‘किताबबारे सोधिरहँदा दिक्क मानेर होला दिल्ली विश्वविद्यालयले मेलको उत्तर दिनै छाड्यो’
सारांश
- कवि निमेष निखिलसँगको कुराकानीमा उनको लेखन यात्रा, पढ्ने बानी र पुस्तकप्रतिको धारणाबारे चर्चा गरिएको छ।
- निखिलले आफूले पढेका महत्त्वपूर्ण पुस्तकहरू र नेपाली पठन संस्कृतिको अवस्थाबारे आफ्नो विचार व्यक्त गरेका छन्।
- उनले पछिल्लो समय पढेको पुस्तक, व्यक्तिगत लाइब्रेरी र आगामी योजनाबारे जानकारी दिए।
निमेष निखिल (जन्म : २०३२) चालिसको उत्तरार्द्धदेखि लेखनमा सक्रिय रहे पनि २०५२ बाट प्रकाशनमा आएका हुन् । नेपालीमा एमए/एमएड तथा ‘गणतन्त्रपछिका नेपाली गद्य कवितामा वक्रोक्ति’ विषयमा विद्यावारिधि तहको अध्ययन पूरा गरेका उनका ‘मनहरूको परिसर’ (२०६५), ‘उमेरको नदी’ (२०७०) र ‘शोकगीतको पोस्टमार्टम’ (२०७१) कविता सङ्ग्रह प्रकाशित छन् ।
युवावर्ष मोती पुरस्कार– २०७२ लगायत डेढ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका निखिल मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् । उनै कविलाई यसपालि हामीले रातोपाटीको नियमित स्तम्भ ‘किताबका कुरा’मा निम्त्याएका छौँ ।
- यहाँले दिनमा कति समय पढ्नुहुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
यति समय पढ्छु भन्ने समय तालिका नै त छैन । राम्रो किताब भेटेँ भने अबेर रातिसम्म पढ्छु, कामधन्दै थाती राखेर पनि पढ्छु । किताबले तानेन भने जबर्जस्ती पढ्दिनँ । किताबका मामलामा म अलि चुजी छु जस्तो लाग्छ । खासगरी दिउँसो, बेलुका र राति समय मिलाएर पढ्छु ।
- यहाँले हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ, त्यो पुस्तक ?
म झन्डै ५/६ वर्षदेखि विद्यावारिधिको अध्ययनमा थिएँ । त्यसैले यसबिचमा मैले कविताबाहेक खासै अन्य किताब पढिनँ वा पढ्न भ्याइनँ भन्दा पनि हुन्छ । कोरोनाकाल लगभग हिन्दी कविताहरूको अनुवादमा व्यय भयो । त्यसैले मैले पढ्नुपर्ने किताबहरूको लामो सूची छ । तथापि पछिल्लो समय मैले पढेको किताब कवि तथा गीतकार दिनेश अधिकारी दाइको ‘पानीको परेड’ हो । उहाँका कवितामा विम्ब, प्रतीक र उक्ति वैचिर्त्यको सुन्दरतम नमुना पाउँछु म । कविता लेख्ने, पढ्ने र मन पराउने सबैले पढ्नुपर्ने गज्जबको पुस्तक यो ।
- तपाईंका लागि किताब के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?
मेरा लागि किताब ज्ञानको स्रोत त हुँदै हो, एकान्तको प्रियतम साथी पनि हो । ‘गुणरत्नमाला’ मैले जीवनमा पढेको पाठ्यपुस्तकइतर पहिलो किताब हो । बाल्यकालमा मलाई यो पुस्तक लगभग कण्ठै थियो । विद्यालयकालमै युधीर थापा, प्रकाश कोविद लगायतका प्रेमिल र रुमानी किताब पढेँ । लगत्तै वेदप्रकाश शर्मा लगायत हिन्दी सस्पेन्स उपन्यास पढ्न थालियो । २०४७/०४८ तिर हरिवन सर्लाहीको एउटा किताब पसलका सबै किताब पढिसकेको सम्झँदा रोमाञ्चित हुन्छु । त्यति बेला महिनाको १० वा १५ रुपैयाँ दिएर भाडामा किताब पढ्न पाइन्थ्यो । पछि कक्षा १२ मा मूल विषय नेपाली लिएर पढ्न थालेपछि गम्भीर साहित्यतर्फ झुकाव बढेको हो ।
पछिल्लो समय मैले पढेको किताब कवि तथा गीतकार दिनेश अधिकारी दाइको ‘पानीको परेड’ हो । उहाँका कवितामा विम्ब, प्रतीक र उक्ति वैचिर्त्यको सुन्दरतम नमुना पाउँछु म । कविता लेख्ने, पढ्ने र मन पराउने सबैले पढ्नुपर्ने गज्जबको पुस्तक यो ।
- तपाईंको व्यक्तिगत लाइब्रेरीमा कति किताब छन् ? कुन विधाका पुस्तक बढी छन् र किताब किन्नका लागि कति खर्च गर्नुहुन्छ ?
म कक्षा ११/१२ पढ्दादेखि नै किताब किन्न र सङ्कलन गर्न रुचि राख्थेँ । मेरा धेरै किताब धमिराले खाए, धेरै साथीभाइले लगेर बेपत्ता पारे । अझै पनि तीन हजारजति किताब होलान् भन्ने लाग्छ ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न चाउनुहुन्छ, किन ?
रुचि आख्यान र गैरआख्यान दुवैमा भए पनि तपाईंको प्रश्नमा घोत्लिँदा मैले जीवनमा सबैभन्दा बढी कविता र त्यसपछि आख्यान पढेको रहेछु भन्ने थाहा पाएँ । म आफू पनि कविता लेख्न रुचाउने मानिस हुँ । मेरा तीनवटै किताब पनि कविताकै हुन् र मेरो विद्यावारिधिको विषय पनि कविता नै रह्यो । त्यसैले पनि कविता नै बढी पढिएछ क्यार ।
_p2KMjT28GO.jpg)
- नेपाली लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुन सम्झनुहुन्छ ? यी किताबमा त्यस्तो के छ, जसकारण तपाईंलाई मन पर्यो ?
यो गाह्रो प्रश्न हो तर पनि म उत्तर दिन्छु— महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’, पारिजातको ‘शिरीषको फूल’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र मदनमणि दीक्षितको ‘माधवी’ । यी पुस्तकले उठाएका विषयवस्तु, यिनको प्रस्तुति शिल्प, यिनमा विद्यमान सार्वजनीन र सार्वकालिक चेतना बेजोड लाग्छ मलाई ।
- विदेशी लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुन सम्झनुहुन्छ ? यी किताबमा त्यस्तो के छ, जसकारण तपाईंलाई मन पर्यो ?
मैले त्यति धेरै विदेशी किताब पढेको छैन । पढेका मध्ये पाँच पुस्तक हुन्— म्याक्सिम गोर्कीको ‘आमा’, गाब्रियल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ डेथ फोरटोल्ड’, भगवतीचरण वर्माको ‘चित्रलेखा’, सर्वेश्वरदयाल सक्सेनाको ‘कुआनो नदी’ र धूमिलको ‘संसद् से सडक तक’ । यी सबै किताब हामी सामान्य पाठकको चेतनाभन्दा उच्चकोटिका लाग्छन् मलाई । त्यसैले मन पर्छन् ।
- जीवनमा तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ? तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका छन् कि ? कुनै रमाइलो घटना बताइदिनु न ।
चोरेकै त नभनुँ होला । मोहनराज शर्माको ‘शैलीविज्ञान’ कोर्समा रेफरेन्स बुकमा थियो । म स्नातक पढ्दै थिएँ । पाठ्यक्रम हेरेर पाठ्यपुस्तक र सन्दर्भ पुस्तकको सूचीमा रहेका सबै किताब पाएसम्म किन्थेँ । यो किताब बजारमा थिएन । मैले हेटौँडाको पुष्पलाल पुस्तकालयमा यो किताब भेटेँ । नियमानुसार सदस्य बनेर किताब लगेँ । पछि ‘हरायो, कति पैसा तिर्नुपर्छ’ भनेर ढाँटेँ । पुस्तकालयमा साथीकी दिदी हुनुहुन्थ्यो । उहाँले ‘भैगो, विद्यार्थीसँग के पैसा लिनु’ भन्नुभयो । समय क्रममा पछि म आफैँ त्यो पुस्तकालयको प्रमुख पनि बनेँ ।
- आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको पुस्तक कुनै थियो कि ? थियो भने कसरी प्राप्त गर्नुभयो ?
कमला दासको ‘मेरी कहानी’ धेरै खोजी गरेपछि दोस्रोपटक बनारस जाँदा संयोगले फेला पारेँ । मेरो विद्यावारिधिको मूल किताब ‘हिन्दी वक्रोक्तिजीवित’ (व्याख्याकार आचार्य विश्वेश्वर तथा सम्पादक डा. नगेन्द्र) अझैसम्म फेला पार्न नसकेको किताब हो । यसको पीडीएफ र प्रिन्ट मसँग छ तर मूल किताब छैन । विगत दुई वर्षदेखि दिल्ली विश्वविद्यालयको हिन्दी माध्यम कार्यान्वयन निर्देशालयलाई यसको रिप्रिन्ट कहिले हुन्छ भनेर सोधिरहेको छु । दिक्क भएर होला— अब त मेलमा उत्तर लेख्न पनि छाडिसकेका छन् ।
- यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन हो ? त्यसबाट के पाउनुभयो ?
महाभारत । यो वेदव्यासरचित संसारकै प्राचीन र विशालकाय महाकाव्य हो । एक लाख श्लोक रहेको यस ग्रन्थमा धर्म, दर्शन, राजनीति, समाज, युद्धकला र संस्कार विषयक गहन विवेचना छ । यसको मुख्य कथा कौरव र पाण्डवबिच अठार दिनसम्म चलेको कुरुक्षेत्रको युद्ध भए पनि यो यसैमा मात्र केन्द्रित छैन । यसका विभिन्न प्रसङ्ग र आख्यान–उपाख्यानहरूले मानव जीवनका गहिरा संवेदनाहरूलाई उजागर गरेका छन् ।
महाभारतकै एक अङ्ग ‘श्रीमद्भगवद्गीता’मा अर्जुनलाई भगवान् कृष्णले जीवन, कर्म, धर्म र कर्तव्यबारे दिएको उपदेशलाई आज पनि जीवन दर्शनको अमूल्य मार्गदर्शनका रूपमा लिइन्छ । जीवनलाई सही दिशामा अघि बढाउन आवश्यक मूल्य र शिक्षा दिने यस ग्रन्थले सत्य–असत्य, न्याय–अन्याय, धर्म–अधर्म के हो भन्ने कुरा मानिसलाई सिकाउँछ । यसले मानव स्वभावका विभिन्न आयाम (जस्तै ः प्रेम, श्रद्धा, त्याग, ईष्र्या, लोभ, क्रोध आदि) को गहिरो विश्लेषण गर्छ । त्यसैले महाभारत केवल युद्धकथा मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र दार्शनिक ग्रन्थका रूपमा पनि अध्ययन गर्नुपर्ने कृति हो ।
- तपाईंको सोचलाई नै बदल्न सफल कुनै पुस्तक छन् कि ?
महाभारत ।
‘शैली विज्ञान’ हेटौँडाको पुष्पलाल पुस्तकालयमा भेटेँ । नियमानुसार सदस्य बनेर किताब लगेँ । पछि ‘हरायो, कति पैसा तिर्नुपर्छ’ भनेर ढाँटेँ । पुस्तकालयमा साथीकी दिदी हुनुहुन्थ्यो । उहाँले ‘भैगो, विद्यार्थीसँग के पैसा लिनु’ भन्नुभयो ।
- यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?
मलाई लेख्न मेरा व्यक्तिगत अनुभव र सामाजिक यथार्थले प्रेरित गर्छन् । लेखन मेरा लागि केवल शब्दजाल होइन, जीवनका विविध अनुभूतिलाई वैचारिकतासहित चित्रित गर्ने माध्यम हो । मैले लेख्नु भनेको आफ्ना खुसी, पीडा, प्रेम, सङ्घर्ष र समाजका अन्य जटिल अवस्थालाई शब्दमा रूपान्तरण गर्नु हो जस्तो मलाई लाग्छ । आफ्नो लेखनमार्फत म पाठकसँग, समाजसँग भावनात्मक सम्बन्ध बनाउँछु, संवाद र तर्कवितर्क गर्छु । लेखनबाट मेरा भावना मनोसंसारबाट बाहिर आउँछन् र पाठकसँग साक्षात्कार गर्छन् । त्यसैले लेखन मेरा लागि चेतना, संवेदना, सिर्जनशीलता र अविरल यात्रा हो ।
- नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले आजको पुस्ता पठन संस्कृतिबाट टाढिएको छ । आज पुस्तकालयहरू सुनसान छन् । युवा विद्यार्थीको सर्वाधिक समय डिजिटल स्क्रिनमा बित्न थालेको छ । यो डिजिटल व्यसन दिनानुदिन बढ्दै गएको छ । आजको पिँढीलाई पुस्तकतिर फर्काउने एउटा ठुलो क्रान्तिको आवश्यकता देख्छु म । कतिसम्म भने आज स्नातक र स्नातकोत्तर अध्ययन गर्ने साहित्यका विद्यार्थीले समेत पाठ्यक्रममा समावेश भएका साहित्यिक कृति पढ्ने गरेका छैनन् । गेसपेपर र शिक्षाका नोटका आधारमा परीक्षा पास गरिरहेका छन् । यो केही हदसम्म आफ्नै व्यक्तिगत अनुभव पनि हो । यो निराशाबिच पनि केही आशाका पिलपिले जुनकीरी भने नभएका होइनन् है ।
- यहाँको पछिल्लो कृति ‘शोकगीतको पोस्टमार्टम’मा पाठक तथा समीक्षकबाट के कस्ता प्रतिक्रिया पाउनुभयो ?
‘शोकगीतको पोस्टमार्टम’ मेरो २०७२ सालमा छापिएको कविता सङ्ग्रह हो । स्थानीय प्रकाशकले अभिरुचिका साथ छापे पनि यस किताबको मार्केटिङ हुँदै भएन । व्यक्तिगत हिसाबले जति वितरण गर्न सकियो, त्यसबाट सकारात्मक प्रतिक्रिया पाएको छु । धेरैले खै नयाँ कविता भनेर खोजी गर्छन् । यो खोजी त्यही सङ्ग्रहको विश्वासले भएको हो भन्ने मलाई लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण