बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माधवलाई भेटेपछि देव गुरुङले भने– एकताको निष्कर्षमा पुगेका छैनौँ

मङ्गलबार, १७ भदौ २०८२, १९ : ४६
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका महासचिव देव गुरुङले एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा निष्कर्ष ननिस्किएको बताए।
  • प्रचण्ड र माधव नेपालबीच समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल भएको थियो, पार्टी एकताको विषयमा सहमति भए एकता हुन सक्ने बताइएको छ।
  • प्रचण्ड र नेपालबीच निरन्तर छलफल भइरहेको छ भने माओवादी र नेकपाका विभिन्न बैठकहरू एकताका लागि पहल गर्दैछन्।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा निष्कर्षमा नपुगेको बताएका छन् । 

अध्यक्ष प्रचण्डसँगै मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेका गुरुङले समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा मात्र छलफल भएको बताए । 

यद्यपि दुवै दल एउटै मोर्चामा रहेर सहकार्य गरिरहेकाले विचार र सिद्धान्तमा सहमति भए एकता हुन सक्ने बताए ।

’आजको छलफल समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने विषयमा केन्द्रीत रह्यो । पार्टी एकताको विषयमा कुनै निष्कर्षमा पुगेका छैनौँ । राजनीतिक दलको हिसाबले उच्चस्तरीय छलफल हुनु स्वाभाविक हो । आवश्यक परेमा पार्टी एकता पनि हुन्छ । त्यसका लागि विचार, सिद्धान्त मिल्नु पर्‍यो । यी विषयमा सहमति भएमा तत्कालै पनि हुन सक्छ । केही समय पनि लाग्न सक्छ । यस्ता छलफललाई आवश्यकता अनुसार आगामी दिनमा पनि निरन्तरता दिन्छौँ’, उनले रातोपाटीसँग भने । 

पछिल्लो समय प्रचण्ड र नेपालबिच निरन्तर छलफल भइरहेको छ । केही दिन अघि नेकपाका महासचिव विप्लवलाई भेट्न प्रचण्ड हरिसिद्धी पुगेका थिए ।

माओवादीको बिहीबार पदाधिकारी बैठक बस्दैछ । एकीकृत समाजवादीले भदौको अन्तिममा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । 

यता तीन दिनदेखि नेकपाको कपिलवस्तुमा स्थायी समिति बैठक बसिरहेको छ । भोलिदेखि भदौ २१ गतेसम्म पोलिटब्यूरो र २२ गतेबाट केन्द्रीय समिति बैठक बस्दैछ । एकताको बारेमा केन्द्रीय समिति बैठकले निर्णय लिने नेताहरूले बताएका छन् । 

नेकपा माओवादीको साउन १२ गते सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप