काठमाडौँ । नेपालमा १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह रहेको पाइएको छ ।
सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९ जनासँग गरेको मत सर्वेक्षणमा बालेन पहिलो रोजाइको नेता देखिएका हुन् ।
बालेनको लोकप्रियता सात वटै प्रदेशमा देखिएको छ । सात वटै प्रदेशमा उनी अधिकांशको पहिलो रोजाइमा परेका छन् ।
सर्वेक्षणमा हामीले जेन–जी पुस्तालाई ‘तपाईंलाई मन पर्ने तीन नेपाली नेताको नाम लेख्नुहोस्’ भनेर सबै विकल्प खुला गरेका थियौँ । त्यसमध्ये अधिकांशले तीन जनाकै नाम लेखे पनि केहीले भने एक वा दुई जनामात्रको नाम पनि लेखेका छन् ।
कतिपयले तीन वटै विकल्पमा एउटै नाम लेखेको समेत पाइएको छ । त्यस्ताको हकमा सम्बन्धित नेताको नाम एक पटकमात्र समेटेर बाँकी दुई विकल्पलाई ‘रिक्त’ राखी गणना गरिएको छ ।
सर्वेक्षणमा सहभागी अधिकांशले बालेन शाहको नाम सुरुमै उल्लेख गरेका छन् । बालेन मन पर्छ भन्ने ‘जेन–जी’ पुस्ता औसतमा देशभर ७४.१८ प्रतिशत रहेको सर्वेक्षणमा पाइएको छ ।
समग्रमा रवि लामिछाने मन पर्छ भन्ने ३५.७५ प्रतिशत, हर्क साम्पाङको पक्षमा ३१.६७ प्रतिशत, केपी शर्मा ओलीको पक्षमा १४.४४ प्रतिशत, शेरबहादुर देउवाको पक्षमा ५.९७ प्रतिशत, पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा ८.०१ प्रतिशत र धनगढी उपमहानगर प्रमुख गोपाल (गोपी) हमालको पक्षमा ७.७२ प्रतिशत मत जेन–जी पुस्ताबाट आएको छ ।
कोशीमा १४७ जनाले आफ्ना तीन मन पर्ने नेता रोज्दा बालेन शाहको पक्षमा १३० मत आएको छ । कोशी प्रदेशमै रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कोशीबाट दोस्रो लोकप्रिय मत पाएका छन् । उनले ८९ मत पाएका छन् ।
यस्तै, रवि लामिछानेको पक्षमा २७, केपी शर्मा ओलीको पक्षमा १२, शेरबहादुर देउवाको पक्षमा ६, पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा ११, गोपी हमालको पक्षमा ७ मत परेको छ । अन्य विभिन्न नेताको पक्षमा ३६ मत परेको छ ।
मधेसमा पनि जेन–जी पुस्तामा बालेन शाह नै सर्वाधिक लोकप्रिय देखिएका छन् । मधेसमा जेन–जी पुस्ताका १२४ जनाले मन पर्ने तीन नेतालाई रोज्ने क्रममा बालेनको पक्षमा १०७ मत परेको छ । यस्तै, रवि लामिछानेको पक्षमा ४९, हर्क साम्पाङको पक्षमा १४ मत परेको छ ।
यसैगरी केपी शर्मा ओलीलाई ६, शेरबहादुर देउवालाई २, प्रचण्डलाई २, गोपी हमाललाई २ र अन्य विभिन्न नेतालाई १३ मत परेको छ ।
बागमतीका जेन–जीमा पनि बालेन शाह लोकप्रिय देखिन्छन् । सर्वेक्षणमा सहभागी १७४ मध्ये हरेकले तीन नेताको नाम लिनुपर्दा बालेन शाहको पक्षमा १२९ मत आएको देखिन्छ ।
यस्तै, रवि लामिछानेको पक्षमा ९१, हर्क साम्पाङको पक्षमा ६३, केपी शर्मा ओलीको पक्षमा ३०, शेरबहादुर देउवाको पक्षमा १५ र प्रचण्डको पक्षमा १७ मत आएको छ । यहाँ अन्य विभिन्न नेताको नाममा ५६ मत परेको छ ।
गण्डकीमा बालेन शाहको लोकप्रियता तुलनात्मक रूपमा अन्य प्रदेशको भन्दा कम रहे पनि लोकप्रिय नेताको सूचीमा पहिलो नम्बरमै रहन सफल भएका छन् ।
गण्डकीमा तीन नेता छान्न पाउने गरी सर्वेक्षणमा १२७ जनासँग सोधिएको प्रश्नमा बालेनलाई ६८ मत परेको छ । यस्तै, रवि लामिछानेलाई २८, हर्क साम्पाङलाई २४, केपी शर्मा ओलीलाई १५, शेरबहादुर देउवालाई ५, प्रचण्डलाई १४ मत प्राप्त भएको छ । गण्डकीमा गोपी हमाल मन पर्छ भनेर मत दिने ४ जना छन् । अन्य विभिन्न नेताको नाममा ४२ मत परेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा पनि बालेन शाह सर्वाधिक लोकप्रिय देखिएका छन् । १५० मतदातामा एक जनाले तीन नेता रोज्नु पर्दा बालेनलाई १०६ मत प्राप्त भएको छ । रवि लामिछानेको पक्षमा ६६, हर्क साम्पाङको पक्षमा ४१ मत आएको छ ।
यस्तै, केपी शर्मा ओलीलाई ४३, शेरबहादुर देउवालाई १३, प्रचण्डलाई १९, गोपी हमाललाई ८, राप्रपाकै नेता ज्ञानेन्द्र शाहीलाई ८ मत प्राप्त भएको छ । अन्य विभिन्न नेताको नाममा २६ मत परेको छ ।
कर्णालीबाट सर्वेक्षणमा सहभागी १५० जनालाई आफ्नो मन पर्ने कुनै तीन नेता छान्न दिँदा सबैभन्दा बढी मत बालेन शाहले नै पाएका छन् । बालेनको पक्षमा १२९ मत रहँदा रवि लामिछानेको पक्षमा ६८, हर्क साम्पाङको पक्षमा ५८, राप्रपा नेता ज्ञानेन्द्र शाहीको पक्षमा ३५, केपी शर्मा ओलीको पक्षमा २०, प्रचण्डको पक्षमा १३, शेरबहादुर देउवाको पक्षमा १०, गोपी हमालको पक्षमा ८ र अन्यमा ४१ मत आएको छ । यहाँ कतिपयले तीन नेताको नाम लेख्ने विकल्पका बाबजुद एक वा दुईमात्र नेताको नाम पनि लेखेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट सर्वेक्षणमा सहभागी १४६ जनालाई मन पर्ने कुनै तीन नेताको नाम लेख्न दिइएकोमा बालेनको पक्षमा ८८ मत आएको छ । यस्तै, गोपी हमालको पक्षमा ४८, रवि लामिछानेको पक्षमा ४२, हर्क साम्पाङको पक्षमा १९, केपी शर्मा ओलीको पक्षमा २५, शेरबहादुर देउवाको पक्षमा १२, प्रचण्डको पक्षमा ७ मत परेको छ भने अन्य विभिन्न नेताको नाममा ४१ मत परेको छ । यहाँ पनि कतिपयले एक वा दुई जना नेताको मात्र नाम लिएका छन् ।
(कोशीबाट अर्जुन आचार्य, मधेसबाट अली असगर देवान, बागमतीबाट गणेश दुलाल, गण्डकीबाट प्रकाश ढकाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाही र सुदूरपश्चिमबाट सविता बुढाको सहयोगमा ।)
२ प्रतिक्रिया