बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयातित उपभोग्य वस्तु परीक्षण गरेर मात्र उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी

बिहीबार, १२ भदौ २०८२, १५ : ५१
बिहीबार, १२ भदौ २०८२

सारांश

  • उद्योगमन्त्रीले आयातित उपभोग्य वस्तु परीक्षण गरेर मात्र उपभोक्तालाई दिइने बताए ।
  • मन्त्री भण्डारीले नेपालमा अन्तरराष्ट्रियस्तरको मापदण्डसहितका उद्योग स्थापना गर्ने कुरामा जोड दिए ।
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रतकिूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने बताए ।

मन्त्री भण्डारीले भने- ‘मुलुकभित्र अन्तरराष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्नेछौँ । यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्त्व राख्नेछ ।’ 

उनले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी) मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाली वस्तुको व्यापारले पछिल्लो समय विश्वबजारमा प्राथमिकता पाइरहेको बताउँदै उनले सङ्घीय सरकारले आमउपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिमा अघि बढिरहेको बताए । उनले गलैँचा, पश्मिनाजस्ता वस्तु नेपालीका पहिचान भएकाले यस्ता उद्योगको संरक्षण गरी उत्पदान बढाउनेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सङ्कोचबिना लगानी गर्न आग्रह गरे । उनले भने- ‘सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउनेछ । हामी निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशको सम्भावनालाई यथार्थमा बदल्न चाहन्छौँ, सबमा सबैको सहयोग जरुरी छ ।’ 

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खनिजलगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यहाँको आर्थिक रुपान्तरणका लागि यी क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको धारणा राखे । 

कार्यक्रमका अधिकांश सहभागीले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावनासहित आवश्यक पूर्वाधार रहेकाले त्यहाँ लगानीका लागि ढिलाइ गर्न नहुने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप