बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए

शुक्रबार, २७ भदौ २०८२, ०२ : ५५
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्कुटरमा आएका व्यक्तिले यात्रुहरूलाई लुटेका थिए।
  • कालिकोटका कलमबहादुर र नैनबहादुर धामीको मोबाइल र १४ हजार भारु लुटियो।
  • प्रहरीले लुटेराको खोजी गरिरहेको छ, घटनाबारे जानकारी गराइएको छ।

कञ्चनपुर ।  भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बिच बाटोमै लुटिएका छन् ।

पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् । 

“सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।” कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए ।

दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । “भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ”, कलमबहादुरले भने, “भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बिच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ ।”

लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप