मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कहिले हुन्छ नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौतामा हस्ताक्षर ?

सोमबार, १६ भदौ २०८२, १७ : ०४
सोमबार, १६ भदौ २०८२

सारांश

  • नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा छिट्टै हस्ताक्षर हुने भएको छ।
  • यस सम्झौताले लाखौं नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय मानव अधिकारका आधारमा अधिकार र रोजगारदाता नीति अनुसार सुविधाहरू सुनिश्चित गर्नेछ।
  • साउदीले सन् २०३४ को फिफा विश्वकपको तयारीको क्रममा श्रम नीतिमा सुधार गर्दै आएको छ।

काठमाडौं । नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने भएको छ। मन्त्रिपरिषद्ले श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरिसकेकाले अब सोहीअनुसार प्रक्रिया अघि बढ्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

जसअनुसार अब छिट्टै साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच औपचारिक रूपमा हस्ताक्षर हुने भएको हो । 

सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौता गर्ने प्रयास भइरहे पनि लामो समयपछि सरकारले यसलाई अन्तिम रूप दिन सफल भएको हो। श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार, यस सम्झौताले लाखौं नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय मानव अधिकारका आधारमा अधिकार र रोजगारदाता नीति अनुसार सुविधाहरू सुनिश्चित गर्नेछ।

श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा जाने नेपालीको उचित सुरक्षा, सुरक्षित रोजगारी र श्रम शोषण विरुद्ध नेपाल सरकारले गम्भीर कदम चालिरहेको बताए। सचिव पुष्करका अनुसार, नेपालले श्रम शोषण र मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउने नीति लिएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ्गले नेपाल–साउदी श्रम सम्झौतालाई स्वागतयोग्य भएको भन्दै अन्य मुलुकसँग पनि यस्ता समझदारीपत्र गर्न सुझाव दिएका छन्। श्रम तथा रोजगार क्षेत्रका विज्ञ युबराज बस्नेतले यस सम्झौताले नेपाली श्रमिकलाई विदेशी भूमिमा सामाजिक सुरक्षा र सेवा सुविधा सुनिश्चित गर्नेमा ध्यान दिएको बताए।

साउदीले सन् २०३४ को फिफा विश्वकपको तयारीको क्रममा श्रम नीतिमा सुधार गर्दै आएको छ। कफाला प्रणाली अन्तर्गत हुने ‘मोडर्न डे स्लेभरी’ प्रणालीमा सन् २०२१ मार्चमै सुधार गर्दै विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक र सेवा सुनिश्चित गरेको थियो। कतारमा भएको विश्वकपपछि विश्व स्तरमा उठेका श्रमिक शोषणका मुद्दा ध्यानमा राख्दै साउदीले श्रमिक अधिकारमा विशेष ध्यान दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप