पुरुषोत्तमले आईएमलाई हराए, जिएमसँग हारे
सारांश
- क्याल्मिकियामा जारी बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।
- पुरुषोत्तम सिलवाल हंगेरियन खेलाडीसँग पराजित भए भने, सिलवालले यसअघि थाइल्यान्ड र फिलिपिन्सका खेलाडीलाई हराएका थिए।
- प्रतियोगितामा नेपाली महिला खेलाडी सिन्दिरा जोशी र शैलेन्द्र न्यौपानेले पनि राम्रो प्रदर्शन गरे।
काठमाडौँ । रसियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।
‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको तेस्रो चरणमा भने नेपालका पुरुषोत्तम सिलवाल शीर्ष वरियताका हंगेरियन २५५० रेटेड खेलाडी ग्रायण्ड मास्टर स्जुजिरोभ सननसँग कालोगोटीबाट खेल्दै हार ब्यहोरेका छन्।
२१९८ रेटेड सिएम सिलवालले यसअघि पहिलो र दोस्रो चरणमा जीत दर्ता गर्दै क्रमशः थाइल्यान्डका १७०२ रेटेड नात्रादा काइववात्था तथा फिलिपिन्सका २४२३ रेटेड आईएम नाभा रोडेरिकलाई पराजित गरेका थिए।
प्रथम बौद्ध राष्ट्रहरूबिच आमन्त्रित चेस प्रतियोगितामा एमेच्योर शैलेन्द्र न्यौपानेले फिलिपिन्सका खेलाडी नाभा रोमेलिनमाथि जित, रसियन खेलाडी इर्गित अरिनासँग हार र थाइल्यान्डका नात्रादालाई पराजित गरेका छन्।
काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रीय चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित प्रतिस्पर्धामा नेपाली महिला खेलाडी सिन्दिरा जोशीले पनि सन्तोषजनक खेल प्रदर्शन गरेकी छिन्।
१६३९ रेटेड जोशीले शुरुमा थाइल्यान्डका २२०० रेटेड एफएम कुलप्रोए थानोन सित हार बेहोरिन् । लगत्तै दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो खेलमा थान्त हेनलाई हराइन्।
नेपाली टोलीले ६ अंक जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा उभिन सफल भएका छन्। प्रतिस्पर्धामा पुरुषोत्तमले २२२५, सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स गरि समान २-२ अंक बनाएर खेललाई जारी राखेका छन्।
१० हजार युएस डलर पुरस्कार रहेको प्रतिस्पर्धा अन्तर्गत चौथो चरणमा तिनै जना नेपालीले प्रतिद्वन्द्वी रूपमा रुसका खेलाडीहरूसँग खेल्नेछन्।
जहाँ छैटौँ बोर्डमा सिन्दिराले क्याल्मेकियाका २३०९ रेटेड उत्नासुनोभ अलेक्जेन्डर, सातौं बोर्डमा शैलेन्द्रले टाइभाका २२७९ रेटेड एफएम छ्याङदिगर तामेरियन र आठौँ बोर्डमा पुरुषोत्तमले बुर्याटियाका २०२२ रेटेड डब्लू एफएम कोमिस्रोभा सोइगिनासँग जीतका लागि प्रयास गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण