जनकपुरधाममा जलेर खरानी भएका प्रहरी चौकी पुनः सञ्चालनको प्रक्रिया सुरु
सारांश
- जनकपुरधाममा आन्दोलनका कारण ध्वस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन सरसफाइ सुरु भएको छ।
- आगजनीबाट प्रहरी कार्यालयमा ५ करोडभन्दा बढीको क्षति भएको छ, जसका कारण कर्मचारीहरू अन्यत्र बस्न बाध्य छन्।
- जिल्ला ट्राफिक प्रहरी कार्यालय र स्टेशन प्रहरी चौकीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ र चौकीहरू पुनः सञ्चालनमा आउन थालेका छन्।
जनकपुरधाम । मुलुकले अन्तरिम प्रधानमन्त्री पाएसँगै देशभरको जनजीवन सामान्य हुँदै गएको छ । सोही क्रममा मधेस प्रदेशको राजधानी जनकपुरधाममा पनि अवस्था सामान्यीकरण हुँदै गएको छ । जेनजी आन्दोलनका क्रममा जलेर खरानी भएका विभिन्न प्रहरी चौकी पुनः सञ्चालनको प्रक्रिया सुरु भएको छ ।
शनिबार विभिन्न चोकमा स्थानीयवासीले ध्वस्त प्रहरी चौकी सरसफाइ गरी पुनः सञ्चालनमा ल्याउने काम थालेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा हिंसक समूहले प्रहरी चौकीमा लुटपाटसहित आगजनी गरेर ठुलो क्षति पुर्याएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख सूर्यबहादुर शाहीका अनुसार बिहानैदेखि स्थानीय युवाले सरसफाइमा सहयोग गरेका छन् । उपमहानगरपालिकाबाट दमकल मगाएर पूर्ण सरसफाइ गरिएको उनले जानकारी दिए ।

उनले भने, ‘तत्काल सञ्चालनका लागि प्रयास थालेका छौँ । कार्यालयमा आगजनीका कारण पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । अब पुनःनिर्माणका लागि सरकारी तथा स्थानीयवासी दुवैको सहयोग आवश्यक छ । कार्यालयका करिब ३५ जना कर्मचारी आफन्तकहाँ बस्न बाध्य भएका छन् । सबैको सहयोग अपरिहार्य छ ।’
प्रमुख शाहीका अनुसार प्रहरीसँग रहेका ड्रेस, मोटरसाइकल, गाडी सबै जलेर नष्ट भएका छन् । ‘कमसे कम अरु चिज पछि भए पनि हुन्छ, तर ड्रेस तत्काल आवश्यक छ । कार्यालय सञ्चालन सुरु गरेका छौँ तर पूर्ण रूपमा व्यवस्थित गर्न अझै समय लाग्छ,’ उनले भने ।
ट्राफिक प्रहरी कार्यालयमा राखिएका दुई वटा चारचक्के गाडी र करिब दुई दर्जन मोटरसाइकल जलेर खरानी भएका छन् ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ स्थित स्टेशन प्रहरी चौकीलाई पनि आज बिहान स्थानीयले सरसफाइ गर्दै पुनः सञ्चालनको काम थालेका छन् । चौकीका इन्चार्ज संजय तामाङका अनुसार तत्काल पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भए पनि स्थानीयले सहयोग गरेका छन् ।

पुनःनिर्माणका लागि स्थानीय मोनास्टिक स्कुलले सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले जानकारी दिए । चौकी पूर्ण रूपमा क्षतिग्रस्त भएको उनको भनाइ छ । उनका अनुसार चौकी परिसरमा रहेका करिब एक दर्जन चारचक्के गाडी र दुई दर्जन मोटरसाइकल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी तथा प्रवक्ता वरुणबहादुर सिंहका अनुसार जिल्लाभरि भएको क्षतिको यकिन विवरण अझै संकलन भइरहेकाले कति क्षति भयो भन्नेबारे ठ्याक्कै भन्न सक्ने अवस्था छैन । उनले भने, ‘आजदेखि आठ वटा प्रहरी चौकीमा इन्चार्जसहित टोली फर्किसकेका छन् । ती चौकी आजदेखि सञ्चालनमा आएका छन् ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण