प्रचण्ड नै समस्या, प्रचण्ड नै समाधान
सारांश
- माओवादी शान्ति प्रक्रियापछि गल्तीहरूले देशको अवस्था बिगारेको बताइएको छ।
- केपी ओलीको कार्यशैली र भूराजनीतिक खेलबाडले वर्तमान संकट निम्त्याएको कुरा उल्लेख छ।
- प्रचण्डले आत्मालोचना गर्दै गणतन्त्रलाई समाजवाद उन्मुख बनाउनुपर्ने र एकताबद्ध भएर अघि बढ्नुपर्ने कुरा बताइएको छ।
आजको राजनीतिक अस्थिरताको बिउ माओवादी शान्ति प्रक्रियामा आएलगत्तै रोपिएको थियो । चुनबाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको बाटोमा आइसकेपछि पार्टीले पाँचवटा गम्भीर गल्ती गरेको छ । हामीले मार्क्सवादी स्कुलिङलाई निरन्तरता दिएनौं, लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा नेतृत्वबिच समझदारी बनाउन सकेनौं, कार्यकर्ता व्यवस्थापनको संस्थागत नीति ल्याएनौं, पार्टीको हैसियत दुरुपयोग गरी सम्पत्ति थुपार्नेलाई छुट दियौं र नातावाद–कृपावादलाई प्राथमिकता दियौं । यदि हामीले त्यतिबेलै यी गल्तीहरू सच्याएको भए देशको अवस्था आज यस्तो हुने थिएन ।
यी सैद्धान्तिक र व्यावहारिक विचलनकै कारण पहिलो संविधानसभा विघटन भएको र वाम विसर्जनको दुःखद अध्याय सुरु भयो । कांग्रेस–एमाले खराब भनेर हामीले त्यत्रो रगत बगायौं, तर सत्तामा पुगेपछि हामीले पनि जनअपेक्षा पूरा गर्न सकेनौं । त्यसैले यो देशमा जे भइरहेको छ, यसको मुख्य जिम्मेवार माओवादीहरू नै हुन् ।
ऐतिहासिक गल्तीहरूले थिलथिलो पारेको राजनीतिक धरातलमा हालको संकटको आगो सल्काउने काम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उद्दण्ड कार्यशैली र भूराजनीतिक खेलबाडले गरेको हो । ओलीको कार्यशैली कस्तो थियो, त्यो जगजाहेर छ । तर उनले भूराजनीतिक मामिलामा गम्भीर गल्ती गरे । लिपुलेकजस्तो संवेदनशील द्विपक्षीय मुद्दामा चीनलाई अनावश्यक रुपमा मुछ्नेदेखि अमेरिका र चीन दुवैलाई सशंकित बनाउने खालका गतिविधिले अन्तर्राष्ट्रिय शक्तिहरूलाई नेपालमा खेल्ने मौका दिइयो । यसले भित्रभित्रै असन्तुष्टि बढाएको थियो, जसको विस्फोट अहिले युवा आन्दोलनको रुपमा देखियो ।
अबको समाधान के भन्ने विषयमा पनि चर्चा परिचर्चा भइरहेको छ । एमालेसँग पार्टी एकता गरेर प्रचण्डले ठुलो गल्ती गरे । मैले त्यतिबेलै पार्टी बुझाउनुहुन्न भनेको थिएँ । तर आजको नेतृत्व संकटको घडीमा देशलाई सम्हाल्न सक्ने क्षमता प्रचण्डसँग मात्रै छ । यसका लागि गिरिजाप्रसाद कोइरालाको विगत हेर्नुपर्छ । हामीले ‘हत्यारा गिरिजा’ भनेर नारा लगायौं, तर जब राजाले ‘कु’ गरे, उनी नै गणतन्त्रको सबैभन्दा ठुलो हिमायती बने र हामीले उनलाई नेता मान्यौं । मान्छे बदलिन चाहयो भने बदलिन्छ ।
अहिले देशमा नेतृत्वको खडेरी छ । यस्तो बेला प्रचण्डले दृढतापूर्वक आत्मालोचना गर्ने, विगतका गल्तीका लागि क्षमायाचना गर्ने र साँचो अर्थमा गणतन्त्रलाई समाजवाद उन्मुख बनाउने प्रतिबद्धता जनाउनुपर्छ । उनले यो गर्न सक्छन् ।
माओवादीभित्र पुस्तान्तरणको बहस पनि चलिरहेको छ । तर यो कुरा अहिलेको संकटमा असान्दर्भिक छ । संकटको बेला नेतृत्व परिवर्तन गर्दा झन् ठूलो दुर्घटना हुनसक्छ । अहिले प्रचण्डलाई विस्थापित गरेर देश सम्हाल्न सकिँदैन ।
अब दुईवटा बाटा छन् । पहिलो, देशभक्त, प्रगतिशील, समाजवादी र पहिचानवादी शक्तिहरूबीच एक बृहत मोर्चा निर्माण गर्नुपर्छ । दोस्रो, घोषित निर्वाचनमा एकताबद्ध भएर होमिनुपर्छ । संविधान र सार्वभौमिकतामाथि नै खतरा बढेको छ । यसलाई बचाउन हामी सबै एक ठाउँमा उभिनुको विकल्प छैन । एकपटकका लागि प्रचण्डलाई विश्वास गर्नुपर्छ र उनले पनि देशलाई धोका दिनुहुँदैन ।
यदि यसो हुन सकेन भने निर्वाचनपछि देश झन् ठुलो संकटमा फस्नेछ र हाम्रो सार्वभौमिकता समाप्त हुने जोखिम छ । अन्ततः माओवादीले आफ्ना विगतका पाप पखाल्दै, वर्तमान चुनौतीहरूको सामना गर्न एक रुपान्तरित र सुदृढ नेतृत्वसहित अगाडि बढ्नुपर्छ, जसको बागडोर हाललाई प्रचण्डकै हातमा हुनु सही हुन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण