मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज

सोमबार, ०६ असोज २०८२, १५ : ००
सोमबार, ०६ असोज २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आमाको नामबाट पनि नागरिकता लिन सहज हुने भयो।
  • अब बाबुको पहिचान नभएका वा आमाले पहिचान नगरेका व्यक्तिले पनि आमाको नामबाट वंशजको नागरिकता पाउनेछन्।
  • नयाँ ऐनले सन्तानलाई बाबु वा आमामध्ये आफूले रोजेको थर र ठेगाना राख्ने अधिकार दिएको छ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । 

‘नेपाली नागरिकता ऐन २०६३’ संशोधन भएसँगै बाबुको पहिचान हुन नसकेको वा आमाले ‘बाबु यिनै व्यक्ति हुन्’ भनी पहिचान नगरे पनि आमाको नामबाट वंशजको नागरिकता प्राप्तिको लागि सहज हुने भएको हो ।

नागरिकता ऐनको दफा २ को उपदफा ५(क) मा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको नाम खुलाउन नसकेको भनी निज र निजका आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा ५ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गरिनेछ ।’

साथै उपदफा ५ (१) को उपदफा ३ को खण्ड ‘ग’मा नेपाली नागरिकताका लागि निवेदन दिँदाका बखतमा आमाको मृत्यु भइसकेकोमा सोको प्रमाण वा होस् ठेगानामा नरहेकोमा सोही बेहोरा खुलाई चिकित्सकले प्रमाणीकरण गरेमा आमाको स्वघोषणा आवश्यक नपर्ने उल्लेख छ । 

साथै नागरिकता ऐनमा नेपाली नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको वा बाबुको पहिचान नभएको व्यक्ति र निजको आमाले तोकिए बमोजिम स्वघोषणा गरेमा पनि अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । 

नयाँ ऐनले बाबु वा आमामध्ये आफूले रोजेको थर र ठेगाना राख्ने अधिकार सन्तानहरूलाई दिएको छ । ‘यस ऐनबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने छ,’ ऐनमा थपिएको दफा ८ (क)मा भनिएको छ । सर्वोच्च अदालतले यसअघि पनि सन्तानलाई बाबु वा आमाको थर र ठेगाना रोजेर नागरिकता दिन सकिने नजिर कायम गरेको थियो । तर त्यो व्यवहारमा सहज रूपमा लागु भएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप