बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अतीतबाट साभार

मेरो अभिव्यक्ति यात्रा— ४

शनिबार, २१ भदौ २०८२, १० : ००
शनिबार, २१ भदौ २०८२

सारांश

  • टीकापुर घटनामा असईको हत्या र मधेसी आन्दोलनकारीको हत्या भएको विषय उठाइएको छ।
  • मिडियाले मधेसी आन्दोलनमा भएको दमनलाई कम महत्त्व दिएको र पहाडी असईको हत्यालाई मात्र जोड दिएको आरोप लगाइएको छ।
  • मधेसी आन्दोलनलाई हेर्ने दृष्टिकोण र दमन गर्ने तरिकामा सत्ता परिवर्तन भए पनि कुनै फरक नपरेको कुरा उल्लेख छ।

मधेस आन्दोलनमा टीकापुरमा अभिव्यक्त नस्लवादी प्रवृत्तिलाई सम्झाउने एउटा घटना घटित भयो । उत्तेजित भिडले एकजना असईलाई एम्बुलेन्सबाट थुतेर वध गर्‍यो । ती असई पहाडी थिए । त्यसै दिन प्रहरीको गोलीले तीनजना मधेसी आन्दोलनकारी मारिएका थिए । र, प्रहरीद्वारा अस्पतालभित्र तालेबानी आतङ्कको सिर्जना गरिएको थियो । तर काठमाडौँको समस्त मिडियाभरि एकोहोरो स्याल हुइँया पिटियो— ‘मधेसमा पहाडी असईको नृशंस हत्या भयो ।’ हो, असईको हत्या भएको साँचो हो । तर उही दिन, उही सन्दर्भ र उही परिवेशमा मधेसी आन्दोलकारीहरूको पनि त हत्या भएको थियो ! काठमाडौँको मिडियाले एक पहाडीको वध भएको मात्र देख्यो र लेख्यो, अनेक मधेसीको वध भएको देखेको नदेखेय्यै गरी लुकायो । यो लेख्नु र नलेख्नु, देख्नु र लुकाउनु वास्तवमा उही बन्धुद्वेषी, दुराग्रही र अहङ्कारवादी राष्ट्रवादको कुटिल क्रीडा थियो । मधेसमा भइरहेको उग्र दमन, अन्धाधुन्ध हत्या र चरम ज्यादती पहाडी मिडियामा प्रायः पूरापूर ब्लाकआउट भयो । र, जगत्लाई यस्तो छनक दिन खोजियो मानौँ मधेसमा आन्तरिक उत्प्रेरणाबाट केही नै भएको छैन । जे भएको छ, त्यो केवल अन्तैका उक्साहटकारी र रैथाने विखण्डनकारीको खेलतमासा हो । प्रतीकात्मक रूपले यसो पनि भनियो— ‘मधेसमा जो मारिँदै छ, ऊ अमानव हो, अनेपाली हो, अराष्ट्रवादी हो । तसर्थ ऊ मारिन लायक छ । यो खेदको विषय किमार्थ होइन ।’

मेरो अभिव्यक्तिको दीर्घ यात्राको इतिहासमा त्यो ज्यादै सङ्कटमय क्षण थियो । कष्टकर, दुरुह, अत्यासलाग्दो र स्तब्धकारी क्षण । मधेसी आन्दोलनको क्रूर यथार्थको यथातथ्यबारे सत्य बोल्यो कि महेन्द्रीय राष्ट्रवादको प्रेतले पोलिहाल्थ्यो । सहज अवस्थामा भयङ्कर क्रान्तिकारी अभिनय गर्ने अनेक जिबातले स्वयङ्को चर्म रक्षार्थ दृढ मौन व्रत धारण गरेका थिए । तिनका कलम मग्नसँग सुतेका थिए । मधेस आन्दोलन नेपालका नेपालीकै आन्दोलन हो र त्यो आन्दोलन नेपाल कतै लगेर बुझाउन होइन, सकेदेखि सिंहदरबारको शासनको लगाम आफ्ना हातमा लिनका लागि हो भन्न गाह्रो थियो । भने उन्मत्त राष्ट्रवादी कोणबाट सहस्र निन्दित र लाञ्छित भइन्थ्यो । अन्धमति भिडद्वारा भौतिक प्रहारको खतरा समेत थियो । तसर्थ बोल्नैपर्ने त्यो क्षणमा शब्दकर्म र मिडियाका अधिकांश शूरवीरहरू सत्य नबोल्न कटिबद्ध भए । एकाध पागलहरू, जसले डराउँदै, कनिकुथी सत्य बोल्ने आँट गरे, ती मोदीका दलालमा गनिए, ती लैनचौरका ज्यालादारी एजेन्ट भनिए । र, कुत्सित मनशायले स्वैरकल्पनामा तिनका घरदैलामा भारुको यति विशाल वर्षा गरियो, त्यो वर्षाको बाढीमा नबगी ती पागलहरू जिउँदा रहनु अबोधगम्य रहस्य हो !

चरम विभेदकारी सत्ता जब मधेसमा रगतको होली खेल्दै थियो, सिंहदरबारको सिंहासनमा कांग्रेसका सुशील कोइराला विराजमान थिए, र सत्ताको बन्दुक थियो एमालेका वामदेव गौतमका हातमा । अलिपछि त्यो बन्दुक माओवादीका शक्ति बस्नेतका हातमा सर्‍यो । बन्दुक बोक्ने हात जोसुकैको होस्, मधेसलाई हेर्ने दृष्टि र दमन गर्ने उन्मादमा कुनै हेरफेर भएन । मधेसमा कटबाँस, अश्रुग्यास र गोलीको नित्य वर्षा भइरह्यो । उत्पीडित मैदानी भूमिमा दारुण चीत्कार, मर्मान्तक कोलाहल र भयातुर भागाभागबिच रगतको खोलो बगिरह्यो । त्यो पशुको होइन, मानिसको रगतको खोलो थियो । मजस्तै मानिसको, तपाईंजस्तै मानिसको, सुशील कोइराला, पुष्पकमल दाहाल, खड्गप्रसाद ओली, वामदेव गौतम र शक्ति बस्नेतजस्तै मानिसको । तर पहाडी राष्ट्रवादका दृष्टिमा त्यो रगतको मूल्य पशुको रगतको जति पनि भएन । त्यो नृशंस दमन, त्यो दारुण चीत्कार र त्यो भयावह कोलाहल छेवैबाट नाङ्गा आँखाले देखेपछि मेरो रुढ संस्कारमा महेन्द्रीय राष्ट्रवादको जो शेषांश थियो, त्यो लगभग समाप्त भयो । र, मेरो अन्तस्करणले ऐलान गर्‍यो— भाइ, अब तेरो बन्धुद्वेषी राष्ट्रवादका दिन गए ! ती दिन गए त ठिकै भयो, राष्ट्रवाद नामक मेरो मनोरोगको शेषांश सदाका लागि इतिहास भयो । त्यो राष्ट्रवाद जो, अखण्डताको गर्जन गर्छ र सामाजिक विखण्डनको विजारोपण गर्छ । त्यो राष्ट्रवाद, जो आफ्नै देशभित्रको कसैलाई तुच्छ देख्न आफ्नो श्रेष्ठताको मायावी विम्ब रचना गर्छ । त्यो राष्ट्रवाद, जो मानवतावादको गुड्डी हाँक्छ र अमानवताको माहोल निर्माण गर्छ । त्यो राष्ट्रवाद, जो अतीतको अन्ध महिमागान, वर्तमानको कठोर भत्र्सना र भविष्यको निष्ठुर निषेधमा गर्व गर्छ । 

यही चरम उन्मादको प्रक्रियामा सहदेशवासीहरूको रक्तकुण्डबाट राष्ट्रवादी नायकको जन्म भयो । पृथ्वीनारायण शाहका कुमकुमसम्म आउने राष्ट्रवादी, महेन्द्र शाहका कानकानसम्म आउने राष्ट्रवादी । विडम्बनावश, मूलधारे मिडिया यो राष्ट्रवादीको प्रखर विम्बको क्रूर जननी हो । लाग्न त मलाई यो राष्ट्रवादीको जायजन्मको नालीबेली कहन त्यसैत्यसै घिन लाग्छ, तर के लाग्छ, यथार्थवादी धर्मका दृष्टिले लोकलाई यो नालीबेली नसुनाई धरै छैन ।

०००

राष्ट्रवादको गर्जनमाझ जब दमन र हत्याले चरम रूप धारण गर्‍यो, मधेसी आन्दोलनकारीहरू चर्मरक्षार्थ दशगजाको शरण पर्न विवश भए । सिंहदरबारका शासक र तिनका अनुयायीहरू आन्दोलनकारीहरूको यो पलायनप्रति कृतज्ञ हुनुपर्ने हो । कारण तिनले पलायनको यो बाटो नसमातेका भए त शासकका गोलीले मारिनेहरूको सङ्ख्या साठीको दोब्बर अर्थात् ६ बिस पुग्न सक्थ्यो । र, त्यो प्रत्येक हत्या कलङ्कको दाग भएर वधकारी शासकहरूका निधारमा अङ्कित हुन्थ्यो ।

तिनले त उल्टै आन्दोलनकारीलाई दशगजापारि गएर वारि ढुङ्गा हान्ने देशद्रोहीको बात पो लगाए । यसबिच धमिलो पानीमा माछा मार्ने दाउले मोदीमण्डली दशगजापारि बाटो छेक्न हाजिर भयो । मधेसी आन्दोलनको प्रवाहमा जब मोदीगणको तुच्छ स्वार्थ मिसिन आयो, मधेसी आन्दोलनको रूप विरूप भयो ।

तर गुनका वैरीहरूमा यसरी सोच्ने सद्बुद्धि कहाँ हुन्छ र ? तिनले त उल्टै आन्दोलनकारीलाई दशगजापारि गएर वारि ढुङ्गा हान्ने देशद्रोहीको बात पो लगाए । यसबिच धमिलो पानीमा माछा मार्ने दाउले मोदीमण्डली दशगजापारि बाटो छेक्न हाजिर भयो । मधेसी आन्दोलनको प्रवाहमा जब मोदीगणको तुच्छ स्वार्थ मिसिन आयो, मधेसी आन्दोलनको रूप विरूप भयो । र, सिंहदरबारका राष्ट्रवादी शासकलाई फत्तुर लगाउन झनै सजिलो भयो— मोदीगणको छिमेकी–पीडक छातामुनि ओत लागेका आन्दोलनकारीको देखियो त सच्चा अनुहार !

०००

राष्ट्रवादको नशामा लट्ठिएको मूढमति मिडियाले नस्लीय राष्ट्रवादको नायक कसलाई बनायो ? बनायो त्यसलाई, जो मुखर गणतन्त्रविरोधी थियो । सम्झना छ, जब हामी गणतन्त्रको ध्वजा बोकेर सडक–सडकमा अश्रुग्यास र लाठीको प्रहार झेल्दै थियौँ, यो नायक आफ्नो नवनिर्मित हबेलीको कौसीमा बसेर मग्न मुद्रामा रमिता हेर्दै थियो । र, घोर उपहासको लबजमा यो भन्दै थियो— गणतन्त्रको कर्कश गर्जन गोरुगाडा चढेर अमेरिका जाने दिवास्वप्न हो । तथापि बर्बर दमनमाझ हामीले सपना देख्न छाडेनौ, सुरक्षित कौसीमा बसेर उसले हामीलाई गिज्याउन छाडेन । उसो त यो नायक मुखर वा छद्म रूपमा प्रगतिशील परिवर्तनका यावत् मुद्दाहरूको विरोधमा थियो । सङ्घीयता र समावेशिताको विरोधमा, धर्मनिरपेक्षता र पहिचानको विरोधमा । ऊ ‘हाम्रा पुर्खाले कत्रा दुःखले आर्ज्याको मुलुक’मा उनै पुर्खाका पदचिह्न पछ्याउँदै उनकै जस्तो विचार, संस्कार र शासकीय ढाँचाको पैरवीकार थियो ।

०००

राष्ट्रवादको गर्भबाट जन्मिएको नायक आरामदायी कौसीमा बसेर अन्तर्यामी दृष्टिले मधेस आन्दोलन हेरिरहेछ । जब सिंहदरबार मातहतको प्रहरी प्रतिशोधकारी उन्मादका साथ आन्दोलनकारीका टाउका र छातीमा गोली दाग्छ, आफ्ना वफादार राष्ट्रसेवकहरूको पराक्रम देखेर ऊ दङ्ग पर्छ । चरम उपहासको भावमा ऊ भन्छ— ऊ आँपको बोटबाट केही कुहेका आँप झरे ! चटकी मानवको यो उपमा सटीक छ । नाथे एकाध आँप झरेर आँपको पौल भएको विशाल वृक्षलाई के फरक पर्छ ? उद्विग्न मधेसी आकाशमा प्रवाहित धुवाँ हेर्दै र चीत्कार सुन्दै जब यो नायक अट्टहास गर्छ, मिडिया विनाप्रश्न, विनाटिप्पणी, विनाविमति मखलेल मुद्रामा रिपोर्टिङ गर्छ । मानौँ मिडियाको कर्म र धर्म नै राष्ट्रवादको नस्लीय नायकको अखण्ड महिमा मण्डनमा लिप्त रहनु हो । 

संविधानसभाको गोप्य खोपीमा लोकदृष्टिलाई छलेर संविधान भकाभक लेखिँदो छ । यो जालझेलसँग असहमत आन्दोलनकारी मधेसमा मारिँदो छ । कतैका कसैको सहारा र राहत नपाएर निसास्सिएका आन्दोलनकारीहरू मानव–साङ्लोको औतारमा पूर्व–पश्चिम मूलबाटोभरि प्रकट हुन्छन् । झन्डैजसो दृष्टि–शृङ्खलाको वल्लो क्षितिजदेखि पल्लो क्षितिजसम्म । त्यो मानव–साङ्लो वास्तवमा आन्दोलनकारीहरूद्वारा आफ्नो दमित दशाप्रति जगत्को ध्यानाकृष्ट गर्ने सामूहिक चेष्टा थियो । जब नस्लीय नायकले त्यो अथाह जनसागर देख्यो, ऊ त्यसैत्यसै अत्तालियो । अरे, कुहेर बोटबाट झर्न लायकका आँपहरूले सारा सडक ढाकेर जगत्सामु कुरूप नाटक प्रदर्शन गर्ने ? रिसले टुप्पीबाट धुवाँ छुटेको बखतमा उसले ड्याम्म उद्घोष गर्‍यो— यो मानव–साङ्लो होइन, माखे साङ्लो हो ! जो प्रदर्शनमा उत्रिएका थिए, तिनका चित्तमा पनि किञ्चित् कोमल संवेदना हुँदो हो, ईख हुँदो हो, आत्मसम्मानको चेत हुँदो हो भन्ने उसलाई एकरत्ती हेक्का भएन । कारण ऊ नस्लीय राष्ट्रवादको वायुपङ्खी घोडामा माथि गगनमा सवार भएको थियो । उसका दृष्टिमा तल धुलामा ती दमित नरनारीहरू कमिलातुल्य दृष्टिगोचर भएका थिए । कमिला नाथेको केको संवेदना ? तिनको के को ईख ? तिनको केको आत्मसम्मान ?

०००

समतल भूमिमा जो आन्दोलनरत थिए, तिनको कुनै अस्वाभाविक, अतिरिक्त र असम्भव दाबी थिएन । थियो त केवल बन्न लागेको संविधानमा बराबरीको दाबी । स्थान बराबरी, मान बराबरी, हक बराबरी, अवसर बराबरी, प्रतिष्ठा बराबरी । राष्ट्रवादका नायकलाई कमिला जाबोको बराबरीको यो दाबी हास्यास्पद लाग्यो । उसले उग्र गर्जन गर्‍यो— पारि बिहारतिर, उत्तर प्रदेशतिर, उता पो बराबरी ! यता केको बराबरी ? यसके अर्थ हो— तिमीहरू उताका हौ, यताको ‘हाम्रा पुर्खाले कत्रा दुःखले आर्ज्याको’ भूमि छाडेर बराबरीको दाबी गर्न तिमीहरू उतै गए हुन्छ ।

०००

आन्दोलनमा पलप्रतिपल आक्रोश बढ्दो छ, दमन बढ्दो छ, रक्तपात बढ्दो छ । संविधानसभामा रक्तरञ्जित संविधान लेखिँदै छ, मिडियामा मधेसी शहीदका रगतको मसीले राष्ट्रवादी नायकको गाथा रचिँदै छ । गजप भयो ! हेर्दाहेर्दै अहिलेको अहिले उल्का भयो ! बिरल नायकको उचाइ उकास्न काठका अदृश्य खुट्टा हालियो । खुट्टा हालिदिने स्वामीभक्त मिडिया थियो । खुट्टा हालिने अग्लिँदै गयो, खुट्टा हाल्नेहरू होचिँदै गए । खुट्टा हालिने प्रभुलाई भ्रम भयो— यो मेरो वास्तविक उचाइ हो । खुट्टा हालिदिने भक्तहरूलाई भ्रम भयो— यो परम पूजनीय ख्वामितको वास्तविक उचाइ हो । ऊ हेर्दाहेर्दै काठका खुट्टाधारी दम्भी राम माथि–माथि, झन् माथि उठ्दै गयो, आत्महीन हनुमानहरू तल–तल, झन् तल रसातलतिर दबिँदै गए । उत्पाती–वित्पाती स्वभावको नखरे राष्ट्रवादी नायक मायावी लोकप्रियताले सज्जित भयो । त्यो भुइँफुट्टा लोकप्रियता थियो— पृष्ठभूमि विनाको, वैचारिकता विनाको, धरातल विनाको र दीर्घायु विनाको लोकप्रियता । पूर्णरूपले निराधार र निराकार । तर्कले व्याख्या गर्न नसकिने, तथ्यको सहाराले अर्थ्याउन नमिल्ने । तैपनि त्यो बुझिएन भन्नु अपराध हुने ! राष्ट्रवादको नखरे नायकले शून्य आकाशमा छिछिमिराझैँ फटफटाउँदै उत्पाती–वित्पाती भाकामा भन्यो— म आकाशको जूनलाई सुन बनाएर दीन–दुःखीहरूका आँगन–आँगनमा सिङ्गा–सिङ्गै खसाइदिन्छु । गगनविरही ख्वामित्को कल्याणकारी वाणी सुनेर लठ्ठक लोक मखलेल भयो । र, प्रभुको जयजयकारको तुमुल ध्वनिले समस्त गगनमण्डल गुञ्जायमान भयो ।

अन्धवेगी नस्लीय राष्ट्रवादउपर जसले प्रश्न गर्ने धृष्टता गर्छ, उसको मुख थुन्न उसलाई केही न केही भनिन्छ । उसलाई डलरभक्षी भनिन्छ अथवा उसलाई भारु–चालित भनिन्छ ।

यसरी रक्तरञ्जित संविधानको झैँ जब रक्तरञ्जित नायकको उदय भयो, मेरोे अभिव्यक्ति स्वतन्त्रताको गर्धनमाथि राष्ट्रवादी डिमोकलको तरबार झुन्डियो । राष्ट्रवादी रामको जयगान गर्न जति छुट छ, निजको आलोचना गर्न त्यति नै वर्जित छ । गरे देशद्रोही भनिन्छ । गरे विखण्डनकारी भइन्छ । अनि सत्ताद्वारा पालित र पोषित भिजिलान्तेहरूद्वारा सामाजिक कम असामाजिक बढी लाग्ने सामाजिक सञ्जालमा छिःछिः र दूरदूर, घेराउ र आखेटको लहर उठ्छ । निर्मम समयको प्रश्न छ— सत्यको ध्वजावाहक स्वतन्त्र विचारकर्मीले यो सङ्कटकालमा गर्ने के हो ? चर्मरक्षा गर्न आँखा चिम्लेर राष्ट्रवादी प्रभुको भजन गाउने कि आफ्नो चर्मविनाशको जोखिम उठाएर भुइँफुट्टा प्रभुको यथार्थ कथा हाकाहाकी उजार गर्ने ? रोज्नलाई हरेक नागरिक स्वतन्त्र छ । कि मूक मुद्रामा हनुमान औतार धारण गर कि मुखर भावले विद्रोह बोल । यता न उताको छद्मभेषी लण्ठ जो छ, त्यो भित्ते घडीको हल्लनताम लङ्गुर कहलिन लायक छ ।

०००

अन्धवेगी नस्लीय राष्ट्रवादउपर जसले प्रश्न गर्ने धृष्टता गर्छ, उसको मुख थुन्न उसलाई केही न केही भनिन्छ । उसलाई डलरभक्षी भनिन्छ अथवा उसलाई भारु–चालित भनिन्छ । बिजुली पर्दाको गोप्य कुनाकानीमा यसो भन्ने छद्मभेषी बाह्रमासेहरूको बिगबिगी छ । यिनमध्ये कतिपय अन्धराष्ट्रवादको बुद्धि–विनाशक नशाद्वारा स्वतः चालित होलान्, कतिपय राजसी ज्यालाको दमद्वारा प्रेरित होलान् । मलाई लैनचौरबाट नित्य भारुको ओइरो लगाइदिने यस्ता उन्मादी उदारमना कति छन् कति ! यस्ता लाञ्छना वास्तवमा अन्धराष्ट्रवादका आलोचकलाई कलङ्कित तुल्याई उसको मुख थुन्ने विषाक्त अस्त्र हुन् । यिनका दुर्वचनको बाटो गरी मकहाँ यति धेरै भारु आयो कि त्यसलाई मेरो पन्ध्र हजार लिटरको अन्डरग्राउउड ट्याङ्कीमा हालेको भए भारुले मेरो ट्याङ्की टनाटन भरिँदो हो !

जिन्दगीमा म लैनचौर जम्मा दुईचोटि गएको छु । लैनचौरमा अभय के भन्ने एकजना अधिकारी रहेछन्, साहित्यमा रुचि राख्ने र साहित्यिक सत्सङ्ग गर्न खुबै मन पराउने । एक दिन मलाई तिनको फोन आयो । लेखक–लेखक भेटौँ न भनी तिनले मलाई धेरै कर गरे । र मलाई लिन तिनले गाडी नै पठाए । कुनै राष्ट्रवादीले देख्ला कि भनेर भयातुर हुँदै गाडीमा लुकेर म लैनचौर पुगेँ । यो भयो लैनचौरमा मेरो पहिलो पदार्पण । रणजित रे भन्ने राजदूत थिए । तिनले भारतीय स्वतन्त्रतादिवसको छेक पारेर अभय केमार्पmत मलाई निम्ता गरिपठाए । त्यो एकल गोप्य निम्ता थिएन । निम्तालुहरूको बगालै थियो । बगालमा राजनीतिकर्मीहरू थिए, साहुमहाजनहरू थिए, व्यापारीहरू थिए, पत्रकारहरू थिए, लेखकहरू थिए । र त्यो विशाल बगालमा म पनि थिएँ । यो भयो लैनचौरमा मेरो दोस्रो पदार्पण । 

एउटा दशैँमा मलाई लैनचौरले अनपेक्षित कोसेली पठाइदियो । कोसेली थियो एक बोतल गोर्खाली सिलप्याक मदिरा– एन्टिक्विटी । त्यो कोसेली ग्रहण गर्ने योग्यता आफूमा नभएको जनाउँदै मैले सधन्यवाद फिर्ता गरी पठाएँ । बस्, लैनचौरसँगको मेरो नाता यत्ति हो । लैनचौरलाई मैले न केही दिनु छ, न लैनचौरसँग मैले केही माग्नु छ । तैपनि उदारमना उन्मादीहरू लैनचौरबाट मकहाँ भारुको खोलो बगाइदिन नित्य कटिबद्ध छन् । यी हुन्, मेरो धृष्ट र मुखर अभिव्यक्तिका बाधकहरू । यी हुन्, मेरो नैतिक चरित्रलाई दुराशययुक्त तीरको तारो बनाएर मेरो मुख थुन्न खोज्ने सङ्कीर्णमति राष्ट्रवादीहरू !  

(जेबी पुनद्वारा सञ्चालित फ्रि प्रेसद्वारा २०६९ सालमा पाटन गेटमा आयोजित विचार मन्थन कार्यक्रममा प्रस्तुत अनुभवको गोडमेल संस्करण ।)

समाप्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप