बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशभर बदली, ठाउँ ठाउँमा वर्षा

आइतबार, २९ भदौ २०८२, २२ : २१
आइतबार, २९ भदौ २०८२

सारांश

  • आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँ ठाउँमा भारी वर्षा भएको छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन वर्षा हुने र यो खण्डित वर्षा हुनेछ।
  • सोमबार लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ । आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँ ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ । 

महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि बदली भने देशभर हुने तर भारी वर्षा भने खण्डित हुने जानकारी दिए । उनले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको भए पनि जलवाष्पयुक्त हावा अरब सागरबाट र बङ्गालको खाजीबाडीबाट आइरहेकाले वर्षा गराउने प्रणाली विकास भएको बताए । त्यसका साथै कतैकतै स्थानीय प्रणालीसमेत विकास भएका छन् । 

आज साँझ चितवन र नवलपुर जिल्ला आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डन्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । उक्त प्रणाली पूर्व दिशामा सर्ने क्रममा रहेको छ । पछिल्लो तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी र गोरखा कास्कीमा वर्षा भएको छ । 

अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

सोमबार देशभर बदली रही लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए ।

यही भदौ ३० गते राति कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप