जेनजी आन्दोलन : चितवनमा ९८ संरचना ध्वस्त, एक जनाको मृत्यु
सारांश
- चितवनमा जेनजी आन्दोलनका क्रममा ९८ वटा भवनमा क्षति पुग्यो, जसमा एक जनाको मृत्यु भयो।
- प्रशासनका अनुसार, आन्दोलनका क्रममा ७९ वटा सार्वजनिक र १६ वटा निजी संरचनामा क्षति पुगेको छ।
- झडपमा एक युवकको मृत्यु भयो भने, २०० राउन्ड हवाई फायर र ३५० सेल अश्रुग्याँस प्रहार गरियो, र ७४२ कैदीबन्दी फरार भए।
चितवन । जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति पुगेको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीहरूले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी घर तथा प्रतिष्ठान र ३ वटा पार्टी कार्यालय गरी कुल ९८ वटा संरचनामा तोडफोड र आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा ७९ वटा सार्वजनिक र १६ निजी तथा ३ वटा राजनीतिक दलका भवनहरूमा क्षति पुगेको जानकारी दिएको छ । प्रशासनले प्रदर्शनको समयमा एक युवकको मृत्यु भएको जानकारी दिएको छ ।
प्रदर्शनले हिंसात्मक रूप लिँदा भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो झडपमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । जसमध्ये ४ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ ।
जेनजी आन्दोलनको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले २०० राउन्ड हवाई फायर र ३५० सेल अश्रुग्याँस प्रहार गरेको प्रशासनको विवरणमा उल्लेख छ । जिल्लामा उत्पन्न असहज स्थितिको मौका छोपी जिल्ला कारागार भरतपुरबाट सबै ७४२ जना कैदीबन्दी भागेका थिए ।
प्रशासनका अनुसार हालसम्म ३२७ जना कैदीबन्दी मात्र कारागारमा फिर्ता भएका छन् भने भागेका मध्ये ५ जनालाई रुपन्देही र तनहुँबाट पक्राउ गरिएको छ । फरार रहेका अन्य कैदीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।
घटनापछि हाल जिल्लाको जनजीवन सामान्य बन्दै गएको र सार्वजनिक यातायात तथा विद्यालयहरू पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । क्षतिको यकिन विवरण सङ्कलन गर्न समिति गठन गरी काम अगाडि बढाइएको छ र यथाशीघ्र पूर्ण विवरण सहितको श्वेतपत्र सार्वजनिक गरिने उनले बताए ।
प्रशासनले विभिन्न कार्यालय परिसरको सरसफाइ सुरु गर्नुका साथै क्षतिग्रस्त संरचनाहरूको मर्मत सम्भार र न्यूनतम सेवा प्रवाह सुचारु गर्न एकद्वार प्रणालीमार्फत विभिन्न सङ्घ संस्थासँग समन्वय गरिरहेको उनको भनाई छ । एक हप्ताभित्र सबै कार्यालयबाट न्यूनतम सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण