'सामाजिक सञ्जाल प्रतिबन्ध : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो'
सारांश
- सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विरोध जनाएका छन्।
- उनीहरूले यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि आघात पुर्याउने अलोकतान्त्रिक कार्य भएको बताए।
- सरोकारवालाहरूले बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन्।
काठमाडौँ । सरकारले फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत सामाजिक सञ्जालमाथि 'दर्ता नभएको' बहानामा लगाएको प्रतिबन्धप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विरोध जनाएका छन् ।
उनीहरूले यो कदम नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्याउने अलोकतान्त्रिक कार्य भएको ठहर गरेका हुन् ।
उनीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा व्याख्या गरेका छन् । नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको स्मरण गराएका छन् । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।
सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्या समाधान गर्न सार्वभौम संसद्बाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कदमलाई 'कठोर र अलोकतान्त्रिक' भनिएको छ ।
यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको ठहर छ ।
'सरकारको यस कदमले विदेशमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूको परिवारबिचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा नकारात्मक प्रभाव पर्ने र हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ' विज्ञप्तिमा उल्लेख छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन नसक्ने दोहोर्याउँदै सरोकारवालाहरूले सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गरेका छन् ।
साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि सरकारलाई आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण