दुबईमा अलपत्र आफ्ना नागरिक लिएर फर्किए वडाध्यक्ष थापा
सारांश
- पोखरा २६ का वडाध्यक्षले दुबईमा अलपत्र परेका एक नेपाली नागरिकलाई उद्धार गरेका छन्।
- कम्पनीले निकालेपछि अलपत्र परेका ती नागरिकलाई वडाध्यक्षले नेपाल फर्काएका हुन्।
- उद्धार गरिएका व्यक्तिलाई नेपाल फर्काउन वडाध्यक्षले आर्थिक सहयोग समेत गरेका थिए।
पोखरा । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले दुबईमा अलपत्र आफ्ना वडाका नागरिक अमृत रानाभाटको उद्धार गरेका छन् ।
रानाभाट दुई वर्षअघि कामको सिलसिलामा दुबई पुगेका थिए । तर कम्पनीले उनलाई बिचैमा निकालिदिएपछि पछिल्लो पाँच महिनादेखि अलपत्र थिए । केही समयअघि रानाभाट अलपत्र परेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वडाध्यक्ष थापाले उनलाई खोज्न संयन्त्र परिचालन गरे, दुईदिनसम्म खोजेपछि रानाभाट सोनापुरमा भेटिएका हुन् ।
भिसाको म्यादसमेत सकिएका उनलाई तत्कालै नेपाल फर्काउन थापाले प्रक्रिया सुरु गरे । उनलाई आउटपास बनाएर नेपाल फिर्ता ल्याइएको हो । ‘अमृत भाइ खाडीको चर्को गर्मीमा कैयन् दिन र रात खुला आकाशको सडकमा भोकभोकै अलपत्र परेको खबर सामाजिक सञ्जालमार्फत जानकारी आयो,’ उनले भने, ‘तुरुन्तै साथीहरूलाई भनेर उनको खोजीमा खटायौँ । अहिले भाइ नेपाल आएर परिवारमा पुनर्मिलन भैसकेका छन् ।’
रानाभाटलाई मंगलबार पोखरा ल्याएर परिवारको जिम्मा लगाइएको छ ।
‘भाइ आएपछि परिवारको आँसु पुछिएको छ । घरमा खुसीको सीमा छैन,’ वडाध्यक्ष थापा भन्छन्, ‘साँच्चिकै जनताको प्रतिनिधि भई कर्तव्य पूरा गर्न पाएको महसुस गरेको छु ।’ रानाभाटलाई दुबईदेखि नेपालसम्म ल्याइपुर्याउन लाग्ने खर्च थापाकै पहलमा संकलन गरिएको हो । अलपत्र अवस्थामै खोजेर घरसम्म ल्याइदिएकोमा वडाध्यक्षलाई रानाभाटले धन्यवाद दिएका छन् । ‘म अलपत्र थिएँ, भाइ कहाँ छ भनेर राति खोज्दै आउनुभयो । त्यहाँबाट दुबईमा पाँच दिन राखेर काठमाडौँ ल्याउनुभयो । आज परिवार भेट्न पाएँ । साह्रै खुसी छु,’ उनले भने ।
_3n5CEHoqIa.jpg)
उनका परिवार पनि हराएको छोरो पाउँदा खुसी छन् ।
वडाध्यक्षले अनुशासित भएर काम गर्न रानाभाटलाई सुझाए । परिवारसँग मिलेर जीवनयापन गर्न उनको आग्रह छ । ‘भाइ आउनुभयो राम्रो कुरा हो, तर अब आफ्नो जीवनयापन राम्रोसँग गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले व्यक्तिगत रुपमा गर्न सक्ने सहयोग निरन्तर गर्छु । उनलाई नेपालमै रहन सक्ने वातावरण बनाउँछु ।’
अमृत सुरुमा जिप्सन बोर्ड हेल्परका लागि यूएई पुगेका थिए । कम्पनीले तोकेअनुसार (११०० दिराम) समेत नदिएपछि उनले कम्पनी परिवर्तन गरेर झुमर टेक्निकल सर्भिसमा काम गर्न थाले । त्यहाँ पनि तोकिएको तलब पाएनन् । त्यसपछि ३४ वर्षका रानाभाट कम्पनी छोडेर पाँच महिनादेखि कामको लागि भौँतारिन थालेका हुन् ।
उनी झण्डै १ लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट यूइएई पुगेका हुन् ।
उनलाई नेपाल फर्काउन युएईमा कास्की आदर्श समाज युएईले पनि आर्थिक सहयोग र संस्थागत समन्वयकारी भूमिका निर्वाह गरेको थियो । समाजका अध्यक्ष शिवराज बस्ताकोटीले समाजको तर्फबाट सक्दो पहल गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण