शुक्लाफाँटामा लम्पी स्किन रोग सङ्क्रमण पुष्टि
सारांश
- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
- पशु चिकित्सकका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि देखिएको यो रोग हाल पहिलो पटक फेरि देखा परेको हो।
- रोग नियन्त्रणका लागि खोप लगाउनुपर्ने र संक्रमित पशुलाई अन्य पशुबाट अलग राख्नुपर्ने बताइएको छ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।
गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरेको हो । सङ्कलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । नमुनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए ।
जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो । त्यसयता हालसम्म यो पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो । हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन ।
“कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ”, उनले भने, “गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुनः देखापरेको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “विसं २०८० मा देशभर झन्डै १३ लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका थिए भने करिब ५० हजार पशुको मृत्यु भएको थियो ।”
सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत विसं २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ ।
“लम्पी स्किन रोग देखिएको पशुलाई तुरुन्त अलग राख्नुपर्छ”, उनले भने, “गोठ वरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ, कीरा, लामखुट्टेजस्ता रोग सार्नेवाहक नियन्त्रण गर्नुपर्छ, सङ्क्रमित पशुलाई छुनु वा गोठमा पस्दा सावधानी अपनाउनुपर्छ ।”
उनका अनुसार यो रोग लागेमा गाईभैँसीमा विशेष गरी शरीरभरि गाँठी (ठुला दाना) उठ्ने, आँखा वरिपरि, नाक र मुखमा फोका देखिन उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट वा बढी), शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा निकाल्ने, सिङ्गान बग्ने, फिँज धेरै निकाल्ने तथा लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिन्छन् ।
शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो । त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुनः रोग देखिएको हो । “किसानलाई सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाँध्न सचेत गराएका छौँ”, उनले भने, “सङ्क्रमित गाईलाई अलग राख्ने सल्लाह दिएका छौँ, सचेतना फैलाउने कार्य गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण