‘जेन–जी’ पुस्तामा रातोपाटीको मत सर्वेक्षण

समाचार सारांश
- रातोपाटीले 'जेन-जी' पुस्ताको सोच, बुझाइ र योजना बुझ्न सातै प्रदेशमा सर्वेक्षण गरेको छ। यस सर्वेक्षणमा कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरू समावेश थिए।
- सर्वेक्षणमा देशभरबाट १,०१९ 'जेन-जी' पुस्ताका सदस्य सहभागी थिए, जसमा विभिन्न शैक्षिक संस्थाहरू र सामाजिक परिवेशलाई समेटिएको थियो।
- सर्वेक्षणले 'जेन-जी' पुस्ताका विचारहरू उजागर गर्ने लक्ष्य राखेको छ, जसले नीति निर्माण र राज्यका अन्य विषयहरूमा ध्यान दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका अर्थात् अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहमा रहेको ‘जेन–जी’ पुस्ता अहिले विद्यार्थीका रूपमा निम्न माध्यमिक तहदेखि ग्य्राजुएटसम्म फैलिएको छ । सुरुवाती वर्षका केही प्रतिशत अहिले विभिन्न पेसा–व्यवसायमा समेत आबद्ध भइसकेका छन् ।
प्रविधिसँगै हुर्किएको यो पुस्ताको सोच, बुझाइ, योजना जान्ने हिसाबले रातोपाटीले मत सर्वेक्षण गरेको छ । जेन–जी पुस्तालाई समेटेर गरिएको मत सर्वेक्षणमा केही यस्ता विषय उजागर भएका छन्, जो पुरानो पुस्तालाई पाच्य नहुन सक्छ ।
रातोपाटीले सात वटै प्रदेशलाई सर्वेक्षणमा समेटेको छ । एउटा प्रदेशमा एक सय जनाभन्दा कम नहुने गरी बढीमा डेढ सय जनासम्मलाई सर्वेक्षणमा सामेल गरिएको छ । यसरी गरिएको सर्वेक्षणमा देशभरबाट जेन–जी पुस्ताका एक हजार १९ जना समेटिएका छन् ।
सर्वेक्षणमा खासगरी कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई सामेल गरिएको छ । यस क्रममा एउटै प्रदेशभित्रका फरक भूगोल, भिन्न सामाजिक परिवेश लगायतको प्रतिनिधित्व हुन सकोस् भन्नेमा ध्यान दिइएको छ । सर्वेक्षणमा प्रत्येक प्रदेशमा एकै प्रकारका शैक्षिक संस्थालाई नसमेटी सरकारी तथा सामुदायिक र निजी विद्यालय लगायतलाई उत्तिकै महत्त्व दिइएको छ ।
कोशी प्रदेशमा १४७ लाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये सरकारी एवं सामुदायिक विद्यालय/उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५७.८ प्रतिशत र निजीमा अध्ययनरत ४२.२ प्रतिशत थिए ।
यस्तै, मधेस प्रदेशमा १२५ जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये सरकारी तथा सामुदायिक विद्यालय तथा उच्च माध्यमिक विद्यालयबाट ५४.४ प्रतिशत र निजीबाट ४५.६ प्रतिशतले प्रतिनिधित्व गरेका थिए ।
बागमती प्रदेशबाट सर्वेक्षणमा १७४ जनालाई सहभागी गराइएको थियो । तीमध्ये सरकारी तथा सामुदायिक विद्यालयका ५८.६ प्रतिशत र निजीबाट ४१.४ प्रतिशत थिए ।
गण्डकीबाट सर्वेक्षणमा सहभागी १२७ जनामध्ये सरकारी एवं सामुदायिक विद्यालयका ७०.१ तथा निजीबाट २९.९ जनाले प्रतिनिधित्व गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेशबाट १५० जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये सरकारी तथा सामुदायिक विद्यालयबाट प्रतिनिधित्व गर्ने ६० प्रतिशत र निजी विद्यालयका ४० प्रतिशत थिए ।
कर्णाली प्रदेशबाट सर्वेक्षणमा १५० विद्यार्थी सहभागी गराइएको छ । तीमध्ये सरकारी तथा सामुदायिकतर्फका ७२.७ प्रतिशत छन् भने निजीतर्फका २७.३ प्रतिशत छन् ।
सुदूरपश्चिमबाट १४६ जनालाई सर्वेक्षणमा सामेल गरिएको छ, जसमध्ये सरकारी तथा सामुदायिक विद्यालयका ६१ प्रतिशत र निजीका ३९ प्रतिशत छन् ।
मत सर्वेक्षणमा केही प्रश्नका लागि विभिन्न विकल्प दिइएको थियो । यद्यपि, कतिपय विषयमा हामीले जेन–जी पुस्ताकै धारणा पूर्ण रूपमा आओस् भनेर कुनै पनि विकल्प नदिई उनीहरूबाटै जबाफ लिएका छौँ । उदाहरणका लागि हामीले जेन–जी पुस्तासँग आफूलाई मन पर्ने तीन नेताको नाम लेख्नुहोस् भनेर कुनै पनि विकल्पविना सोधेका थियौँ ।
केही प्रश्नमा भने हामीले तीन वटा विकल्पमध्ये कुनै एक रोज्न भनेका थियौँ । उदाहरणका लागि– नेपालको शैक्षिक अवस्था कस्तो छ भनेर हामीले प्रश्न लेखेर तीन वटा विकल्प दिएका थियौँ– ‘राम्रो’, ‘औसत’ र ‘काम नलाग्ने’ । यस प्रकार विकल्प दिइएका प्रश्नका सन्दर्भमा सर्वेक्षणमा सहभागी हरेकले कुनै एक विकल्पमा चिह्न लगाउनुपर्ने प्रावधान राखेका थियौँ ।
सर्वेक्षणका केही विषयलाई हामीले रातोपाटीको १२ औँ वार्षिकोत्सवमा प्रकाशन गर्ने निधो गरेका छौँ । यद्यपि, कतिपय विषयलाई हामी क्रमशः प्रकाशन गर्दै जाने छौँ ।
‘जेन–जी’ पुस्तामा गरिएको सर्वेक्षणको नतिजाले नीति, योजना निर्माण र राज्यले ध्यान दिनुपर्ने अन्य विषय उजागर गर्न सक्छ भन्ने हाम्रो अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ : मन्त्री पौडेल
-
सुनकोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै स्थानीय (तस्बिरहरू)
-
आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
-
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
-
‘देश त हाम्रो हो, तर राज्य हाम्रो हुन सकेन’
-
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने