, खेलाडीहरू फुर्सदिला हुन्छन् । उनीहरू खेल्न पाउँदैनन् । एउटा बाली भित्र्याएर अर्को बाली नलगाउन्जेलको खाली समयमा मात्र खेलाडीले बाँझो खेतमा अभ्यास गर्दै आएको गिरीको भनाइ छ । यसरी नै बझाङको खेलकुद वर्षौँदेखि चलिरहेको उनले बताए ।

जयपृथ्वी नगरपालिकामा पर्ने सदरमुकाम चैनपुरमा समेत व्यवस्थित खेल मैदान छैन । यहाँ जिल्लाभरिका खेलाडीलाई प्रशिक्षण गराइन्छ, तर व्यवस्थित खेल मैदानको अभाव छ । मैदान नभएकै कारण खेलकुद प्रतियोगिता आयोजना गर्न आयोजकलाई धेरै समस्या पर्छ ।
जयपृथ्वी नगरपालिका–९ मा सेती र बाहुलीगाड नदी नजिकै एउटा प्यारापिट (दर्शक बस्ने ठाउँ) ठिङ्ग उभिएको वर्षौँ बित्यो । यद्यपि यो प्यारापिट अगाडि न खेल्न लायक मैदान छ, न खेलाडीको चहलपहल नै छ । करिब सात वर्षअघि यो प्यारापिट निर्माण भएको हो । नगरपालिकाको एक करोडभन्दा बढी लगानी भएको यो ‘खेल मैदान’ अहिले ढुंगा, गिट्टी र झारले भरिएको उजाड बगरमा परिणत भएको जयपृथ्वी नगरपालिकाको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र सिंहले बताए ।
जिल्लाका क्रिकेटरलाई सिंहले सदरमुकाममा प्रशिक्षण दिँदै आएका छन् । ‘यो प्यारापिट कसका लागि बनाइएको हो भन्ने मैले आजसम्म बुझ्न सकेको छैन,’ उनले भने, ‘सायद यो दर्शकका लागि होइन, गाईवस्तु चराउने दाइभाइलाई आराम गर्न वा नदीको किनारमा बसेर गफ गर्न बनाइदिएको हो कि !’
सदरमुकाम रहेको नगरपालिकाले बनाएको मैदानको हालत त यस्तो छ भने, गाउँपालिकाको अवस्था कस्तो होला भनेर जोसूकैले सहजै आकलन गर्न सक्ने उनको भनाइ छ ।
सिंहका अनुसार यो मैदानमा कुनै वेला क्षेत्रीय महिला भलिबल प्रतियोगिता भएको थियो । तर त्यसपछि यो मैदानले कहिल्यै मुहार फेर्न पाएन । यसको न डीपीआर बनेको छ, न त यसलाई कसरी पूरा गर्ने भन्ने कुनै योजना नै छ ।
‘जयपृथ्वी नगरपालिकाले मात्रै चाह्यो भने पनि सदरमुकामको यो अलपत्र मैदानलाई खेल्न लायक बनाउन सक्छ । यति गर्न त उसको स्रोतले भ्याउँछ,’ सिंहले दाबी गरे ।
सिंहका अनुसार हालै खेलकुदका लागि आएको ३ करोड बजेट सदरमुकामको यो अलपत्र मैदानलाई छाडेर अन्य ठाउँमा हालिएको छ । ‘यो अधुरो योजनालाई ओझेलमा पार्ने काम भयो,’ उनले भने, ‘एउटा सुरु भइसकेको काम पूरा गर्नुको सट्टा नयाँ ठाउँमा बजेट हाल्नु कतिको बुद्धिमानी हो ?’
नगर खेलकुद समितिको अध्यक्षको हैसियतले खेलकुदमन्त्रीलाई फोटोसहित पत्र पठाएर यो मैदान बनाउन आफूले आग्रह गरेको सिंहले बताए । दुखेसो पोख्दै उनले भने, ‘तर कुनै सुनुवाइ भएन ।’

राष्ट्रिय क्रिकेट टिममा पुग्ने सपना बोकेकी सुर्मा गाउँपालिका–४ की १४ वर्षीय क्रिकेटर ललिता बोहरा हरेक दिन अभ्यासका लागि घर नजिकै खेतको गरामा पुग्छिन् । उनको हातमा ब्याट हुन्छ । आँखामा सपना हुन्छ । खुट्टामुनि खाल्टाखुल्टी र ढुंगा भएको जमिन हुन्छ । उनको हरेक शटमा प्रतिभा र सम्भावना त देखिन्छ तर त्यो शटले बल कहाँ पुग्छ भन्ने त्रास बोकिरहनुपर्ने बाध्यता छ । एक शट हानेपछि बल हराउँछ, खोजेर ल्याउन समय लाग्छ ।
‘नेपाली टिमले खेलेको टेलिभिजनमा हेर्छु । मलाई पनि त्यस्तै जर्सी लगाएर देशका लागि खेल्न मन लाग्छ, तर यहाँ अभ्यास गर्ने ठाउँ नै छैन,’ बोहराले भनिन्, ‘कहिलेकाहीँ जोडले हानेको बल धानबारीमा हराउँछ, कहिले नदीमा खस्छ । बल खोज्दाखोज्दै अभ्यासको समय सकिन्छ ।’
बझाङका १२ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सम्भावना बोकेका खेलाडी छन् । खेल मैदान र प्रशिक्षण अभावमा उनीहरूले ललिताको जस्तै दुःख भोगिरहेका छन् । भौगोलिक विकटताका कारण यहाँ एउटा पालिकामा बनाएको पूर्वाधार अर्को पालिकाका लागि पायक पर्दैन । त्यसैले पनि प्रत्येक पालिकामा कम्तीमा एउटा खेल मैदान आवश्यक रहेको खेलप्रेमीहरू बताउँछन् । जिल्लाभर एउटा खेल मैदान नभएको अवस्थामा प्रत्येक पालिकामा कहिले खेल मैदान बन्ला भन्ने प्रश्नले उनीहरू आफैँ निराश हुन्छन् ।
जिल्लामा अहिलेसम्म एउटा पनि व्यवस्थित खेल मैदान नबन्नुमा बजेटको अभावमात्र कारण होइन । राजनीतिक खिचातानीका कारण पनि खेल मैदान बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
भलिबल प्रशिक्षक गिरीका अनुसार केही वर्षअघि प्रदेश सरकारको टोलीले जयपृथ्वी राजमार्गसँगै जोडिएको सिगाउलाको बालुवाटार (छबिसपाथिभेरा गाउँपालिका–१०) लाई खेल मैदानका लागि सबैभन्दा उपयुक्त ठाउँ भनेर पहिचान गरेको थियो । ‘त्यो ठाउँ राजमार्गमै भएकाले पर्यटकहरूले पनि देख्थे, जिल्लाको प्रचार हुन्थ्यो । तीन गाउँको सिमानामा पर्ने भएकाले जग्गा विवाद पनि समाधान हुन्थ्यो,’ उनले भने ।
तर, त्यो योजना अघि बढेन । केही नेताले आफ्नो क्षेत्र झोतामा बनाउनुपर्छ भने, केहीले अन्यत्र । सबैले आ–आफ्नो स्वार्थ हेर्दा कतै पनि निर्माण हुन नसकेको गिरीले बताए । उनले भने, ‘नेताहरू चुनावमा भोट माग्न आउँदा खेल मैदान बनाउने आश्वासन दिन्छन्, कुर्सी पाएपछि कसले सम्झिन्छ र ?’
गिरीका अनुसार ६–६ महिनासम्म अभ्यास गर्न नपाएपछि खेलाडीको शारीरिक स्फूर्ति, टिम समन्वय र खेल रणनीतिमा स्वतः ह्रास आउँछ । ‘यहाँबाट प्रदेशस्तरको खेल खेल्न जाँदा १२ घण्टाको गाडी यात्रा गरेर बिहान धनगढी पुग्छौँ,’ उनले भने, ‘गाडीको थकाइ मेटिएको हुँदैन, सिधै कोर्टमा जानुपर्छ । उताका खेलाडी नियमित अभ्यासले गर्दा लयमा हुन्छन्, हामीले केही गर्नै सक्दैनौँ । अनि जिल्लाकै बेइज्जत हुन्छ । अन्त्यमा बझाङका खेलाडीले खेल्नै सकेनन् भनेर खेलाडीकै टाउकोमा दोष थोपर्छन् ।’
खेल मैदानको अभावको पीडा क्रिकेट खेलाडीका लागि झनै विकराल छ । क्रिक्रेटका खेलाडीले सदरमुकाममा रहेको नदी छेउको जग्गा भाडामा लिएर बनाएको नेट–जालीमा अभ्यास गर्छन् ।
‘हामीले भाडामा एउटा सानो ठाउँ लिएर अभ्यास गराइरहेका छौं,’ जयपृथ्वी नगरपालिकाका नगर खेलुकद विकास मितिका अध्यक्ष तथा क्रिकेट प्रशिक्षक सिंहले भने, ‘तर त्यो ठाउँ पर्याप्त छैन । एउटा छक्का हान्ने हो भने बल नै भेटिँदैन । रन लिने ठाउँसम्म हुँदैन । फिल्डिङको अभ्यास त असम्भव जस्तै छ ।’
खेल पूर्वाधारको अभावमा बझाङका खेलाडीहरू बाध्य भएर जिल्लाबाट बाहिर गएर अभ्यास गर्नुपर्ने अवस्था छ । परिवारको सहयोग पाउनेहरू बाहिर गएर खेल्छन् । आर्थिक स्रोत कमजोर भएकाहरू गाउँको खेत खाली हुने समय कुरेर बस्छन् र मौका छोपेर खेल्न जान्छन् ।
जिल्लाभरि खेल पूर्वाधारको निराशाजनक अवस्थाका बाबजुद छबिसपाथिभेरा गाउँपालिका– १ मा पर्ने सुंगाला भन्ने ठाउँले सम्भावनाको दियो बालेको छ । स्थानीयस्तरमा ‘नाङ्गा बगर’ वा ‘बालुवाटार’ भनेर चिनिने यो ठाउँ खेलकुद मैदानका लागि प्राकृतिक रूपमै बरदान साबित हुन सक्ने छबिसपाथिभेरा गाउँपालिका–१, फुंगालाका स्थानीयवासी तथा शिक्षक लक्ष्मण गिरी बताउँछन् ।
‘यो ठाउँ भलिबलका लागिमात्र होइन, क्रिकेट, फुटबललगायत सबै खेल खेल्न मिल्ने र एउटा सिङ्गो स्टेडियम नै बनाउन सकिने सम्भावना बोकेको छ,’ उनले भने ।
यो मैदान प्राकृतिक रूपमै बनेको हो । प्राकृतिक रूपमै सतह मिलेको जमिन भएकाले खेल मैदान निर्माणको सुरुवाती चरणमा लाग्ने ठुलो खर्च र समय बचत हुने शिक्षक गिरीको भनाइ छ । निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा जस्ता आधारभूत सामग्री त्यहीँ उपलब्ध छन् । बाहिरबाट केवल सिमेन्ट र रडजस्ता सामग्री ल्याएर सामान्य संरचना बनाउने बित्तिकै यो मैदान तयार हुन्छ । जसले गर्दा राज्यको लगानी पनि निकै कम लाग्ने उनको जिकिर छ ।

यो ठाउँ जयपृथ्वी राजमार्गसँगै जोडिएको छ र बझाङ जिल्लाको लगभग केन्द्र भागमा पर्छ । यसले गर्दा जिल्लाका सबै पालिकाका खेलाडीलाई यहाँसम्म पुग्न सहज हुन्छ । २४ सै घण्टा यातायातको पहुँच हुनाले प्रतियोगिताहरू आयोजना गर्न र खेलाडी आवतजावत गर्न कुनै कठिनाइ हुँदैन ।
यो ठाउँमा एउटा सामान्य भलिबल कोर्ट वा फुटबल मैदानका लागिमात्र नभएर अन्तर्राष्ट्रियस्तरको स्टेडियम, खेलाडी आवास, पार्किङ र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न सकिने पर्याप्त जमिन छ । यसले प्रदेशस्तरीय वा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने ढोका खोल्न सक्छ । यति धेरै सम्भावना बोकेको ठाउँ वर्षाैंदेखि ओझेलमा पर्नुको मुख्य कारण राजनीतिक इच्छाशक्तिको कमी र नेताहरूको उदासीनता नै भएको शिक्षक गिरीको ठहर छ ।
उनका अनुसार जिल्लाका अधिकांश नेतालाई यो ठाउँको महत्त्वबारे राम्ररी थाहा छ । ‘हामीले हालका गाउँपालिका अध्यक्ष, यहीँबाट निर्वाचित भएर हाल प्रदेश सभाका सभामुख हुनुभएका भीम भण्डारी, पूर्वसभामुख अर्जुन थापा, संघीय सांसद भानुभक्त जोशी लगायत सबैलाई यो ठाउँबारे जानकारी गराएका छौँ,’ उनले भने ।

नेताहरू जानकार भएर पनि यस ठाउँले प्राथमिकता पाउन नसकेको शिक्षक गिरी बताउँछन् । राज्यले अन्यत्रका अपायक पर्ने र सानो क्षेत्रफल भएका ठाउँमा करोडौँ बजेट खन्याइरहेको छ, तर ‘बालुवाटार’ जस्तो सुनौलो सम्भावना भएको ठाउँमा कसैको ध्यान नपुगेको उनको गुनासो छ । थोरै लगानीमा धेरै प्रतिफल लिन सकिने ठाउँ रहेर पनि ‘बालुवाटार’ उपेक्षित रहेको उनले बताए ।
पूर्वाधार शून्य भए पनि बझाङले खेलकुदमा राष्ट्रियस्तरमै नाम कमाएका खेलाडीहरू जन्माएको छ । विशेषगरी भलिबलमा बझाङको छुट्टै पहिचान छ । अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका ज्ञानु मल्लदेखि राष्ट्रिय खेलाडी अम्मर गिरी, हेमन्त मल्ल र विशाल विकजस्ता प्रतिभा यहीँको माटोमा हुर्किएका हुन् ।
गिरीले भने, ‘उहाँहरूले यहीँका खेतका गरामा, धुलो र हिलोमा खेलेर आफ्नो प्रतिभा निखार्नुभयो । सोच्नुहोस् त, यदि उहाँहरूले एउटा व्यवस्थित मैदानमा प्रशिक्षण गर्न पाएको भए उहाँहरूको खेल स्तर कहाँ पुग्थ्यो होला ?’
प्रशिक्षक सिंह पनि जिल्लामा एउटा सामान्य स्तरको मैदानमात्र भइदिएको भए बझाङले कैयौँ खेलाडी उत्पादन गर्ने सामर्थ्य राख्ने दाबी गर्छन् ।
बझाङमा एउटा गतिलो मैदानको अभावमा कैयौँ नयाँ प्रतिभा पलाउनुअघि नै ओइलाएर जाने गरेका छन् । यदि यो मैदान बन्ने हो भने बझाङले राष्ट्रलाई थुप्रै अब्बल खेलाडी दिन सक्नेमा दुईमत छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण