मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाचार

नाडाको विशेष साधारण सभा स्थगन गर्न प्रशासनको पत्र

मङ्गलबार, १७ भदौ २०८२, ११ : ५३
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • नाडाको विशेष वार्षिक साधारणसभा भदौ २४ गते हुने भनिए तापनि अन्योलमा परेको छ।
  • जिल्ला प्रशासन कार्यालयले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण गर्ने घोषणासहित बोलाएको सभा रोक्न पत्र पठाएको छ।
  • प्रशासनले नाडालाई विधानको पालना नगरेको र साधारणसभा बोलाउनुको कारण सोधेको छ।

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भदौ २४ गते हुने भनिएको विशेष वार्षिक साधारणसभा अन्योलमा परेको छ । 

नाडाले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण हुने घोषणासहित बोलाएको विशेष साधाणसभा रोक्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको हो । 

विशेष साधारण सभाका विषयमा नाडाले गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै प्रशासनमा उजुरी परेको थियो।  प्रशासनले नाडालाई विधानको पालना नगरी विशेष साधारण सभा बोलाउनुको कारण र विधान संशोधनको विवादबारे स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनेको छ ।  

प्रशासनले नाडालाई प्रश्न गरेको छ, ‘विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के–कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो?’ साथै, नाडाको विधान संशोधनका विषयमा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो भनी पनि सोधिएको छ।

प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा नाडालाई विशेष साधारण सभा बोलाउन गरिएका सम्पूर्ण निर्णयहरूसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको विशेष साधारण सभा तत्काल स्थगन गर्न अनुरोध गरिएको छ।

नाडाले आफ्नो १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने बताएको थियो । भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१ औँ बैठकले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।

उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो ।

Scanned-Documents-4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप