बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

पार्किङ क्षेत्रमा बसेर निजगढ नगरपालिकाले थाल्यो काम

चालु आर्थिक वर्षको विकास बजेट प्रभावित हुने
सोमबार, ०६ असोज २०८२, ०५ : ५१
सोमबार, ०६ असोज २०८२

सारांश

  • निजगढ नगरपालिकामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुर्‍यायो, तर नगरपालिकाले अत्यावश्यक सेवाहरू सुरु गरेको छ।
  • आगजनीका कारण स्वास्थ्य शाखामा सबैभन्दा धेरै क्षति पुगेको छ, जसमा औषधि र स्वास्थ्य सामग्री नष्ट भएका छन्, जसले गर्दा औषधि अभाव हुने सम्भावना बढेको छ।
  • क्षतिग्रस्त भवनका कारण विकास बजेट प्रभावित हुने देखिएको छ, र नगरपालिकाले पुनर्निर्माणका लागि बजेट छुट्याउनुपर्ने अवस्था छ।

बारा । जेनजी आन्दोलनका क्रममा निजगढ नगरपालिकाको कार्यालयमा ठुलो क्षति भयो । यसका बाबजुद नगरपालिकाले जनतालाई अत्यावश्यक सेवा उपलब्ध गराउन थालेको छ ।

कार्यालय भवन क्षतिग्रस्त भएपछि नगरपालिकाले पार्किङ क्षेत्रमा बसेर अत्यावश्यक सेवा सुरु गरेको हो ।

nijgadh nagarpalika (1)

भदौ २३ गते नगरपालिकाको शिक्षा, स्वास्थ्य, आर्थिक प्रशासन, कृषि, राजस्व, महिला तथा बालबालिका, सामाजिक विकास शाखामा आगजनी र तोडफोड भएको थियो ।

आगजनी र तोडफोडपछि गत बिहीबार कर्मचारी र जनप्रतिनिधिले कार्यालय परिसर सरसफाइ गरेर शुक्रबारदेखि पार्किङस्थलमा टेबलकुर्सी राखेर सामान्य सेवा सुरु गरेका हुन् ।

nijgadh nagarpalika (6)

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले भएकै सामानबाट नियमित, मितव्ययी र कम खर्चमा प्रभावकारी ढङ्गले सेवा सुरु गर्ने  बताए ।

अर्यालले भने, ‘आगजनीले धेरै वर्ष पुराना अभिलेख, शाखाका फाइल, फर्निचर, कम्प्युटर, ल्यापटप लगायत सबै जलेर खरानी भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, राजस्व, आर्थिक प्रशासन शाखाभित्रै आगजनी भएकाले केही पनि बाँकी छैन ।’

२०७४ को निर्वाचनपछि तत्कालीन नगरप्रमुख सुरेश खनालको कार्यकालमा निर्माण भएको २ तले नगरपालिका भवन बारा जिल्लाका १६ पालिकाकै प्रशासनिक भवनमध्ये नमुना मानिएको थियो ।

nijgadh nagarpalika (8)

आगजनी र तोडफोडले भवनको अधिकांश संरचनामा क्षति पुगेपछि प्राविधिक मूल्याङ्कनविना कुनै कोठामा बस्न सक्ने अवस्था नभएको कर्मचारी बताउँछन् ।

‘२० औँ वर्ष पुराना अभिलेख तथा कागजपत्र खोजी–खोजी जलाइएको देखिन्छ । कसले कुन उद्देश्यले आगजनी गरेको भन्ने प्रस्ट छैन,’ अर्यालले भने । अत्यावश्यक सेवा सुरु गरे पनि अन्य सेवा कसरी सुरु गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

nijgadh nagarpalika (5)

जेनजी आन्दोलनका क्रममा बाराको १६ वटा पालिकामध्ये विश्रामपुर गाउँपालिका र निजगढ नगरपालिकामा सबैभन्दा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।

आन्दोलनमा निजगढ नगरपालिकाको १३ वटा वडा कार्यालयमध्ये १० वटामा पूर्ण रूपमा क्षति भएको छ । ‘जेनजीका १८/२० वर्षका युवा आएर यत्रो तोडफोड र आगजनी गरेका होइनन् जस्तो लाग्छ । आन्दोलनमा घुसपैठ भएको विषयमा अनुसन्धान होला,’ अर्यालले भने, ‘हामी तुरुन्तै राजस्व सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ । अन्य सेवा दसैँअघि सुरु गर्न समस्या छ ।’

  • विकास बजेट प्रभावित

आगजनी र तोडफोडले ठुलो क्षति भएपछि निजगढ नगरपालिकाको यस वर्षको विकास बजेट प्रभावित हुने देखिन्छ ।

nijgadh nagarpalika (4)

असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने नगरसभा निजगढमा भदौ १९ गतेमात्रै बसेर बजेट पास भएको हो । चालु आर्थिक वर्षका लागि करिब १ अर्बको बजेटमध्ये ठुलो हिस्सा पालिका भवन र १० वडा कार्यालय पुनर्निर्माणमा खर्चनुपर्ने देखिन्छ । 

प्रमुख प्रशासकीय अधिकृत अर्यालले श्रोत र साधनको अभावले स्वीकृत भएका बजेटका कार्यक्रम पनि यस वर्ष कटौती गर्नुपर्ने अवस्था आएको बताए । ‘पुनर्निर्माणमा कति खर्च लाग्छ भन्ने विषयमा प्राविधिकबाट विस्तृत अध्ययन नभएसम्म भन्न सकिँदैन,’ उनले भने, ‘यस वर्ष बढी प्राथमिकता भएका गर्नैपर्ने योजना कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयन होला, नत्र गाह्रो छ ।’

nijgadh nagarpalika (7)

  • स्वास्थ्य शाखामा सबैभन्दा धेरै क्षति, औषधि अभाव

जेनजी आन्दोलनका क्रममा निजगढ नगरपालिकाको स्वास्थ्य शाखामा सबैभन्दा धेरै क्षति भएको छ । कार्यालयभित्र भण्डारण गरी राखिएको औषधि र औषधिजन्य सामान जलेर नष्ट भएको छ ।

निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले भने, ‘हामीसँग निःशुल्क रूपमा वितरण गर्न राखिएको ९८ प्रकारका औषधि पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै ३५ थरी औषधिजन्य सर्जिकल सामग्री, आयुर्वेदिक औषधि पनि नष्ट भएको छ ।’

जिन्सी सामग्री, अन्य औषधि, फर्निचर लगायत सबै गरेर करिब ५५ लाख बराबरको औषधि र औषधिजन्य सामग्री क्षति भएको उनको आकलन छ ।

nijgadh nagarpalika (2)

निजगढ नगरपालिका अन्तर्गतका एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३ वटा स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा नागरिक आयुर्वेद सेवा केन्द्र छ । आन्दोलनका क्रममा आगजनीले ठुलो मात्रामा औषधि नष्ट हुँदा स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुनसक्ने स्वास्थ्य शाखा प्रमुख लामाले बताए ।

‘हामीले औषधि खरिद गर्न नसक्ने अति गरिब र विपन्नहरूका लागिमात्रै किफायत ढङ्गले औषधि वितरण गर्नुहोला भनेका छौँ,’ लामाले भने, ‘खरानी टकटक्याएर फेरि शून्यबाट सेवा गर्नुपर्ने अवस्था आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप