बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु

आइतबार, १५ भदौ २०८२, ०० : ०६
आइतबार, १५ भदौ २०८२

सारांश

  • इजरायली सेनाको हवाई आक्रमणमा यमनका हुथी विद्रोही समूहका प्रधानमन्त्रीको मृत्यु भएको इरान समर्थित समूहले पुष्टि गरेको छ।
  • गाजामा जारी युद्धको क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा हुथीका प्रधानमन्त्रीसहित अन्य अधिकारी मारिएका छन्।
  • हुथी विद्रोहीले गाजा युद्धको समयमा इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् र रेड सी र एडेनको खाडीमा पानीजहाजलाई निशाना बनाएका छन्।

साना । यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ ।

गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् । 

“हामी प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दछौँ। शत्रुले उनीहरूलाई निशाना बनाएका कारण उहाँसहित उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका छन्,” हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“आक्रमणमा हुथी नेता नासेरसहित केही अधिकारीको मृत्यु भएको र अन्य केहीसामान्यदेखि गम्भीर घाइते भएका छन् र उनीहरूको बिहीबार दिउँसोदेखि उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीबार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध सुरुभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

इजरायली सेनाले हुथी विद्रोही शासनको सैन्य लक्ष्यमा आक्रमण गरेको इजरायली सेनाले त्यतिबेला बताएको थियो ।

हुथी विद्रोहीले ‘रेड सी’ र एडेनको खाडीमा रहेको पानीजहाजलाई पनि निशाना बनाउने गरेका छन् जुन उनीहरूले गाजा युद्धको समयमा इजरायलसँग जोडिएको दाबी गरेका छन्।

विद्रोही समूहले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ र यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप