बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त
सारांश
- कोशी अस्पतालका तीन कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएको छ।
- बर्खास्त गरिएका कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका औषधि देखाएर भुक्तानी गर्ने जस्ता अनियमितता गरेको आरोप लागेको छ।
- मोरङका एक क्यान्सरपीडित बिरामीको उजुरीपछि छानबिन गर्दा अनियमितता पुष्टि भएपछि कर्मचारीहरूलाई बर्खास्त गरिएको हो।
विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो ।
बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन ।
ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ ।
मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए । लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झाले बताए ।
उनले भने, “हामीलाई पहिले पनि कतिपय बिरामीले बीमाको औषधि दुरुपयोगबारे गुनासो गरेका थिए, तर यसपटक लिखित उजुरी नै आयो, उजुरीमा उल्लेखित मात्र होइन, अघिपछि काटिएका बिलसमेत परीक्षण गर्दा अनियमितता पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।”
अस्पताल प्रशासनले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि छानबिन समितिको प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको उल्लेख छ ।
कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन् । ती मध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुने गरेका छन् । बीमित बिरामीमध्ये सबैभन्दा धेरै दीर्घरोगका बिरामी छन् । अस्पतालको बीमा शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार बीमित बिरामीमध्ये अधिकांश मेडिकल विभागमा उपचारका लागि पुग्ने गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२को तथ्याङ्कका अनुसार अस्पतालमा उपचार सेवा लिन आएका तीन लाख १७ हजार ७१८ बिरामीमध्ये एक लाख २३ हजार ९८३ बिरामी स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् । तीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइलगायत रोगको उपचार गर्ने बिरामी धेरै छन् ।
मेडिसिन विभाग प्रमुख डा दीपक सिग्देलका अनुसार हाल सबैभन्दा बढी देखिने उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मस्तिष्कसम्बन्धी समस्या रहेका छन् । उनले भने, “पहिलेका दिनमा पाको उमेरका मानिसलाई मात्र हुने यो रोग अहिले युवापुस्तामा पनि देखिन थालेका छन् । लामो समयसम्म औषधि खानुपर्ने रोग बढ्दै गएकाले बीमा सेवा लिनेको चाप दिनानुदिन बढिरहेको छ ।”
हाडजोर्नी रोगसम्बन्धी विभाग, स्त्री तथा प्रसूति विभाग, नाक कान घाँटी, स्नायु रोग, छाला तथा अन्य विभागमा पनि बीमित बिरामीको चाप बढ्दो छ । स्वास्थ्य सरोकारवालाका अनुसार बीमित बिरामी र दीर्घरोगीहरूको सङ्ख्या बढ्दै गएकाले औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउनुपर्ने आवश्यकता झनै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण