मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजार

कति महँगो छ यो वर्षको दसैँ ?

सोमबार, ०६ असोज २०८२, १४ : ३०
सोमबार, ०६ असोज २०८२

सारांश

  • गत वर्षको तुलनामा खाद्यान्नको मूल्य घटेको छ, तरकारी र फलफूलको मूल्यमा पनि गिरावट आएको छ।
  • लत्ताकपडा र गैर-खाद्य वस्तुको मूल्य बढेको छ, जसको मुख्य कारण विनिमय दर र ढुवानी भाडामा भएको वृद्धि हो।
  • दसैंको समयमा फिजिकल सपिङको प्रचलन बढी छ, किनकि मानिसहरूले साइज र ब्रान्ड छनोट गर्न सक्छन्।

काठमाडौँ । गत वर्ष साउनमा प्रतिकेजी जिरा मसिनो चामल १०० रुपैयाँ रहेको थियो । नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार यस वर्ष असोजमा यस्तो मूल्य ९५ रुपैयाँमा झरेको छ ।  यस अनुसार प्रतिबोरा चामल किन्नेले अहिले १०० देखि १५० रुपैयाँ सस्तो पाउन थालेका छन् । जिरा मसिनो नेपालमा सबैभन्दा धेरै खपत हुने चामल हो । 

यो तथ्याङ्कले यो वर्ष बजारमा खाद्य वस्तुको मूल्यवृद्धिमा त्यति धेरै चाप नरहेको देखाउँछ । सङ्घकै तथ्याङ्क हेर्ने हो भने गत साउनदेखि असोजसम्म बजार मूल्यमा सामान्य मात्रै परिवर्तन भएको छ । 

दाल, तेल, गेडागुडी र मसलाजन्य केही वस्तुमा सामान्य घटबढ हुनुबाहेक यो अवधिमा खाद्यान्नमा खासै ठुलो वृद्धि नदेखिएको सङ्घका महासचिव अमूलकाजी तुलाधर बताउँछन् ।

सङ्घका अनुसार दुई महिनाको अवधिमा दालजन्य वस्तुतर्फ मुगको गेडा प्रतिकेजी १० रुपैयाँले घटेको छ । मुसुरो ५ रुपैयाँदेखि १५ रुपैयाँसम्मले बढेको छ भने चना दाल १० रुपैयाँले बढेको छ । 

यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १५ देखि ३५ रुपैयाँसम्म बढेको देखिन्छ । भटमास र सनफ्लावर तेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्यवृद्धि देखिएको छ । गेडागुडीतर्फ चना र केराउको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । राजमा २० रुपैयाँले घट्दा जिराको मूल्य प्रतिकेजी २५ रुपैयाँले घटेको सङ्घको तथ्याङ्क छ । 

Capture

अघिल्लो वर्षको तुलनामा हेर्दा भने धेरै खाद्य वस्तुको मूल्य घटेको पाइएको छ । केही वस्तुमा मात्रै सामान्य रूपमा मूल्य वृद्धि भएको देखिन्छ । समग्रमा भने अघिल्लो वर्षको भन्दा मूल्य केही कमी रहेको महासचिव तुलाधर बताउँछन् । 

संघको विवरणलाई नै सहयोग हुनेगरी नेपाल राष्ट्र बैंकले समेत तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको साउन मसान्तको बजार सर्वेक्षणमा आधारित मूल्यवृद्धि तथ्यांक हेर्दा यो वर्ष समग्र मूल्यवृद्धि दर १.६८ प्रतिशतमा सीमित भएको छ, जबकि अघिल्लो वर्षमा यो दर ४ प्रतिशतभन्दा माथि रहेको देखिन्थ्यो । 

त्यसमध्ये पनि खाद्यान्नको मूल्यवृद्धि नकारात्मक छ । कुल खुद्रा उपभोगको ३५.४९ प्रतिशत हिस्सा बेहोर्ने खाद्य वस्तुको मूल्य यो अवधिमा २.२८ प्रतिशतले घटेको हो । यो अवधिमा खाद्यान्नमा ०.८७ प्रतिशत, गेडागुडीमा १.५१ प्रतिशत, मासु तथा माछामा २.४१ प्रतिशत तथा मसलामा ४.८१ प्रतिशत मूल्य घटेको छ । तेल तथा घ्यु, दुध तथा अण्डा, फलफूल, चिनी तथा अन्य सफ्ट ड्रिङ्क्समा ४.६४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

  • के छ तरकारीको अवस्था ? 

यो अवधिमा तरकारीको मूल्यमा पनि गिरावट नै रहेको देखिन्छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांक हेर्ने हो भने दुई महिनाको अवधिमा कालीमाटीमा भित्रिएकामध्ये अधिकांश तरकारीको मूल्य घटेको छ । सुकेको प्याज, हरियो प्याज, च्याउ, धनियाँ, भेडे खुर्सानी लगायत केही वस्तुमा भने यो अवधिमा मूल्य बढेको देखिन्छ ।

तरकारीमा मौसमी प्रभाव पर्ने भएकोले दुई महिनाको मूल्य तुलना उपयुक्त मानिँदैन । वर्षे सिजनमा फल्ने तरकारीको उत्पादन अहिले कम हुँदै गएको छ भने हिउँदे तरकारी भित्रिँदै गएको अवस्थामा वर्षामा महँगो भएका तरकारी अहिले सस्तिँदै गएको अवस्था देखिन्छ । त्यसैले यसका लागि वार्षिक मूल्यको अवस्था हेर्नुपर्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार तरकारीको वार्षिक उपभोक्ता मुद्रास्फीति पनि नकारात्मक नै छ । यो वर्ष तरकारीको मूल्यमा १८.५६ प्रतिशतले कमी आएको देखिन्छ । 

Capture

फलफूलतर्फ अघिल्लो वर्षको तुलनामा यो वर्ष मौसम, काँक्रो, लप्सी, आभोकाडो लगायतको मूल्यमा उच्च वृद्धि रहेको छ भने स्याउ, कागती, अनार, भुइँकटहर, मेवा, शरिफा लगायतको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । नेपाल राष्ट्र बैंकले भने भदौ महिनासम्म फलफूलको मूल्यमा १.४४ प्रतिशतले मूल्य बढेको जनाएको छ । यो वर्ष अण्डाको मूल्यमा भने उच्च मूल्यवृद्धि भएको छ । गत वर्ष यही समयमा ४५० रुपैयाँ रहेको मध्यम साइजको अण्डाको मूल्य यो वर्ष ५३० रुपैयाँ पुगेको नेपाल लेयर्स उत्पादक संघको तथ्यांक छ ।  

  • लत्ताकपडामा सामान्य मूल्यवृद्धि

खाद्यान्नको मूल्य घट्दै गर्दा गैरखाद्य वस्तुको मूल्य भने सामान्य बढेको छ । खासगरी दसैँका लागि बिक्रीमा आएका लत्ताकपडा, जुत्ता चप्पल लगायत वस्तुको मूल्यमा यस पटक १० देखि १५ प्रतिशत वृद्धि भएको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन् । 

त्यसरी मूल्यवृद्धि हुनुको मुख्य कारण विनिमयदरमा भएको अवमूल्यन र भाडादरमा भएको वृद्धि मुख्य कारण रहेको श्रेष्ठ बताउँछन् । गत असार/साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर १३५ रुपैयाँ हाराहारीमा थियो, अहिले यो दर १४१ रुपैयाँ नाघेको छ । श्रेष्ठ भन्छन्, ‘सोही अनुसार अन्य देशको मुद्रा समेत घटबढ भएको छ । यसले बाहिरबाट ल्याउने सामान महँगिएको छ । लामो समयदेखि नाकामा रोकिँदा भाडादर तथा अन्य खर्चको कारणले मूल्य बढेको छ ।’

गैरखाद्य वस्तुको मूल्यवृद्धिबारे व्यवसायीको भनाइ र राष्ट्र बैंकको तथ्यांकले समेत मेल खाएको छ । नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको तथ्यांक अनुसार गैरखाद्य वस्तुको कुल मूल्यवृद्धि ३.९५ प्रतिशत रहेको छ । त्यसमध्ये जुत्ता तथा लत्ताकपडामा ६.८४ प्रतिशतले मूल्य बढेको देखिन्छ । रक्सी तथा अल्कोहलयुक्त पेय पदार्थमा ४.३६ प्रतिशत र यातायात क्षेत्र (सवारी साधन खरिद सहित) मा ३.९४ प्रतिशत र सञ्चार क्षेत्र (मोबाइल फोन सहित) मा २.६९ प्रतिशत मूल्य वृद्धि रहेको छ ।

यो वर्ष विविध कारणले दसैँलक्षित सामान आयातमा समस्या भएको छ । असार अन्तिम साता रसुवागढीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा त्यहाँबाट आयात ठप्प भएको छ । वैकल्पिक रूपमा रहेको तातोपानी नाकाबाट हुने आयात समेत कोदारी राजमार्गको पहिरोका कारण अवरोध हुँदै आएको छ । त्यसैले यो वर्ष पर्याप्त सामान आउन सकेको छैन । यसका बाबजुद दसैँका लागि सामानको अभाव हुने अवस्था भने नरहेको व्यवसायीहरू बताउँछन् । 

  • अनलाइन सपिङ सस्तो कि फिजिकल सपिङ?

पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्मको विकास भएसँगै अनलाइन सपिङको ट्रेन्ड बढ्दै गएको छ । तर, दसैँ तिहारको सिजनमा भने अनलाइन भन्दा फिजिकल सपिङ नै बढी हुने गरेको पाइएको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

‘दसैँमा एकै पटक धेरै सपिङ हुन्छ । भौतिक रूपमा नै सपिङ गर्दा मान्छेले आफूलाई मनपरेको साइज, कलर, ब्रान्ड रोज्न सक्छ । योबेला मान्छेलाई सपिङ गर्ने फुर्सद पनि हुन्छ । त्यसैले अनलाइन भन्दा पसल वा सपिङ मलमै गएर सपिङ गर्ने प्रवृत्ति देखिन्छ,’ श्रेष्ठ भन्छन्, ‘एउटा मात्रै सामान किन्ने र ब्राण्ड र कलरबारे थाहा भएको, वा व्यस्त रहने मान्छेले अनलाइन सपिङ रुचाउने गरेको देखिन्छ, यो सामान्य समयमा बढी हुन्छ ।’

त्यसो त, अनलाइन सपिङ र भौतिक रूपमा सामान किन्दा मूल्यमा पनि धेरै ठुलो फरक भएको पाइँदैन । सामान्यतया शोरुम वा स्टोर हुनेले नै अनलाइन कारोबार समेत गर्ने भएकोले मूल्यमा फरक नहुने बरु अनलाइन सपिङ गर्दा डेलिभरी चार्ज लाग्ने भएकोले यसमा केही लागत महँगो पर्ने अवस्था रहेको उनको भनाइ छ । दराज लगायत केही अनलाइन प्लेटफर्महरूले भने सपिङ मलको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउँदै आएको दाबी गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप