शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सडक

दसैँमा नागढुङ्गा सुरुङमार्ग नि:शुल्क खोल्ने तयारी

बुधबार, १८ भदौ २०८२, १९ : ००
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट बाहिरिने र दसैँपछि भित्रिने सवारी सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार दसैँमा नागढुंगा सुरुङमार्गमा सवारीसाधन परीक्षणका रुपमा सञ्चालनका लागि छलफल भइरहेको छ । 

‘दसैँलाई लक्षित गरेर सञ्चालनका लागि छलफल गर्दैछौँ । त्यतिबेलासम्म कति काम सकिन्छ । अनि कन्सल्टेन्ट कन्ट्याक्टरले के भन्छन् । सुरक्षाको कुरा छ,’ सचिव शर्माले भने, ‘वान वे जस्तो दसैँका बेला यताबाट जानेलाई र दसैँपछि फर्किने बसलाई सुरुङमार्गबाट दिने तयारीबारे छलफल भइरहेको छ ।‘
हालसम्म कति बन्यो सुरुङमार्ग ?

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण करिब सकिसकेको छ । करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । अहिले परीक्षणको चरणमा रहेको छ । यस्तै नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाका अनुसार सबै उपकरणको अन्तिम चेकजाँच र तिनको कार्यक्षमता परीक्षण चलिरहेको छ ।

सुरक्षाका लागि सीसीटीभी क्यामेरा, उद्धार सुरुङ (इभ्याकुएसन टनेल), धुवाँ नियन्त्रण प्रणाली, आगलागी नियन्त्रणका उपकरणहरू, ११ केभीको डेडिकेटेड विद्युत आपूर्ति लाइन, स्ट्यान्डबाई जेनेरेटर र इन्भर्टर जस्ता सुविधा र उपकरणहरूको परीक्षण कार्य जारी छ । यी सबैको समग्र पर्फरमेन्स चेक पूरा भएपछि मात्रै काम सम्पन्न भएको मानिनेछ ।

औपचारिक रुपमा पुसदेखि सञ्चालनमा आउने 

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आम सर्वसाधारणका लागि सन् २०२६ को जनवरी (पुस) देखि सञ्चालनमा आउने भएको छ । सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि यसको पूर्ण सञ्चालन पुसदेखि मात्रै हुनेछ ।  

परामर्शदाता कम्पनीका इन्जिनियर रमेश कोइरालाका अनुसार जापानीज निर्माण व्यवसायी आन्दो–हाज्माले यस वर्ष (२०२५) कात्तिकको पहिलो हप्ताभित्र निर्माणको चरण पूरा गर्ने लक्ष्य राखेका छन् । तर निर्माणको काम सकिएलगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने छैन ।

कोइरालाले भने, ‘सुरुङ चलाउने भनेको ढोका मात्रै खोलेर भएन । त्यहाँ चलाउने मान्छेहरू हुनुपर्‍यो, त्यसको लागि केही भयो भने त्यहाँ गाइड गर्ने चाहिँ हुनुपर्‍यो । त्यहाँका इक्विपमेन्टहरू चलाउन जान्ने मान्छेहरू हुनुपर्‍यो ।’

सेवा प्रदायकले तालिम लिएर सञ्चालन विधि र उपकरणहरूको ज्ञान हासिल गरेपछि मात्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने उनले प्रष्ट पारे । अहिले सञ्चालनसम्बन्धी डकुमेन्ट तयार पार्ने काम भइरहेको छ, जसलाई ऐनका रूपमा पारित गर्नुपर्ने भएकाले केही समय लाग्नेछ ।

इन्जिनियर कोइरालाले भने, ‘निर्माणको चरण सकिएपछि जुन ट्राफिक चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसका लागि अलग्गै एउटा इन्टिटी राख्नुपर्छ ।’ यसका लागि ‘सर्भिस प्रोभाइडर’को छुट्टै व्यवस्था गरिनेछ, जसलाई नयाँ ठेक्का (कन्ट्र्याक्ट) मार्फत चयन गरिनेछ ।

‘अलिकति तालिम लिएर कसरी सञ्चालन गर्ने, यहाँ भएको इक्विपमेन्टहरू कसरी सञ्चालन गर्ने, त्यो नलेज पनि अलिकति गेन गरेपछि अनि यो बीचमा सञ्चालनक हायर गर्ने हिसाबले अगाडि बढिरहेको छ,’ कोइरालाले भने । 

उनका अनुसार सुरुङभित्र जडान गरिएका लाइटिङ, जेट फ्यान, भेन्टिलेसन जस्ता विद्युतीय उपकरण सञ्चालन र मर्मत गर्न, सानातिना सिभिल मर्मत, आगलागी लगायत आपतकालीन अवस्थामा गाडी तान्न, फायर फाइटर पठाउन अनुभवी सेवा प्रदायक चाहिन्छ । 

सुरुङमार्ग प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनका लागि आरएफआईडी बेस्ड टोल कलेक्सन प्रणाली जडान गरिसकेको छ । सुरुङमार्ग संचालन, व्यवस्थापन र मर्मतका लागि सेवा प्रदायक खरिद कार्यका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको र खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको विभागले जनाएको छ । 
कम्पनी छनोटका लागि तयार पारिएको नमुना बोलपत्र अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा छ । कम्पनी छनोट गरी सुरुङ मार्ग चाँडै सञ्चालनमा ल्याउने विभागले बताएको छ ।

सरकारले सुरुङ प्रवेश गर्दा र बाहिरिँदा लाग्ने शुल्क पनि तोकिसकेको छ । साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले सवारीको प्रकारअनुसार शुल्क तोकेको छ । कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । 

यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइने छैन । 

२३ अर्ब खर्चेको सुरुङको फाइदा के ? 

जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले २०७६ कार्तिक (२०१९ नोभेम्बर)देखि उक्त सुरुङ मार्ग निर्माण सुरु गरेको थियो । करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दिएको थियो । बाँकी ५ अर्ब सरकार आफैंले लगाउने भने पनि निर्माण लागत र परामर्श खर्च बढेपछि ५ अर्ब २७ करोड रुपैयाँ जापानसँग ऋण लिएको छ । 

असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जापानी येन ५ अर्ब ७० करोड (५ अर्ब २७ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

२.६ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँदेखि सिस्नेखोलासम्म ८ किलोमिटर सडक छोटिन्छ । कोइरालाका अनुसार नागढुंगा सुरुङमार्गले काठमाडौँभित्रको ट्राफिक जाममा प्रत्यक्ष प्रभाव नपारे पनि नागढुंगा क्षेत्रको अत्यधिक जामलाई भने उल्लेखनीय रूपमा घटाउनेछ ।

हाल नागढुंगा सडकमा १३ प्रतिशतसम्मको ठाडो उकालो भएकाले भारी सवारीसाधनहरू बिग्रिने र जाम हुने समस्या छ । सुरुङमार्गमा भने साढे तीन प्रतिशत मात्रै उकालो हुने भएकाले सवारी आवागमन सहज भई जाम कम हुने विश्वास गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप