बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टिप्पणी

कुन दुर्घटना कुर्दैछन् ओली ?

मङ्गलबार, २४ भदौ २०८२, १४ : १७
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । पञ्चायती व्यवस्थाविरुद्ध लडेको, निरङ्कुश राज्य व्यवस्थाविरुद्ध सशस्त्र–निःशस्त्र सङ्घर्ष गरेको, जेल–नेल भोगेको भन्दै राज्यसत्तामा पालैपालो नेतृत्व गर्दै आएका नेताहरू औँलामा गन्न सकिने मात्र छन् ।

नयाँ संविधान जारी भएको एक दशकसम्म पनि यो वा त्यो बहानामा सरकार ढाल्ने, बनाउने, केन्द्रमा समीकरण फेरिनासाथ प्रदेश तहसम्म सरकार फेर्नेबाहेक जनताले कुनै क्षेत्रमा सकारात्मक प्रत्याभूति पाएका छैनन् ।

चार–पाँच दशक उमेर कटिसकेका नागरिकहरू त यस्ता समस्या झेल्न अभ्यस्त भइसके । उनीहरू जसोतसो गुजारा चल्न पाए हुन्थ्यो, छोराछोरीलाई शिक्षित बनाएर, सके विदेशमा पठाउने, नसके देशमै आफ्नो खुट्टामा उभिन सक्ने बनाउन पाए हुन्थ्यो भन्ने आकाङ्क्षाभन्दा माथि सोच्न छाडिसके ।

त्योभन्दा तलको पुस्ता ‘सहनुको पनि सीमा हुन्छ’ भन्ने अवस्थामा पुगिसकेको छ । त्यसैको परिणाम हो– सोमबार देशव्यापी रूपमा ‘जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शन । कापी–कलम बोकेर भविष्यको बाटो पहिल्याउने समयमा देशकै भविष्य निरन्तर अन्धकारतर्फ उन्मुख हुँदै गएपछि असह्य भएर यो पुस्ता सडकमा उत्रिएको हो ।

सूचना–प्रविधिको विकास सँगसँगै हुर्किएको ‘जेनजी’ पुस्ता इन्टरनेटमा एक ‘क्लिक’का भरमा आफूले चाहेको सामग्री फेला पार्छ । कक्षामा गुरुले पढाएका सीमित पाठ्यक्रमबाट समेत सन्तुष्ट हुन नसकी उसले एआई र गुगलका माध्यमबाट आफूलाई चाहिए जति जानकारी बटुल्छ । सवारी चालक अनुमति पत्रको परीक्षा पास गरेको तीन वर्षसम्म पनि ‘लाइसेन्स’ हातमा नपाउने, सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा घोषित युवा लक्षित कार्यक्रमको प्रतिफल लिन कैयौँ दिन सरकारी कार्यालयमा धाउनुपर्नेजस्ता अवस्था ‘जेनजी’को आकाङ्क्षा, चेतना र रफ्तारभन्दा दशकौँ पुराना र परम्परागत वस्तुस्थिति हुन् ।

द्रुत र छरितो सरकारी सेवा–सुविधा चाहिरहेको, भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मान्यता बोकेको जेनजी पुस्ता देशको प्रधानमन्त्री पदमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा पालैपालो बसेको हेर्दाहेर्दै दिक्क भइसकेको छ ।

यस्ता सेवा–सुविधा कुन मुलुकमा कति समयावधिमा पाइन्छ भन्ने चेत सामान्य नागरिकलाई नहोला तर जेनजी पुस्तासँग उदाहरणका इतिवृत्तान्त हुन्छन् किनकि उनीहरू सूचना प्रविधिका पर्याय हुन् । समयमा सवारी लाइसेन्स दिने क्षमता नहुँदासमेत कमिसनको भरमा स्मार्ट लाइसेन्सको अवधारणा ल्याउने, चिप्स स्क्यान गर्ने मेसिन जडान नै नभई ठेकदारको मिलेमतोमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने, कहिले राष्ट्रिय परिचयपत्रको लाइनमा उभ्याउने, कहिले मलको लाइनमा उभ्याउने । वर्षौँसम्म पनि ठेक्का लागेका योजना पूरा नगर्ने, बजारमा व्यापारीको अराजकता बढेर तिनै निम्न र मध्यम वर्षीय जनताको ढाड सेकिँदासमेत ‘सेटिङ’मा सरकार रमाउने गतिविधि गणतान्त्रिक शासन व्यवस्थाको मर्म अनुरूप हुँदै होइन ।

सञ्चारमाध्यममा बेथितिविरुद्ध कुरा उठ्दा व्यवस्था विरोधी भनेर बालुवाटारबाट चित्रण गरिदिने, उखान तुक्काका भरमा विषयका गम्भीरतालाई खिल्ली उडाउनेजस्ता गैरजिम्मेवार गतिविधिका कारण जनआक्रोशको आगोमा निरन्तर घिउ थप्दै गएको थियो । स्वाभाविक हो– नवयुवा–नवयुवतीलाई इतिहासमा कसले के गर्‍यो भन्ने हरहिसाब होइन, आफ्नो अभिभावकले तिरेको राजस्वको कति सदुपयोग भयो भन्ने हरहिसाब महत्त्वपूर्ण हुन्छ । उनीहरूले रातदिन मेहनत गरेर पसिना बगाएको आफ्नो अभिभावकको सङ्घर्ष दैनिक देखेर हुर्किएका छन् । त्यसैले सूचना–प्रविधिकै प्रयोगमार्फत उनीहरू सङ्गठित भए, आन्दोलनको उद्घोष गरे ।

सोमबार देशव्यापी सडकमा उत्रिएका यी युवालाई सरकार, राजनीतिक दलका नेताहरूले समयमै आकलन गर्नै सकेनन् । सत्ताको दम्भ, अघिल्ला पुस्ताका कैयौँ प्रदर्शनकारीलाई दमन गरेर मनोबल बढाएको राज्यसत्ताले कलिला युवा–विद्यार्थीमाथि निर्ममतापूर्वक गोली चलायो । आन्दोलनको पहिलो दिन नै कम्तीमा १९ जनाको मृत्यु भयो भने कैयौँ घाइते भए ।

सूचना–प्रविधिसँग जन्मिएको–हुर्किएको यो पुस्तालाई जालझेल गर्न सहज छैन । २०६२/६३ को आन्दोलनसम्म पनि देशका सबै समस्याको जड राजतन्त्र हो भनियो । तर, त्यस यताका दुई दशकमा कैयौँ नेताले राजालाई नै बिर्साउने गरी स्वेच्छाचारिता, भ्रष्टाचारतन्त्र, जनताको उपेक्षालाई संस्थागत गर्दै आए ।

द्रुत र छरितो सरकारी सेवा–सुविधा चाहिरहेको, भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मान्यता बोकेको जेनजी पुस्ता देशको प्रधानमन्त्री पदमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा पालैपालो बसेको हेर्दाहेर्दै दिक्क भइसकेको छ । यो पुस्ता आफ्नो विचार, भावना बुझ्ने दल, नेतृत्व चाहिरहेको छ । उनीहरू सूचना र प्रविधिकै क्षेत्रबाट समृद्धि हासिल गर्न सकिनेमा जति विश्वस्त छन्, यी पुराना नेताबाट कुनै पनि उपलब्धि हुनेछैन भन्नेमा त्योभन्दा बढी विश्वस्त देखिन्छन् ।

अब पनि कुनै बहानामा आन्दोलन निस्तेज पार्न सक्छु र स्थिति नियन्त्रणमा लिन सक्छु भनेर कसैले धृष्टता गर्छ भने ऊ पक्कै पनि लोकतान्त्रिक मूल्य–मान्यता अनुरूपको होइन । अवसरका फाइदा लिनका लागि सलबलाएका केही परिचित अनुहारहरू आफ्नो कमी–कमजोरीलाई अर्काको टाउकोमा थोपर्ने र धमिलो पानीमा माछा मार्ने स्वार्थले प्रेरित छन् । यस्ता अनुहारबाट सावधान हुन उत्तिकै जरुरी छ ।

रोम जलिरहँदा निरोले बाँसुरीको आनन्द लिएझैँ प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि दम्भ देखाएर बस्न उचित होइन । आफ्नै निवाससमेत सुरक्षा गर्न नसकेका प्रधानमन्त्रीले अब देश र जनताको सुरक्षा गर्न सक्छन् भनेर कसले विश्वास गर्ने ? तत्काल राजीनामा दिएर निकासको बाटो खोल्नुपर्नेमा कुन दुर्घटना कुरेर बस्दैछन् ओली ?

मुलुकले लामो समय यो अवस्था झेल्न सक्दैन । कुशासन, भ्रष्टाचार र बेथितिका कारण यसै पनि वर्षौं पछाडि परेको मुलुकले आन्दोलनका नाममा थप मानवीय र भौतिक संरचनाको क्षति झेल्न नपरोस् । अन्ततः यी सबै क्षति जनताकै टाउकोमा बोकाइने हो । देशमा अस्थिरता बढ्दै जाँदा भूराजनीतिक प्रभाव र स्वार्थ पनि स्वाभाविक रूपमा बढ्छ । त्यसैले दशकौँको राजनीतिक अनुभव सँगालेका भनिएका पुस्ताले अब निकासका लागि बाटो छोड्नुको विकल्प छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप