बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

‘नख्खु कारागार प्रकरण : नियतमाथि नियतिको प्रहार’

भीडलाई उत्तेजित पार्ने, आगजनी र तोडफोड गर्नेलाई अनुशासनको कारबाहीको दायरामा ल्याइनुपर्छ :  सहमहामन्त्री आचार्य
बिहीबार, ०९ असोज २०८२, १२ : ३०
बिहीबार, ०९ असोज २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नख्खु कारागार प्रकरणबारे दुःख व्यक्त गरे।
  • आचार्यका अनुसार, सुरक्षाको कारण देखाउँदै रवि लामिछानेलाई कारागारबाट बाहिर निकालिएको थियो।
  • उनले पार्टीले जनतालाई यो कुरा बुझाउन नसकेको र यसलाई लिएर अन्याय भएको बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नख्खु कारागारबाट सभापति रवि लामिछानेलाई सुरक्षाका कारण बाहिर निकालिएको घटनालाई ‘नख्खु प्रकरण’ बन्नु आफैँमा दुःखद घटना बताएका छन्। उनले कुनै पनि परिघटनामा नियत र नियति महत्त्वपूर्ण हुने उल्लेख गर्दै पार्टीले आलोचना भोग्नुपर्ने नियतिमा पुगे पनि नियत सही राख्नुपर्नेमा जोड दिएका हुन्।

आचार्यका अनुसार, भाद्र २३ गते निहत्था युवा र विद्यार्थीमाथि भएको दमनको आक्रोशमा सरकारी संयन्त्रहरू जल्न थालेपछि सुरक्षामा चुनौती भएको आँकलन गरेर कारागार प्रशासनले सुरक्षा घेराबाट बाहिर निकाली जिम्मा लगाउने निर्णय गरेको थियो। पार्टीले ठूलो जोखिम मोलेर सभापतिलाई लिन जानुलाई नै ‘प्रकरण’ बनाइएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘भाद्र २४ गते प्रदर्शन फैलिँदै जाँदा सरकारी संरचनामा तोडफोड र आगजनी बढ्यो। देशको तीनवटै अंग प्रदर्शनकारीको कब्जामा पुगेको खबर मिडियामा आएको अवस्थामा कुनै पनि मन्त्री वा संस्थाको सुरक्षा सुनिश्चित थिएन।’ यस्तो विषम परिस्थितिमा कारागार प्रशासनले ‘सभापति रवि लामिछानेलाई हामी सुरक्षा दिन सक्दैनौँ, तपाईंहरू लिएर जानुहोस्’ भनेको तथ्यलाई पार्टीले जनतामा बुझाउन नसकेको उनले बताएका छन्।

उनका अनुसार भैरहवाको अँध्यारो कोठाबाट अड्डासार गरी नख्खुको एक कुनामा राखिएका र सूचनाको स्वाभाविक स्रोतबाट टाढा रहेका सभापतिले कारागार गेट नजिक नआउँदासम्म बाहिरको वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न सक्ने अवस्था थिएन। २४ गते बिहानदेखि नेताहरू लखेटिँदै र उद्धार गरिँदै गरेको सूचनाले घेरिएको विषम परिस्थितिमा सुरक्षाको जिम्मेवारी पाएको कारागार प्रशासनले ‘सुरक्षा दिन सक्दैनौँ, जानुहोस्’ भन्दाको सभापतिको मनोदशाबारे कसैले नसोचेको र उल्टै सभापतिमाथि नै संलग्नताको लान्छना लागेको उनले बताए।

नजिकैको मन्त्री क्वाटर र अन्य सरकारी संरचनामा क्षति हुँदै गर्दा कारागार प्रशासनले सभापतिलाई आफन्तको जिम्मा लगाएको उनको भनाई छ । उनले भनेका छन्, ‘अन्य पार्टीका नेताहरू लुक्दै गर्दा देशको चौथो ठूलो पार्टीको सभापतिलाई कारागार प्रशासनले भीड अगाडि बिना सुरक्षा 'जानुहोस्' भन्नु र आक्रोशित भीड छिचोलेर निस्किनु त्यो दिनको परिस्थितिमा सामान्य थिएन।’ यसलाई वस्तुपरक रूपमा नहेर्नु सभापति र उहाँलाई शान्तिपूर्वक लिन जाने सबैप्रति अन्याय हुने उनले जिकिर गरेका छन्।

एक वर्षदेखि विभिन्न जेलमा अड्डासार गर्दै चरम प्रतिशोधको सिकार बनाइएका सभापतिलाई नख्खुको विषयमा थप कमजोर बनाउन योजनाबद्ध प्रयास भएको हुनसक्ने आचार्यको आशंका छ। कारागार प्रशासनको पत्र, अनुमति प्रक्रिया र बाहिरको प्रदर्शनबारे त्यो समयमा थाहा नहुनु स्वाभाविक भए पनि औपचारिक प्रक्रिया पूरा भएपछि कारागारभित्र रहेका सबैको जीवन जोगाउन र प्रदर्शनमा थप झिल्को नथपियोस् भन्ने सोचका साथ आवश्यकताको सिद्धान्तको आधारमा परिस्थितिजन्य निर्णय लिएको कुरा सभापतिले सार्वजनिक रूपमै पटक-पटक जानकारी गराइसकेको उनले स्पष्ट पारेका छन्।

कारागार प्रशासनले जिम्मा लिन बोलाएका व्यक्तिहरू भीड उक्साउने, उत्तेजित पार्ने, आगजनी वा तोडफोड जस्ता कुनै पनि गलत कार्यमा संलग्न छन् भने पार्टीको अनुशासनको कारबाहीको दायरामा ल्याइनुपर्ने उनले माग गरेका छन्। अनुशासन आयोग वा छानबिन समितिले स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने र अनुशासनको मानक पार्टीका जुनसुकै तहका नेता तथा सदस्यहरूलाई समान हुनुपर्ने उनको भनाई छ।

व्यक्तिबाट परिस्थितिजन्य गल्ती हुनसक्ने भन्दै उनले अन्जानमा कुनै पनि नेता वा पार्टी सदस्यबाट यस्तो गतिविधि भएको भएमा विना शर्त सोको स्वीकारोक्ति र अनुसन्धान प्रक्रियामा सहयोग गर्नुको विकल्प नभएको बताएका छन्।

नख्खु प्रकरण र मेरो बुझाइ_page-0002नख्खु प्रकरण र मेरो बुझाइ_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप