शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'रिमै' 'कबड्डी' भन्दा फरक छ – दयाहाङ राई

बुधबार, ११ भदौ २०८२, ११ : ३८
बुधबार, ११ भदौ २०८२

सारांश

  • दयाहाङ राईले फिल्म 'रिमै' 'कबड्डी' भन्दा फरक रहेको बताए, जसमा रिश्मा गुरुङको मुख्य भूमिका छ।
  • फिल्मले गुरुङ समुदायको कला, संस्कार, संस्कृति र जीवन दर्शनलाई चित्रण गर्नेछ, जसमा सोल्टा र सोल्टिनीको प्रेम कथा देखाइनेछ।
  • रिमै भदौ २० गते रिलिज हुँदैछ, जसलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन्, र यसमा दयाहाङ राई, रिश्मा गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म 'रिमै' 'कबड्डी' भन्दा फरक रहेको बताएका छन् । फिल्ममा उनको जोडीको रुपमा रिश्मा गुरुङ रहेकी छन् । निर्माण युनिटले प्रचारमा कबड्डी जोडीको फिल्म भनेको छ । 

धेरैले फिल्मको प्रचार सामाग्रीमा फिल्म कबड्डी जस्तै होला भनेर कमेन्ट समेत गरेका छन् । उनले भने फिल्म कबड्डीसँग केही पनि मेलन नखाने स्पष्ट पारे । फिल्मले गुरुङ समुदायको कला, संस्कार, संस्कृति, भेसभुसा र जीवन दर्शन बोल्ने उनको भनाइ छ ।

‘नाता र सम्बन्धका हिसाबले फिल्ममा कबड्डीमा जस्तै सोल्टा र सोल्टिनीबिचको प्रेम कथा र हकदाबी देखाए पनि वास्तवमा धेरै फरक छ,’ दयाहाङले भने, ‘सोल्टा र सोल्टिनी छ, उस्तै कथा त होला भने पनि त्यस्तो होइन । बोलाउने सम्बन्ध र नाम मात्रै एउटै हो, अरू केही कुरा पनि मिल्दैन ।’

फिल्मले गुरुङ समुदायको संस्कार र जीवन दर्शन बुझाउने उनको धारणा छ । उनी थप्छन्, ‘राई, लिम्बु, मगर, थकाली, शेर्पा, गुरुङलगायतका समुदायको संस्कार र संस्कृति उस्तै–उस्तै देखिए पनि यथार्थमा फरक रहेको छ ।’

अभिनेत्री रिश्मा गुरुङले आफ्नै समुदायकै कथा भएकाले आफू दश वर्षपछि फिल्ममा फर्किएको बताइन् । गुरुङ समुदायको कथा नभएर अरू कथा भएको भए आफूले काम नगर्ने उनले प्रस्ट पारिन् ।

‘म मेरै बुवा, बाजेले मलाई सिकाएको संस्कार र संस्कृति समेटिएको कथा छ भने किन काम नगर्ने भनेर समय नहुँदा नहुँदै पनि काम गरेको हुँ,’ रिस्माले भनिन्, ‘अफर आउँदा सुरुमा त म काम गर्दिनँ भनेँ । तर, जब स्क्रिप्ट आयो त्यसपछि किन गर्ने भन्दा पनि किन नगर्ने भन्ने प्रश्न चाहिँ आयो ।’ रिमै गुरुङ समुदायको मेनस्ट्रिममा बनेको पहिलो फिल्म भएको उनको धारणा रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म भदौ २० गते रिलिज हुँदै छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप