नागरिकलाई सेवा दिन सहरमा घुम्ती शिविर
पोखरा । काठमाडौँलगायत सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई यहाँका स्थानीय तहले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेका छन् ।
बागलुङ, म्याग्दीसहित पहाडी जिल्लाबाट विभिन्न कारणले सहर झरेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो ।
बागलुङको गलकोट नगरपालिकाले बिहीबार गण्डकी प्रदेश राजधानी पोखरामा बस्ने लाभग्राहीलाई उक्त सेवा प्रदान गरेको हो ।
गलकोट–७ का वडाध्यक्ष राज थापाको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले एक सय ५० भन्दा बढी लाभग्राहीको परिचयपत्र नवीकरण गरेको नगरपालिकाले जनाएको छ ।
सात प्रकारका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले उक्त सेवा लिएको वडाध्यक्ष थापाले बताए । गलकोट समाज पोखराको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
वडाध्यक्ष थापासहित नगरपालिकाको पञ्जीकरण शाखाका प्रमुख लोकेन्द्र गैरे, वडा नम्बर ३ का वडा सचिव चन्द्रबहादुर श्रीस, वडा नम्बर ७ की कार्यालय सहायक सरस्वती थापा केसीलगायतको टोलीले सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
यसअघि नवलपुरको गैँडाकोटमा यही भदौ ४ गते, चितवनमा ५ गते र काठमाडौँमा ७ गते घुम्ती शिविर सञ्चालन गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।
“ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाहरू, एकल महिलालगायतलाई लक्ष्य गरी घुम्ती शिविर सञ्चालन गरिएको हो”, उनले भने, “लाभग्राहीलाई सहज होस् भनेर उहाँहरू बसेकै ठाउँमा पुगेर परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।”
बसाइँसराइका कारण सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू सहरी क्षेत्रमा रहेकाले पछिल्लो समय स्थानीय तहहरूले सोही ठाउँमै पुगेर परिचयपत्र नवीकरण गर्न थालेका हुन् ।
सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राहीले वर्षको एक पटक परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । सामाजिक सुरक्षाभत्ता भने आफू बसोबास गरेकै ठाउँको बैंकबाट प्राप्त गर्न सकिने सुविधा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण