आगजनीपछि चितवनका सरकारी कार्यालय : सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने
सारांश
- गत हप्ताको आन्दोलनमा चितवनका ७९ सरकारी कार्यालयमा क्षति पुगेको छ।
- क्षतिको मूल्याङ्कन गर्न टोली गठन गरिएको छ, जसमा सात सदस्यीय टोली परिचालन गरिएको छ।
- जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ, हालसम्म तीन सय जना फर्किएका छन्।
चितवन । गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालय आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएका छन् ।
उनका अनुसार तथ्याङ्क लिने काम भइरहेकाले यकिन तथ्याङ्क आउन केही समय लाग्ने छ । सो क्रममा तीन पार्टी कार्यालयमा क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
नेता, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, सञ्चारगृहमा तोडफोड र आगजनी भएका छन् । निजी घरहरूमा भएको तोडफोडको सङ्ख्या यकिन तथ्याङ्क आई नसकेको उनले जानकारी दिए । जलेर कार्यालय ध्वस्त भएका कार्यालय सरसफाइ गर्न थालिएको छ ।
ती कार्यालय परिसरमा बसेर कर्मचारीले मिल्ने जति सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले भने, ‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने गरिएको छ ।’
- कैदीबन्दी फर्किने क्रम जारी
यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी रहेको छ । हालसम्म तीन सय जना कैदीबन्दी फर्किएका छन् । १४ जना अन्य कारागारकासमेत यहाँ सम्पर्कमा आएका छन् ।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका सात सय ५० जनामध्ये ५० जना बाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये २७ महिला हुन् भने बाँकी पुरुष हुन् । कारागारमा ४६ महिला कैदीबन्दी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण