जेनजीलाई बाबुरामको सुझाव : भेडाको छाला ओढेर आउने ब्वाँसाहरूलाई समयमै चिन्नुहोला
सारांश
- बाबुराम भट्टराईले जेनजी आन्दोलनमा भएको प्रहरी दमनको विरोध गर्दै शहिदप्रति सम्मान व्यक्त गरे।
- भट्टराईले युवा पुस्तालाई आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म नछाड्न र शान्तिपूर्ण संघर्षमा दृढ रहन आग्रह गरे।
- उनले आन्दोलनमा गलत तत्वहरूलाई चिन्न र संविधानका आधारभूत स्तम्भहरूलाई जोगाउन युवाहरूलाई सुझाव दिए।
काठमाडौँ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जेनजीको आन्दोलनका क्रममा भएको प्रहरी दमनको विरोध गरेका छन् ।
भट्टराईले ‘नवफासीवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्ने महान् शहीदहरू’ प्रति उच्च सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
उनले युवा पुस्ताले नयाँ इतिहासको सुरुवात गरेकोमा गौरव महसुस भएको भन्दै उनीहरूलाई बधाई ज्ञापन गरेका छन्। भट्टराईले युवाहरूलाई आन्दोलनका क्रममा केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन आग्रह गरेका छन्। उनले आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बिचमै नछाड्न, शान्तिपूर्ण रूपमा गरिने सङ्घर्षमा दृढ रहन र कुनै पनि बहकावमा नआउन सुझाव दिएका छन्।
साथै, उनले आन्दोलनमा गलत तत्त्वहरूको घुसपैठ हुन नदिन र ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
भट्टराईले ‘भुईँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने नेपाली उखानको स्मरण गराउँदै वर्तमान संविधानका आधारभूत स्तम्भहरूलाई भत्काउने वा छेडछाड गर्ने गल्ती नगर्न पनि युवाहरूलाई सुझाव दिएका छन्।
उनले भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न र राजनीतिक स्थिरता प्राप्त गर्नका लागि संविधानमा महत्त्वपूर्ण सुधारहरू गर्नुपर्ने धारणा राखेका छन्। उनले अन्तमा युवा पुस्ताको पूर्ण सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
यस्तो छ उनको भनाई
जेनजीका नवयुवाहरूसँग हार्दिक अपिल
प्रिय नवयुवा साथीहरू,
अन्तर्हृदयैदेखि तपाईँहरू सबैमा विनम्र नमन !
भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासीवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान् शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली ! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहिरो समवेदना ! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!
देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व सङ्घर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको सुरुवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईँहरूलाई हार्दिक बधाई!
साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला:
- आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बिचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्ति सन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।
- सङ्घर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप !) त्यसमा दृढ रहनुपर्छ। कसैको बहकावमा आउनुहुन्न।
- आन्दोलनमा गलत तत्त्वहरूको घुसपैठ हुन नदिन र 'भेडाको छाला ओढेर आउने ब्वाँसाहरू' लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भइहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।
- 'भुईँको टिप्न खोज्दा पोल्टाको नखसोस्' भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्त्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधान नै भत्काउने वा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता आधार स्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।
तपाईँहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण