‘प्रक्रियाबाट नेतृत्व छाड्न प्रचण्डजी तयारै हुनुहुन्छ’
काठमाडौँ । असोज ५ गते नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति बैठक विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरे । प्रचण्डको प्रस्तावलाई ठोस रुपमा अगाडि बढाउन बुधबार स्थायी समिति बैठक बोलाइएको छ भने बिहीबार केन्द्रीय समिति बैठक बस्नेछ ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरे । तर अध्यक्ष प्रचण्ड र शर्माको प्रस्ताव दुवैमा मतैक्यता हुन सकेको छैन । जेनजी विद्रोहपछिको अवस्थालाई मध्यनजर गर्दै विशेष महाधिवेशन जाने भनिएपनि मंसिरमा महाधिवेशन गर्न सम्भव छ कि छैन ? अन्तरिम सरकारले फागुन २१ मा घोषणा गरेको निर्वाचनको तयारीमा सँगसँगै जुट्ने भनिएको छ ।
यसै विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलसँग रातोपाटीकर्मी रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, गजुरेलसँगको कुराकानीको सम्पादित अंश :
नाटकै त भन्न मिलेन होला, पदाधिकारी बैठकले गरेको निर्णय के हो ?
मेरो बुझाइमा मानिसले जे सोचिरहेका हुन्छन्, त्यो गरेर पुग्दैन । नसोचेको कुरा गर्दा पहल आउँछ । सोचिरहेको कुरा गर्दा यस्तो क्राइसिस, उद्वेलन र आन्दोलनको रापतापले अगाडि बढिरहेको बेलामा नर्मल चिजले काम गर्दैन । त्यसैले स्वाभाविक रूपमा नसोचेको कुरा गर्ने भनेकै लिडरसिपको क्वालिटी हो । सोचिरहेको कुरा गरेर समस्या हल हुन्थेन ।
मतलब नयाँ कुरा गर्न, पार्टी पुनर्निर्माण वा पुनर्संरचना जे–जे हो, त्यो गर्नभन्दा पनि जेनजीको आन्दोलन जे थियो, यसलाई देखाइदिम् न भन्ने हो ?
त्यो होइन । जेनजी आन्दोलनलाई उपलब्धिको रूपमा हामीले लिएका छौँ । यो जनताको आन्दोलन हो, युवाहरूको आन्दोलन हो । हामीले गर्नुपर्थ्यो आन्दोलन, उनीहरूले उठाएका एजेन्डालाई हामीले अझ मुखरित गर्नुपर्थ्यो । त्यहाँ हाम्रो पुगेन, हामीले समर्थन मात्रै गर्न पुग्यौँ । त्यस अर्थमा हामीले यो आन्दोलनको स्वागत गरेका छौँ ।
माओवादीका नेता, कार्यकर्ता पनि यो आन्दोलनमा संलग्न भएर तोडफोड, ध्वंसमा लागे भन्ने आरोप छ नि ?
त्यो हाम्रो होइन । हामीले समर्थन र ऐक्यबद्धता जनायौँ । मन लाग्यो गयो, मन लागेन गएन । हामीले कसैलाई जाऊ भनेको पनि होइन, नजाऊ भनेको पनि होइन । स्वाभाविक रूपमा त्यसप्रति सबैको सहानुभूति त हुने भयो ।
ऐक्यबद्धता जनाएकाले माओवादी नेता कार्यकर्ताका घर कम जलेका हुन् ?
त्यो पनि हुनसक्छ । अध्यक्षको दुईवटामध्ये एउटा घर त्यहाँ आक्रोशबाट जलेको छ । एउटा नियोजित छ । दुईवटा मिश्रण भएको छ । आक्रोशबाट जलेको स्वाभाविक हो । नियोजित भए गलत हो भन्ने कुरा हो ।

अब भन्नुस् पदाधिकारी बैठकले गरेको के हो ?
हामीले पहिलेदेखि नै जुन पहल लिनुपर्थ्यो त्यो पुगिरहेको थिएन । यो घटनाक्रमले हामीलाई जुन चेतना दिएको छ, त्यसलाई अझै अगाडि बढाउने उद्देश्यसहित बैठकको आयोजना गरेको हो । विशेष महाधिवेशन जो हामीले गर्ने भनेकै थियौँ । त्यसलाई अलि अगाडि ल्याएर राजनीतिक पहलकदमी लिनुपर्छ भन्ने हिसाबले राखेको हो ।
पदाधिकारी बैठकले के गर्यो खासमा ?
अहिले निर्णय केही पनि भएको छैन । एउटा प्रस्तावको रूपमा अध्यक्षले ल्याउनुभएको छ । केन्द्रीय समिति बैठक बोलाउने निर्णय भयो । बैठकका लागि प्रस्ताव तयार गर्न भोलि (बुधबार) स्थायी समिति बोलाउने, त्यहाँ छलफल गर्ने र प्रस्ताव केन्द्रीय समितिमा छलफल गर्ने, आयोजक समिति बनाएर विशेष महाधिवेशन गर्ने भन्ने कुरा मात्रै हो ।
प्रस्ताव के बनायो त ?
लिखित प्रस्ताव अध्यक्षले तयार गर्नुहुन्छ, स्थायी समितिले अनुमोदन गर्छ ।
उहाँले बैठकमा राखेको प्रस्ताव के थियो ?
यही विषय, मतलब विशेष महाधिवेशनमा जाऔँ । परिस्थिति अलि बदलियो । हामीले महाधिवेशन पछि गर्ने भनेका थियौँ । त्यसलाई अगाडि नै गरौँ । निर्वाचनको प्रक्रिया पनि अगाडि बढिरहेको छ । निर्वाचनको लागि पनि एउटा तयारी गर्न पनि त्यसले मद्दत पुग्छ । निर्वाचनलाई पनि सँगसँगै लैजाऔँ भन्ने हो ।
कमिटीहरूलाई विघटन गर्ने भन्ने प्रस्ताव के हो ?
आयोजक समिति बनाउने भनेको हो । केन्द्रीय समिति विघटन गरेर अध्यक्ष प्रचण्डको संयोजकत्वमा केन्द्रीय आयोजक समिति हुने भनिएको हो ।
सबै कमिटी विघटन गर्ने भनेको होइन ?
होइन, महाधिवेशन आयोजक समितिमा बदल्ने भन्ने हो ।
अरू तहगत कमिटीहरू विघटन भनेको होइन ?
त्यो अझै छलफल चलिरहेको छ । ठोस प्रस्ताव केन्द्रीय समितिमा लैजाने छ । यस विषयमा विभिन्न कोणबाट छलफल भइरहेको छ । के गर्दा उपयुक्त हुन्छ त्यही गरिन्छ । किनभने कतिपय गाउँपालिकाहरूमा अधिवेशन भर्खरै भइसकेका छन् । त्यहाँ के गर्ने भन्ने कुरा आउँछ । यस विषयमा अझै निष्कर्षमा हामी पुगिसकेका छैनौँ । विभिन्न कोणबाट छलफल भइरहेको छ । स्थायी समितिमा जाँदा एउटा निष्कर्षमा हामी पुग्छौँ । त्यही आधारमा प्रस्ताव तयार हुने हुन्छ ।
अहिले हतार–हतार किन गरियो ?
निर्वाचन आउँदैछ हतार गर्नुपर्यो नि । आन्दोलनको म्यान्डेटलाई पनि हामीले ध्यान दिनुपर्यो ।
एक वर्षअघि स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी पुननिर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्तुत गर्दा झन्डै कारबाही गरेको अवस्था थियो ।
पछिल्लो बैठकमा आउँदा समेत त्यस्तै व्यवहार छ । कारबाही प्रचण्डलाई गर्ने कि जनार्दनलाई ?
त्यस्तो होइन । जनार्दनजीले कुरा उठाएबापत कारबाही गर्ने कुरा कहिल्यै भएकै छैन । पहिला पनि उहाँले प्रस्ताव राख्नुभयो । बाहिर किन गर्यौँ भन्नेमा प्रश्न हो । त्यही कुरा पार्टीभित्र राख्दा राम्रो हुन्छ भनेको हो । त्यसले त्यति राम्रो विधि पद्धति हिसाबले मिलेन, विषयवस्तुको हिसाबले पनि मिलेन । त्यसमा आत्मालोचना गर्नुस् भनेको, उहाँले आत्मालोचना गर्दिन भन्नुभयो । त्यसपछि ठिकै छ, पार्टीले आत्मनिर्देशन दियो भन्ने कुरो आयो ।
आत्मालोचना पहिले अध्यक्षले गर्नुपर्यो भनिरहनुभएको छ ?
नगर्ने भनेकै होइन । कहिले भन्या छ नगर्ने ? जनार्दनजीले उठाइरहेको विशेष महाधिवेशन नगर्ने भनेर भएकै छैन । महाधिवेशन गर्ने भनेकै छ । वैधानिक हिसाबले अर्थात् निर्वाचन आयोगको हिसाबले पनि हामीले गर्नैपर्छ । त्यो हिसाबले नगर्ने भन्ने कुरा होइन । हामी जागरण अभियानबिचमा रोकेर हामी यो प्रतिक्रान्ति विरोधी आन्दोलनसँग गर्नुपर्ने भयो । अलिकति अभियान अवरुद्ध भयो । अभियान सकेर गर्दा अहिले अलि पछि गरौँ भन्ने भएको हो ।
स्थायी समिति बैठकले विशेष महाधिवेशन प्रस्ताव तयार गर्ने सुनेको थिएँ । अगाडि नै गरिदिनुभयो ?
अब ठोस प्रस्ताव स्थायी समितिबाटै जान्छ नि । समयको मागलाई सम्बोधन गरेको हो । अति आवश्यक भयो । किनभने पार्टीलाई पुनर्निर्माण गर्ने एउटा राम्रो अवसर आयो । हामीले त्यसलाई धक्का दिन सकिरहेका थिएनौँ । यो आन्दोलनले धक्का दियो ।
खास गरेर अध्यक्ष प्रचण्डलाई धक्का दियो होइन ?
सबै पार्टीलाई नै धक्का दियो नि । यसरी चल्दैन अब हुँदैन । यथास्थितिमा चलाए गर्छु–गर्छु मात्रै भनेर होइन, ठोस देखिने गरी जनताले बुझ्ने गरी रूपान्तरण आवश्यक छ, पुनर्गठन आवश्यक छ भन्यो ।
बैठकमा अध्यक्षको घरमा भेटेको पैसाको बारेमा कुरा उठ्यो कि उठेन ?
मैले सुनेको एक लाख रुपैयाँ थियो भन्नुभएको थियो उहाँले ।
घरमा एक लाख रुपैयाँ चाहिँ थियो ?
एक बिटामा एक लाख हुन्छ ।
कोठैमा थियो ?
उहाँको भनाइ के हो भने एक लाख चाहिँ थियो । हामीले पनि त्यस्तो धेरै देखेनौँ । एक लाखको एउटा गट्टी निकालेर गट्टी त देखाएका थिए देखाउनेले नि । शेरबहादुर देउवाकहाँ छ्याङ्ग–छ्याङ्ग गरेर देखिने भाएको थियो । यहाँदेखि एउटा मुठो निकालेर त्यही यहाँ भनेर देखाएको हामीले देखेको हो । उहाँको भनाइ पनि एक लाख थियो भन्नुहुन्थ्यो । एक–दुई लाख रुपैयाँ हुने कुरा ठुलो होइन ।
झ्यालढोका थुनेका, भेन्टिलेसन पनि नभएको कोठामा पैसा लुकाएको भनेर तपाईंले प्रश्न उठाउनुभएन ?
त्यो होइन । उहाँले बनाएको होइन । त्यो अर्कैले बनाएको घर हो । अर्कैले बनाएको घरमा उहाँ गएर बस्नुभएको हो । कोठा केका लागि, के उद्देश्यका लागि अरूले बनाए ? त्यो बनाउनेकै कुरा हो ।
मंसिरमा विशेष महाधिवेशन सम्भव छ ?
हुन्छ । फास्टमा गर्ने भनेको छ ।
फास्टमा भनेको चाहिँ कसरी हुन्छ, त्यो प्रोसेस मलाई भन्दिनुस् न ?
त्यो प्रोसेसको विषय स्थायी समितिमा ठोस प्रस्ताव अध्यक्षले ल्याउनुहुन्छ । कहिले कार्यतालिका पनि आउँछ । कुन डेटमा गर्ने ? कसरी गर्ने ? प्रतिनिधि छनोट कसरी गर्ने ? सहभागिता कसरी सुनिश्चित गर्ने भन्ने कुरा डिटेल प्रस्तावमा आउँछ । केन्द्रीय समितिका लागि तयार गरेको प्रस्तावमा आउँछ ।
दुई महिना करिब छ, प्रतिनिधि छान्नुपर्ला कि डाइरेक्ट इलेक्टेडमा जान्छन् ?
त्यही त विषय उठिरहेको छ । ठोस प्रस्ताव आउँछ अब । डाइरेक्ट इलेक्टेड गर्न विधानमा हामीले संशोधन गर्नुपर्छ । विधानमा केन्द्रीय समितिको निर्वाचनपछि केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने भन्ने छ । विधान पनि संशोधन गर्न सकिन्छ ।
प्रतिनिधित्व कसरी गराउने भन्ने कुरा अझै भएको छैन । कसरी प्रतिनिधि छनोट गर्ने ? कति संख्या बनाउने ? कति दिन चलाउने महाधिवेशन भन्ने कुरा पनि हुन्छ । मैले भन्न खोजेको विशिष्ट अवस्थामा गरिएको विशिष्ट निर्णय हो यो ।
पहिलेका प्रतिनिधिलाई आधार मानेर पनि गर्न सकिने भयो होइन ?
पहिलाकालाई गर्न सकिँदैन । त्यसरी गर्ने हो भने नयाँ नै कसरी गर्ने भन्ने हो । अथवा सम्मेलन गरेर गर्ने कि कमिटीहरूले छनोट गरेर पठाउने भन्ने हो ।
तपाईंले नयाँ परिस्थितिमा नयाँ सोचका साथ पार्टी जानुपर्छ भन्नुभयो, मंसिरमा हुने महाधिवेशनले नयाँ कुरा के दिन्छ ?
अध्यक्ष अहिले कोही भएन । मुख्य वैचारिक राजनीतिक विषय पनि अलिक हामी थोरै अहिलेसम्मका बहसहरूलाई संश्लेषण गर्छौँ । जेनजी आन्दोलनले अगाडि बढाएका कुराहरू, यसले पारेको प्रभाव असरहरूलाई पनि हामी मध्यनजर गरेर ठोस एउटा संश्लेषण र निष्कर्ष पनि निकाल्छौँ र त्योअनुसार हामी योजना पनि बनाउँछौँ । संगठनलाई अलि चुस्त–दुरुस्त पारेर नयाँ शिराबाट संगठन अनुशासित र एउटा प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि गर्छौँ ।
प्रचण्डजीले छोड्नुपर्छ भनेर जेनजीको पनि माग नि । त्यो सक्नुहुन्छ ?
होइन त्यस्तो जेनजीको माग । जेनजीको माग भनेको भ्रष्टाचारमुक्त, सुशासन, सामाजिक न्याय, कार्यकारी राष्ट्रपतिको कुरा उठाएका छन् । पूर्ण समावेशी निर्वाचन उनीहरूले उठाएका छन् ।
२० वर्षदेखि म्युजिकल चेयर जस्तो तीन जना व्यक्ति बारम्बार प्रधानमन्त्री भए । अब हट्नुपर्छ भनेर त्यत्रो भनेका छन् । पुराना नेता मानिँदैन भनेका छन् । अनि आफ्नो अनुकूल भएन ?
पुराना नेता मानिँदैन भनेर कहाँ भन्या छन् उनीहरूले ? पुरानोलाई नमान्ने कहाँ भन्या छन् र ?

४० वर्षदेखि अध्यक्ष मान्छन् त उनीहरूले ?
मैले भन्न खोजेको को अध्यक्ष भयो, के भयो भन्नुहुन्न । डेलिभरी भयो कि भएन भन्ने कुरा उनीहरूलाई सरोकार हो । कति वर्षको मान्छे अध्यक्ष भयो, भएन, उनीहरूलाई के सरोकार ? डेलिभर भएन, नेताहरूले डेलिभर राम्रो दिन सकेन । असफल भए भनेको त हो । त्यसपछि फेरि क्याटगोराइज गर्नुपर्यो नि । तीनवटा पार्टीको, चारवटा पार्टीको, पाँचवटा पार्टीभन्दा नेतावादी, एउटा जिउको क्याटगोराइज गर्नुपर्यो । होलसेलमा भन्ने कुरा होइन ।
जसको जति हो, त्यहाँ अध्यक्षको कति कमजोरी हो त्यो पनि भन्नुपर्यो । उहाँले गरेका राम्रो काम पनि भन्नुपर्यो । नराम्रो काम पनि भन्नुपर्यो । यो उनीहरूले नि बुझ्नुपर्यो । कार्यकारी राष्ट्रपतिको कुरा हामीले उठाइरहेका छौँ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली हामीले उठाइरहेका छौँ । भ्रष्टाचार विरोधी अभियान चलाएबापत प्रचण्डले सरकार छोड्नुपर्यो । एमाले र कांग्रेस मिलेर सरकारबाट अपदस्थ गरे । र, उनीहरूको कारणले यो सबै भयो अहिले । उनीहरूको गलत कदमले गर्दा यो सब भएको हो ।
केपी ओलीजीले काजी भीम मल्लको उदाहरण दिएर राष्ट्रवादी हुँदाखेरि मैले सरकार छोड्नुपर्यो भनेर वक्तव्य नै निकाल्नुभयो नि ?
उहाँले जहिले नि त्यही भन्नुहुन्छ । भनिरहने उहाँको स्वभावै हो । अन्तिमसम्म भनिरहनुहुन्छ उहाँले । मर्नुअघि पनि उहाँले त्यो भनिरहनुहुन्छ । त्यसले त बिगार्यो नि । उहाँको त्यही भनाइले, त्यही हठले बिगार्यो । जे गरे पनि मैले ठिकै गरेँ भन्ने दुई–दुईचोटि संसद विघटन गर्दा पनि ठिक गरेँ भनिरहनु भएको छ ।
मंसिरमा हुने महाधिवेशनबाट अध्यक्षमा फेरि प्रचण्ड आउनुहुन्छ ?
मुख्य कुरा २१ औँ शताब्दीको जनवाद भन्ने सन् २००३ मा माओवादी केन्द्रले ल्यायो । त्यसलाई नयाँ शिराबाट छलफल गर्नुपर्छ, त्यसमा टेकेर भन्ने हो ।
त्यो पोलेर खाइहाल्नुभयो नि एमालेसँग मिल्दा जनताको जनवाद मानेको होइन ?
त्यही त त्यसमा टेकेरै हामी अगाडि बढ्नुपर्थ्थ्यो । खासगरी शान्ति प्रक्रियापछि हामी वैचारिक धरातलहरू हामीले छोड्दै गयौँ । नीतिगत धरातल छोड्दै गएर हामी कमजोर भएको हो । त्यस विचार नीतिलाई दरोसँग पक्डिने, हाम्रा इतिहासका सबल पक्षहरूलाई अझ अगाडि ल्याउने, त्यसलाई विकसित गर्नुपर्थ्यो हामीले । वैचारिक राजनीतिको बहसै हुन छोड्यो अनि कसले के पाउने भन्नेमा बहस केन्द्रित भयो ।
अध्यक्ष को आउँछन् ?
अध्यक्षले अब कुन भूमिका निर्वाह गर्नुहुन्छ ? हामीले त्यसको व्यवस्थापन कसरी गर्छौँ ? जस्तो २१ औँ शताब्दी जनवादअनुसार गयो भने वैचारिक लिडरसिप र संगठनात्मक लिडरसिप भन्ने कन्सेप्ट पनि छ । वैचारिक लिडरसिप भनेको एक लेयर, वैचारिक लिडरसिप भनेको अर्को संगठनात्मक लिडरसिप हुने पनि हुन्छ । त्यो के हो भने अझै हामीले त्यहाँ ठोस रूपमा प्रवेश गरिसकेका छैनौँ । अब महाधिवेशनको दौरानमा बहस हुन्छ ।
तपाईंको व्यक्तिगत विचार केही हुन्छ ? आउने महाधिवेशनमा प्रचण्डले छोड्नुपर्छ भन्नेमा ?
उहाँ एउटा प्रक्रियाबाट छोड्न तयारै हुनुहुन्छ ।
महाधिवेशन हो नि प्रक्रिया ?
पहिले पनि भन्नुभएको छ, एउटा प्रक्रियाबाट म छोड्छु । म धेरै बसिरहँदा अहिले बाहिर राम्रो पनि परिरहेको छैन । मेरै आफ्नै हिसाबले पनि अरू भूमिकामा जाँदा नि ठिक हुन्छ भन्ने लागिरहेको छ । तर त्यत्तिकै ह्वात्त छोडेर हिँड्नु भएन ।
अध्यक्षमा तपाईंको दाबी हुँदैन ?
महाधिवेशनसम्म समग्र पार्टी आन्दोलनले के सोच्छ ? के गर्दा ठिक हुन्छ भन्ने कुरा आउँछ । त्यो लिडरसिप भनेको उमेरको कुराले मात्रै हुँदैन । विचारको कुरा पनि हुन्छ । एकचोटि असफल हुनेबित्तिकै सिद्धियो भन्ने पनि हुँदैन । किनभने अब्राहम लिंकन पनि पहिले थुप्रै पटक राष्ट्रपति हुन सकेनन् । पछि उनी राष्ट्रपति भएका हुन् ।
मैले भन्न खोजेको त्यो बेलासम्म को अगाडि आउँछ ? नेतृत्वका लागि को क्यापेबल भएर अगाडि आउँछ ? एउटा कुरा नेतृत्व भनेको विचार हो । २०४१ सालमा पाँचौँ महाधिवेशन भयो । चौम र मसाल विभाजित भएपछि त्यहाँ एउटा डकुमेन्ट पेस भयो । त्यो मोहनविक्रमजीले डकुमेन्ट पेस गर्नुभएको थियो ।
तर सँगै के हो भने मध्यपन्थी कमजोरी, गलत थियो, मोहनविक्रमजीले वैद्यजीहरू मध्यपन्थी कमजोरी हो, यसले बिगार्यो पार्टीलाई । उहाँ निर्मल लामाजीहरूसँग अलि दरोसँग लड्नुभएन, ढुलमुल देखाउनुभयो भन्ने मोहनजीको आरोप थियो । वैद्यजीको आरोप सांगठनिक विचलनका कारणले भएको थियो ।
गल्तीको ढाकछोप गर्न मध्यपन्थी भन्ने आफैँ गल्ती गर्ने भनेर उहाँले कुरा उठाउनुभयो । त्यसपछि बोल्ने क्रममा प्रचण्डले मोहनविक्रमको सांगठनिक विचलन मुख्य होइन । त्यो त विचारमा समस्या भएपछि त्यो व्यक्त भएको । त्यहाँ देखिएको मात्रै हो । त्यहाँ मुख्य समस्या विचारमै हो भन्ने पहिलोचोटि उहाँले उठाउनुभयो । त्यो हामीलाई, बाबुरामजीलाई पनि राम्रो लाग्यो । उहाँले जो उठाउनुभयो विचारको कुरा नै थियो । त्यो बेलासम्म को अगाडि आउँछ ? भोलि जेनजीबाटै पनि आउन सक्ला, अरूबाटै आउन सक्ला । त्यसलाई नेता बनाउनुपर्छ भन्ने मेरो भनाइ छ । त्यत्तिकै ल लु गर भनेर छोड्दिएर हिँड्ने त हुँदैन फेरि ।
पदाधिकारी बैठकमा एकजनाले यो लोकमा मात्रै होइन, परलोकमा पनि प्रचण्डले नेतृत्व गरिरहनुपर्छ भन्नुभयो रे नि ?
कसैको विश्वास राख्न पाउँछ नि । उहाँले गर्न सक्दासम्म चाहिँ उहाँले छोड्नुहुन्न भन्ने सन्दर्भमा भन्या हो त्यो । त्यसलाई फेरि एकदम नेगेटिभ अब भाषा शैली कसरी प्रस्तुत गर्नु, बाहिर तपाईँलाई कसरी आयो । अहिले अध्यक्षले गर्न सक्दासम्म अध्यक्षले उभिनुपर्छ ।
यसरी पार्टी चल्दैन भनेर तपाईंले दुई वर्षअघि भन्नुभएको थियो होइन ?
हिजो नेता थिएँ, म बिचमा नेता भइनँ, अब नेता हुँदैछु । मैले भनेको सन्दर्भ पनि यो हो । किन अहिले केही कुराहरू अलि सिरियसली नै केही समयदेखि मैले ५–७ वर्षदेखि नै उठाइरहेको थिएँ । नेकपा हुँदैदेखि सिरियसली विषयवस्तुहरू उठाइरहेको थिएँ ।
मैले संसदमा बोलेको भ्रष्टाचार विरोधी अभियानको सन्दर्भ, संसदमा बोलेको त्यो भाषण पनि तपाईंले सुन्नुभएको होला । त्यति खरो भाषण चाहिँ भ्रष्टाचारको विरुद्ध कसैले बोल्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण