बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फलोअप

वीरगन्जको हैजा : पुष्टि नै नभई प्रधानमन्त्रीले गरे ३ जनाको मृत्यु घोषणा

शनिबार, १४ भदौ २०८२, २० : ५७
शनिबार, १४ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वीरगन्जमा हैजाबाट ३ जनाको मृत्यु भएको भनी गलत जानकारी दिएका थिए।
  • पर्साका स्वास्थ्य अधिकारीहरूले हैजाबाट कसैको पनि मृत्यु नभएको पुष्टि गरेका छन्, जबकि प्रधानमन्त्रीले गलत तथ्याङ्क प्रस्तुत गरे।
  • वीरगन्ज महानगरपालिकाका मेयरले पनि हैजाबाट मृत्युबारे अनभिज्ञता प्रकट गरे, तर प्रधानमन्त्रीलाई कसले गलत रिपोर्ट दियो भन्नेमा आश्चर्य व्यक्त गरे।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाबाट पर्साको वीरगन्जमा ३ जनाको मृत्यु भयो भनेर संसदलाई भ्रामक ब्रिफिङ गरेको पाइएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले हैजा महामारीबाट पर्साको वीरगन्जमा ३ जनाको मृत्यु पुष्टि भएको बताएका थिए ।  तर, पर्साका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय पर्सा, नारायणी क्षेत्रीय अस्पतालका साथै स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले समेत वीरगन्जमा फैलिएको हैजाबाट कसैको पनि मृत्युको पुष्टि नभएको स्पष्ट पारेका छन् । 

यस्तै प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समेत नगर क्षेत्रमा हैजाबाट मृत्यु भएकोबारे आफूलाई थाहा नभएको बताए । तर, प्रधानमन्त्रीलाई नै लगत ब्रिफिङ कसरी भयो भनेर उनले आश्चर्य प्रकट गरे । 

‘मैले सीडीओ सा’पसँग पनि कुरा गरेँ । नारायणीका मेसुसँग पनि कुरा गरेँ । सम्माननीयज्यूलाई कसले तीन जनाको मृत्यु भयो भनेर कसले रिपोर्ट दियो ? जबकि एक जनाको पनि मृत्यु भएको पुष्टि छैन’, उनले भने, ‘सम्माननीयज्यूले बोलेर गलत रिपोर्ट गयो ।’

अन्य कारणले मृत्यु भएकालाई हैजाकै कारण मृत्यु भयो भनेर गलत समाचारहरू समेत आइरहेको उल्लेख गर्दै उनले यसबारे आफूले विज्ञप्ति नै निकालेर खण्डन गरिसकेको पनि बताए ।  उनले महानगरपालिकाको तर्फबाट हैजा नियन्त्रणका लागि निरन्तर प्रयासहरु भइरहेको पनि बताए ।

535028696_1370266747996822_1621735999595964782_n

यस्तै नारायणी क्षेत्रीय अस्पतालका मेसु  डाक्टर चुमन लाल दासले पर्सामा हैजाबाट तीन जनाको मृत्यु भएको भनिएका खबरहरूको कुनै पुष्टि नभएको बताए । रातोपाटीले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो अस्पतालमा आएको एउटा केस ‘ब्राउट डेड’ (अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको) अवस्थामा रहेको र त्यसको हैजा प्रमाणित नभएको स्पष्ट पारे । 

उनका अनुसार अन्य दुई जनाको मृत्यु भने बाहिरका अस्पतालमा भएको थियो। स्वास्थ्य कार्यालयले पनि यस विषयमा आधिकारिक जानकारी दिइसकेको र कुनै पनि मृत्यु हैजा प्रमाणित भएर नभएको उनको भनाइ छ। 

तर, प्रधानमन्त्रीले नै हैजाका कारण मृत्यु भएको बताइसकेको विषयमा जिज्ञासा राख्दा उनले थप जानकारीका लागि स्वास्थ्य कार्यालयमा जयमोद ठाकुरलाई सम्पर्क गर्न सुझाए ।  

यसपछि रातोपाटीको सम्पर्कमा आएका ठाकुरले पनि वीरगन्जमा हैजाका कारण तीन जनाको मृत्यु नभएको स्पष्ट पारे । 

उनले स्वास्थ्य कार्यालयले यसअघि नै मिडियामार्फत यसबारे जानकारी गराइसकेको र केन्द्रीय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडिसी) को वेबसाइटमा पनि वीरगन्जबाट हैजाका कारण मृत्यु भएको कुनै तथ्याङ्क नरहेको बताए ।  तर, प्रधानमन्त्रीलाई कसले यस्तो जानकारी गरायो भन्नेबारे आफू आफूलाई थाहा हुने विषय नभएको उनले बताए ।

हालै पर्साको प्रमुख जिल्ला अधिकारी भएर पुगेका तोयनारायण सुवेदीले पनि मृत्युबारे आफूलाई जानकारी नभएको बताए । 

तर, कहीँकतैबाट पनि मृत्युबारे पुष्टि नहुँदै प्रधानमन्त्रीले संसदलाई गरेको ब्रिफिङबारे प्रश्न उठेको छ । देशकै जनप्रतिनिधिको सर्वोच्च निकाय संसदमै ओलीले पुष्टि नै नभएको विषयमा बोलेका हुन् । पर्साका सम्बन्धित निकायले नै पुष्टि नगरेको  विवरण उनलाई कसले उपलब्ध गरायो, यो छानबिनको विषय बनेको छ । 

‘यतिबेला वीरगन्जमा कलेरा आउटब्रेक भएको छ । जसले गर्दा जनतामा भयको वातावरण पीडा र क्षतिको पनि वातावरण बनिरहेको छ’, प्रधानमन्त्री ओलीले शुक्रबारको संसदमा भनेका थिए, ‘अहिलेसम्म जम्मा ६२४ जनामा कलेरा सङ्क्रमण भइसकेको छ । जसमध्ये ४३७ जना स्वास्थ्य लाभ गरेर निको भइसक्नु भएको छ । अहिले पनि एक्टिभ केसहरू १८७ वटा छन् । गएको २४ घण्टामा ८४ वटा केसहरू थपिएका छन् । दुःखद कुरा यसबिचमा ३ जनाको निधन समेत भएको छ ।’

Capture
ईडीसीडीको पछिल्लो विवरण

ओलीले सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाइमा रोग फैलिन र नदिनका लागि ध्यान दिएको बताउँदै भनेका थिए, ‘त्यस सम्बन्धमा यस रोगको स्रोत के हो र कहाँबाट फैलियो भन्नेबारे पनि खोजी भइरहेको छ।  कुनै ढलबाट, खानेपानी कुन स्रोतबाट भयो भन्नेबारे छानबिन भइरहेको छ ।’ 

जनस्वास्थ्य कार्यालयको ताजा विज्ञप्तिमा के छ ?

स्वास्थ्य कार्यालय, पर्साले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक एक विज्ञप्तिमार्फत पर्सा जिल्लामा फैलिएको झाडापखाला तथा हैजाका केसबारे जानकारी गराएको छ ।  जसमा  हालसम्म जिल्लाभरि ७१२ जना संक्रमित दर्ता भएको उल्लेख छ । 

तीमध्ये ३३ जना बिरामी आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्। हालसम्म ५१७ जना निको भई घर फर्किएका छन् भने १९५ जना अझै उपचाररत रहेको कार्यालयले जनाएको छ।

06e289f5-9fe8-4ca0-ad9d-99aa6f188989

यस्तै, हैजा सम्बन्धी परीक्षण (आरडीटी)अनुसार हालसम्म १६२ केस पोजिटिभ देखिएका छन्। तिनमध्ये १०१ जना डिस्चार्ज वा अन्यत्र रिफर भइसकेका छन् भने ६२ जना अझै उपचाररत छन्।

स्वास्थ्य कार्यालयका अनुसार साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए। भदौ ५ गते पहिलो पटक हैजाको केस पुष्टि भएपछि संघीय तथा प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्थान र अन्तर्राष्ट्रिय सहयोगी निकायको समन्वयमा नियन्त्रण तथा जनचेतनामूलक अभियान सुरु गरिएको हो।

हाल प्रभावित क्षेत्रमा रेडियो सन्देश, र्याली, माइकिङ र घरदैलो कार्यक्रममार्फत सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको छ। यसैगरी, वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय र विभिन्न निकायको सहकार्यमा २२ टोली जनचेतनामूलक कार्य र ५ समूह तथ्याङ्क संकलनमा सक्रिय छन् ।

स्वास्थ्य कार्यालयले आपूर्ति व्यवस्थापन केन्द्र मधेस प्रदेशमार्फत विभिन्न चरणमा किट र औषधि वितरण गरेको जनाएको छ। थप किट र औषधि आपूर्ति गर्न पहल भइरहेको र पानीको नमुना संकलन गरी सेन्ट्रल ल्याबमा पठाइएको समेत जानकारी दिइएको छ।

कार्यालय प्रमुख विनोद झाले सबै नागरिकलाई सफा पिउने पानी प्रयोग गर्न, पकाएको खाना मात्र खान, व्यक्तिगत तथा घरपरिवारको सरसफाइमा ध्यान दिन र कुनै पनि लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।

संसदलाई गलत ब्रिफिङ गरेका ओली शनिबार बिहानै चीन भ्रमणमा निस्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप