बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सडक भाँसिएको दुई वर्षपछि स्तरोन्नति

बिहीबार, २६ भदौ २०८२, ०२ : २२
बिहीबार, २६ भदौ २०८२

सारांश

  • गोदावरी-खानीडाँडा सडक खण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ, जसले सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्छ।
  • पहिरोले क्षतिग्रस्त सडकखण्ड मर्मतपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ, जसमा पर्खाल लगाएर बाटो फराकिलो बनाइएको छ।
  • सडक मर्मतका लागि ६ करोड ४७ लाखको ठेक्का सम्झौता भएको थियो, जसमा पहिरो नियन्त्रण र सडकलाई बलियो बनाउने काम गरिएको छ।

गोदावरी। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडक खण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ । 

वर्षाका कारण पहिरोले क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रको सडक खण्ड मर्मत गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन गरी निर्माण गर्दा दुई वर्ष लागेको बताए । 

मर्मतसँगै पर्खाल लगाएर बाटो फराकिलो बनाइएको छ। सडक मर्मतपछि  सहज रूपमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेको छ। विसं २०८० साउन २३ मा अविरल वर्षापछि पहिरोले उक्त सडक खण्डअन्तर्गत बुढीतोला क्षेत्रमा करिब पाँच सय ७० मिटर सडक भाँसिनुका साथै माथिबाट पहिरो खसेको थियो । 

पहिरोले एक सातासम्म सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला गरी सात पहाडी जिल्लाको सम्पर्क टुटेको थियो । इन्जिनियर यादवका अनुसार जमिनमुनिको पानीका कारण ठुलो भू–भाग नै भाँसिएकाले तत्कालै परामर्श सेवामार्फत आवश्यक अनुसन्धान गरी त्यसको निष्कर्ष र सुझावका आधारमा मर्मत सुरु भएको थियो । पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेभी’ कम्पनीसँग रु छ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो । 

“पहिरो नियन्त्रणका लागि भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार निर्माण गरिएका छन् । उक्त पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास दिई जमिन स्थिर राख्ने काम भएको छ”, उनले भने, “इनार बनाउने, ‘सब–सर्फेस ड्रेनेज’ को काम गर्ने, सडक काटेर फराकिलो बनाउने र बायो–इन्जिनियरिङ (वनस्पतिको प्रयोगबाट जमिनलाई स्थिर बनाउने) को काम सम्पन्न भइसकेको छ ।”

सडक भाँसिएको ठाउँमा १० मिटरसम्म अग्लो ‘मेकानिकल’ पर्खाल लगाएर सडकलाई बलियो बनाइएको छ । अब सडक स्थिर भएपछि एक वर्षपछि जमिनको अवस्था हेरेर मात्र कालोपत्रेका लागि छुट्टै ठेक्का लगाएर काम गरिने कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप