शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोजपुर-दिङ्ला सडक कालोपत्रे गरिँदै

शनिबार, २१ भदौ २०८२, ०४ : २९
शनिबार, २१ भदौ २०८२

सारांश

  • भोजपुर-दिङ्ला सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ, जसले उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्नेछ।
  • यो सडक दुई खण्डमा विभाजन गरिएको छ र यसको निर्माण कोशी प्रदेश सरकारको लगानीमा भइरहेको छ।
  • स्थानीय बासिन्दाका अनुसार सडक कालोपत्रे भएपछि कृषि उपजको बजारीकरण र यात्रामा सहजता हुनेछ।

भोजपुर।  भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रेको काम थालिएको हो । 

पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैयाँ लागतमा काम भइरहेको छ । विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकको भौतिक प्रगति ४५  प्रतिशत हाराहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

दोस्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ । विसं २०८० पुस महिनामा सम्झौता भएको यो सडकको २०८२ पुस महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । यो सडकको भौतिक प्रगति २० प्रतिशत रहेको छ । यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्रे हुने प्रमुख रेड्डीको भनाइ छ । 

“भोजपुर–दिङ्ला सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ”प्रमुख रेड्डीले भने, “यो सदरमुकामलाई उत्तरी क्षेत्र जोड्ने महत्त्वपूर्ण सडक पनि हो । सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ ।”

सडक कालोपत्रेको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द १० का स्थानीय निमा शेर्पाले बताउनुभयो । सडक कालोपत्रे भएपछि यहाँका कृषि उपजको बजारीकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता हुने उहाँको भनाइ छ । सडक कालोपत्रे भएपछि वर्षातको समयमा सङ्खुवासभा जिल्ला घुमेर भोजपुर सदरमुकाम जानु पर्ने बाध्यताको समेत अन्त्य हुने उनले जानकारी दिए ।

यो सडक कालोपत्रे भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । सडकलाई निर्धारित समयमा गुणस्तरीय ढङ्गले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

“यो उत्तरी क्षेत्रको लागि महत्त्वपूर्ण सडक हो” प्रमुख उदासले भने “सडक कालोपत्रे हुने गरी काम थालिएपछि स्थानीयमा उत्साह बढेको छ । कालोपत्रेको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको छ ।”

सडकको पहिलो खण्डको निर्माणको जिम्मा निर्माण कम्पनीले लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप