भाइबहिनी आमा हेरी रोइरहेछन्
आमाको हाड छाला मात्र बाँकी रहँदासम्म पनि
लुछिरहने परजीवी पुस्तालाई
लखेट्न भन्दै झम्टियो जेनजीले
अहंकारको सिकन्जामा कस्सिएको घोडा चढ्दै
तानाशाह उपियाँ सरी भाग्यो उफ्रेर
प्रहार आमाको शिरमा लाग्यो झुक्केर
आमा बेहोस बनिन् ।
सबै दौडिए लखेट्दै परजीवीलाई
दुष्ट अज्ञानीले भाइबहिनी भनेन
नयाँपुस्ताको बिन्ती सुनेन
दम्भले गोली बर्साउँदै भाग्यो
कोही ढले सदाको लागि
कोही फर्किए आमाको लागि ।
दाउ हेरेर बसेका दैत्यहरु सलबलाए
सन्तान हौं भन्दै झुटा कवजमा चलमलाए
कसैले शिर जलाए
कसैले छाला काढे
कसैले हड्डी फोडे
कसैले मासु लुछे आमाको
आमा पूर्ण बेहोस बनिन् ।
बेलाबेला बेहोसीमै बर्बराउँछिन्
पटमुर्खै भए पनि सन्तानको माया आमालाई
जेठो खोइ भनी भुन्भुनाउँछिन्
आमाको बचाउ गर्दा बाटोमै ढालिएका
सन्ततिको नाम बोल्नै सक्दिनन्
पहिलो अक्षर उच्चारण गरेपछि
मुख खोल्नै सक्दिनन्
बर्बरी आँसु बर्साउँछिन्
घुटुक्क बाडुल्की लाग्छ अनि
पुनः अचेत हुँदै मौनतामा हराउँछिन् ।
दाह्रे कमिलाहरु सलबलाउँदै छन्
चोक्टा बोक्न पाइन्छ कि भन्दै
हुँडारहरु किलकिलाउँदैछन्
सिङ्गै लुछ्न पाइन्छ कि भन्दै
गिद्धहरु फन्को मार्दैछन्
रक्तछिटा परेको ठान्दै ।
हो, घरभित्रैका दोधारे नारदहरु पनि
एकतारे बजाउँदै दौडिरहेछन्
शून्यताको सन्देश सुनाउँदै
आशिर्वादको पगरी गुथ्ने उत्कण्ठा बोकेर
झिङ्गाहरु दुई हातले शिर मुसार्दैछन्
मेरी आमा कुहिएर गन्हाउने हेक्का ठोकेर
धिमा श्वास मात्रै चलेको छ
अचेत शरीर ढलेको छ
थोरै तातोजस्तो छ
अरु सबै ध्वस्त छ ।
भाइबहिनी आमा हेरी रोइरहेछन्
आँखाहरु आँसुले धोइरहेछन्
एक आँखामा रगत बगिरहेछ
आँखै अगाडि ढालिएका दाजुभाइको
अर्को आँखामा वेदना बगिरहेछ
वीभत्स रुपमा लडिरहेकी आमाको ।
ओहो ! कस्तो शून्यता
नितान्त निरवता
बोलुँ बोल्नै नसकिने
हिडुँ चल्नै नसकिने
रोउँ आँसु आउँदैन
हासुँ हाँसो आउँदैन
जाउँ म कहाँ यतिबेला ?
मागुँ न्याय, न्यायलय छैन
खोजुँ सुरक्षा, सुरक्षालय छैन
गरुँ निवेदन, कार्यालय छैन
न टेक्ने जमिन छ
न त समात्ने हाङ्गो नै
न शिर छ, न फेद
न जग छ, न छानो नै
बिल्कुल खोक्रो
बेलुन फुटे सरी
अकस्मात् भूकम्प गएजस्तो
सिसाको पर्दा चकनाचुर भएजस्तो ।
यता हेर्यो रगतको भेल छ
उता हेर्यो शत्रुको खेल छ
एकातिर देश जलेको खरानी छ
अर्कोतिर इतिहास ढलेको निशानी छ
भाइ र बहिनीमा अकर्मण्यता छ
मभित्र स्तब्धता र मौनता छ
के उठ्न सक्छिन् त हाम्री आमा फेरि बिउँझेर ?
के हिँड्न सक्छिन् त जननी फेरि उठेर ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण