डिजिटल विद्रोह : के हो जेन–जी आन्दोलनको सन्देश ?
२२ भदौसम्म शान्त नेपालमा २३ भदौको दिउँसोबाट एकाएक अशान्त बन्यो । अझ २४ भदौमा दुईतिहाइ सरकारको धम्की दिने शासकको पनि भागभाग भयो । देशव्यापी रूपमा शासकविरुद्ध चर्को नारा लाग्यो । उच्च सुरक्षामा रहेका महत्त्वपूर्ण सरकारी कार्यालय जले । सहरका सडकमा देखिने नेपाल प्रहरी, सशस्त्र प्रहरी हराए । सत्तापक्ष र विपक्षी दलका नेता वा मन्त्रीहरू नेपाली सेनाको उद्धारबाट सुरक्षित स्थान पुगे । त्यही दृश्यका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा भाइरल बने । जुन विगतमा श्रीलङ्का, बंगलादेश, केन्या, इन्डोनेसियाजस्ता देशमा पहिले नै देखिएका थिए । अहिले नेपालपछि फिलिपिन्समा देखियो ।
आखिर किन भयो, जेन–जी आन्दोलन ? धेरैको मनमा उब्जेको प्रश्न यही छ । यही दृश्य देखेर केही वामपन्थी र दक्षिणपन्थी नेता, विश्लेषक र विज्ञको फरक–फरक दृष्टिकोण आउने क्रम जारी छ । दक्षिणपन्थी भन्छन्, ‘घरेलु र बाह्य शक्तिको घुसपैठ । वामपन्थीहरू यता यसलाई क्रान्तिको लहर सम्झन्छन् तर त्यो लहर कहाँ जाँदै छ भन्ने प्रश्नको उत्तर दिएका छैनन् ।
वामपन्थी नेताहरू जनताको उत्साहको आन्दोलन भन्दै प्रशंसा गरिरहेका छन् । जसले सत्ता उथलपुथल बनाउँछ । नेपालको जेन–जी आन्दोलनले पनि बनाएको छ । विरोधीले अराजकता, घुसपैठ, प्रतिगमनकारी र स्वार्थ समूहको सफलता आदि दाबी गरेका छन् । उनीहरु भन्छन्— हामी फेरि उठ्नेछौँ । यता आन्दोलनका नेतृत्वकर्ता दाबी गर्ने अराजक समूह घोषणा नै गर्छ, ‘हामी फेरि कुट्नेछौँ ।’
पहिला विकासोन्मुख देश श्रीलङ्काका शासक महिन्दा राजपाक्षेको विरुद्धमा आन्दोलन सुरु भएको थियो । त्यहाँ ठुला भ्रष्टाचार, चुनावमा धाँधली र युवा बेरोजगारी लगायत समस्या जनतामा थियो । मुख्य रूपमा राजापाक्षेका भ्रष्टाचार नै थियो । त्यसपछि बंगलादेशमा शेख हसिनाको पतन नै भयो । हसिनाले राजनीतिमा मनलाग्दी गर्ने, निरंकुश र क्रूर बन्ने बाटो रोजिरहेकी थिइन् । हसिनाको पनि संसद्मा दुईतिहाइको बहुमत थियो । नेपाली संसद्मा पनि विपक्षी नेताहरूले सत्तापक्षलाई दुईतिहाइको धम्की नदिन बारम्बार उद्घोष गरिरहेका हुन्थे । नभन्दै २३ र २४ गते भदौमा भएको जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको भागभाग भयो । अहिले देश अन्तरिम सरकारको भरमा छ ।
नेपालमा ‘नेपो बेबी’ नामबाट प्रारम्भ भएको जेन–जी विद्रोह सत्ता परिवर्तनको कारक बन्यो । त्यसमा हालका निर्वतमान प्रधामन्त्री तथा एमाले अध्यक्ष ओलीको सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने हठ झनै ऐतिहासिक बन्यो ।
संविधानका राम्रा र नराम्रा पक्ष छुट्ट्याउनुको साटो आफू अनुकूल व्याख्या गर्ने दलका शीर्ष नेताका विरुद्ध जेन–जी विद्रोह सम्मानयोग्य छ । जेन–जी आन्दोलनका वीर सहिदप्रति उच्च सम्मान छ ।
कम्युनिस्ट पार्टी सम्भवतः आफूलाई वामपन्थी दृष्टिकोणबाट प्रस्तुत गर्छन्; समाजवादी अभियन्ता बताउँछन्; किसान, मजदुर, युवा, महिला, वर्गीय, जातीय, क्षेत्रीय लगायत मुक्तिका आवाज घन्काउँछन्; सामाजिक, आर्थिक एजेन्डामा नारा लगाउँछन्; क्रान्तिकारी रूपमा देशलाई आर्थिक समृद्धिको बाटो लैजाने सपना देखाउँछन् । मार्क्सवादी सत्ताको कल्पना गर्छन् । भ्रष्टाचार शून्य बनाउने भन्छन् । सुशासनका सुनिरहने कुरा गर्छन् तर कम्युनिस्ट पार्टीकै नेतृत्वको सरकार भएका बेला जेन–जी आन्दोलन उठ्यो । नेपाली इतिहासमा जेन–जी क्रान्तिका रूपमा दर्ज भयो, यो दुःखद हो कि सुखद कमरेडहरू ?
विद्रोहीहरूले श्रीलङ्का, केन्या, इन्डोनेसिया, बंगलादेशमा आन्दोलनमा राष्ट्रिय झन्डा जसरी देखे; नेपालको जेन–जी आन्दोलनले २३ भदौमा नेपाली झन्डा रोजे । पार्टीको झन्डा बिर्से । अनि आन्दोलनमा होमिए । जनवादी गायक जीवन शर्माको स्वरमा रहेको गीत भन्छ– ‘क्रान्ति आफैँ आउँदैन... रगतको भेटी चलाउनैपर्छ, कर्तव्य वेदीमा... । ’ युवाले रगत पनि चढाए ।
लोकतान्त्रिक मूल्य–मान्यता र सिद्धान्तको नारा लगाउने नवमहाराजका लागि युवाहरू बलि चढे । बलिदान दिनेहरूमा कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायत धेरै दलका विचारधारामा दौडिरहने युवा पनि छन् । सत्य त्यही थियो, क्रान्तिकारीहरू न देखावटी प्रभावमा पर्छन् वा पूर्वनिर्धारित ढाँचामा क्रान्ति तय गर्छन् । ठोस परिमाण आएपछि मात्र क्रान्तिको सार बुझिन्छ । धेरैले जेन–जी आन्दोलनका बारेमा यस्तै बुझ्न पाए ।
क्रान्तिमा जनताले देखाएको साहस र शक्ति अचम्मको हुन्छ । त्यो कहिले पनि शासकले चिन्नै सक्दैन । अनुमान पनि लगाउन सक्दैन । सत्ता र शक्तिमा आफूलाई मात्र देख्छ । जसरी श्रील्ङकामा जनताले राष्ट्रपतिको कार्यालय कब्जा गरेका थिए; बंगलादेशमा प्रधानमन्त्रीको कार्यालय र निवास कब्जा गरेका थिए; त्यसैगरी नेपालको संसद् भवन र सिंहदरबार समेत कब्जा गरे; नेताका घर जलाए; महत्त्वपूर्ण सरकारी कार्यालय जलाए तर शासकका अंगरक्षक प्रहरी, सेना पनि नसमस्तक बने ।
श्रीलङ्काबाट शासक राजापाक्षे परिवार र बंगलादेशबाट सेख हसिना जसरी देशै छाडेर भागेका थिए, सुखद नेपाली नेताहरू देश छाडेर भाग्नुपरेन । शासन, सत्ता र शक्ति मिलीजुली बाँडेर लिने प्रथा भगाए । नेपाली राजनीतिका बुढा पुस्ताका नेता पनि औपचारिक रूपमा बिदा हुने अवस्थामा पुगे । त्यसको उत्तर २१ फागुनमा २०८२ को प्रतिनिधिसभाको चुनावमा देखिएला । त्यसभन्दा अगाडि लेख्नु र बोल्नुको अर्थ छैन ।
अहिलेसम्म नेपालमा भएका आन्दोलन मूलतः राजनीतिक दलकै अगुवाइमा भएका थिए, त्यो पनि पुरानो व्यवस्था परास्त गर्न र नयाँ व्यवस्था ल्याउन तर राजनीतिक दलकै विरुद्ध पहिलोपटक आन्दोलन भयो । दलको विकल्पमा दल मात्रै हुनुपर्ने प्रजातान्त्रिक मान्यता छ, जेन–जी आन्दोलनको सार पनि त्यही छ ।
जेन–जी आन्दोलनमा जनताले अपार शक्ति देखाए तर यसबाट मौलिक परिवर्तन न्यून छ । कारण, यसमा क्रान्तिकारी नेतृत्वको अभाव रह्यो । नेतृत्व र कार्यक्रमविना लक्ष्य स्पष्ट हुँदैन । त्यस कारण नेपालको जेन–जी क्रान्ति बिचमै अलमलमा पर्यो । मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो । नेपालको पहिलो महिला प्रधानमन्त्रीको परिचय थप्यो ।
जेन–जी क्रान्तिको सन्देश
विश्वप्रख्यात कम्युनिस्ट नेता लेनिनले भनेका छन्, ‘शुद्ध, पूर्वयोजना अनुसारको समाजवादी क्रान्तिको कल्पना मात्र गर्नेले कहिल्यै वास्तविक क्रान्ति देख्दैन ।’
हामी समाजवादी क्रान्तिको यात्रामा छौँ । अबको राजनीतिक यात्रा समाजवादी लोकतन्त्र वा गणतन्त्रको बाटो हो । यही मार्गमा जानुपर्छ भनेर नारा दिने नेता पनि अहिले नसमस्तक छन् । पार्टीभित्र नेतृत्व त्याग गर्न दबाब छ । औपचारिक रूपमा बोल्न सकेका छैनन् ।
समाजवादी नारा दिएर दलाल पुँजीवादी चरित्र, व्यवहार देखाउने दलका नेताले कल्पना बाहिरको विद्रोह यो हो । संविधानभित्र रहेका विधि, पद्धति, ऐन–कानुन कार्यान्वयन गर्नेहरू नै अराजक बनेपछि जेन–जी विद्रोहले उथलपुथल ल्याएको हो । अब विद्रोह गर्न हातमा बन्दुक बोक्नुपर्दैन । हातमा मोबाइल भएपछि पुग्छ ।
संविधानका राम्रा र नराम्रा पक्ष छुट्ट्याउनुको साटो आफू अनुकूल व्याख्या गर्ने दलका शीर्ष नेताका विरुद्ध जेन–जी विद्रोह सम्मानयोग्य छ । जेन–जी आन्दोलनका वीर सहिदप्रति उच्च सम्मान छ ।
देशको भावी नेतृत्वका लागि अब युवा अघि सर्नेछन् । समय जटिल र सरल परिस्थिति अगाडि उभिएको छ । राजनीतिक दलहरूका पहिलो पुस्तालाई बिदा दिने र दोस्रो तथा तेस्रो पुस्ताको नेतृत्व हुनुपर्छ भन्ने बहस जारी छ । पार्टीलाई अब मुखमा वामपन्थी, काममा दक्षिणपन्थी बनाउने परिपाटी अन्य हुनुपर्छ । काम र नाममै वामपन्थी बनाउनुपर्छ । सत्ता र शक्तिले जनतालाई प्राथमिकता राख्नुपर्छ भन्ने गहिरो चेत छाडेको छ । नेतृत्वविना अपुरो देखिएको जेन–जी क्रान्तिले नेपाली राजनीतिमा धेरै ठुलो सन्देश दिएको छ । नेतृत्वविना पनि ठुला क्रान्ति हुने रहेछ भन्ने प्रमाणित छ ।
यद्यपि यस आन्दोलनमा हामी नेपाल नाम गरेको संस्थाका अगुवा सुदन गुरुङको नाम आइरहेको छ । रक्षा बम वा मिराज ढुंगानाको अर्थात् अरु धेरै छन्, यस आन्दोलनमा नेताका रूपमा देखिएकाहरू तर औपचारिक रूपमा जेन–जी आन्दोलनको नेतृत्व अmझै प्रस्ट भएको देखिँदैन । एउटा सम्झौतामा एउटाले मौखिक हस्ताक्षर गरेको मात्र देखिन्छ । नेपाली परिवेशको मौलिक क्रान्ति जेन–जी विद्रोह हो ।
भविष्य खोसिएका भनौँ वा केही गुमाउन बाँकी नभएका युवा देशका लागि मर्न तयार हुँदा रहेछन् । यसलाई नेपाल र केन्यामा यसलाई ‘जेन–जेड’ अर्थात् जेन–जी क्रान्ति’ले चिनियो । श्रीलंका, बंगलादेश लगायत देशमा ठुला आन्दोलन भनिएको छ । यी आन्दोलनबाट जनताले भ्रष्ट शासकलाई तत्कालका लागि खेदे । उनीहरूको मोज–मस्तीविरुद्ध ठाडै प्रहार गरे । यसमा कतिपयले भन्छन्— यस्ता आन्दोलन पुँजीवादविरुद्ध होइन, केवल भ्रष्टाचारविरुद्ध हो । भ्रष्टाचार पुँजीवादी प्रणालीको चरम रोग हो, यसमा गहिरो गरी अध्ययन गर्नैपर्छ । पुँजीवादकै अन्त्यविना भ्रष्टाचारको अन्त्य असम्भव छ । पुँजीवादको अन्त्य हुनु भनेको निजी सम्पत्तिको अन्त्य गर्नु हो । राज्यको मातहतमा ल्याउनु वा सीमित दायरामा राख्नु हो । भ्रष्टाचारको अन्य गर्न निजी सम्पत्तिमा अंकुश लगाउनुपर्छ । नेपालमा जरुरी छ । त्यसका लागि भ्रष्टहरूलाई कानुनी कारबाहीको दायरामा कडा रूपमा ल्याउनुपर्छ । भ्रष्टाचारसम्बन्धी कारबाही गर्ने राज्यका संवैधानिक निकाय दलहरूको हस्तक्षेपबाट मुक्त हुनैपर्छ ।
चुके जेन–जी
अहिलेकै संविधानमा रहेर प्रतिनिधिसभालाई जीवितै राखेर संसदीय प्रक्रियाबाट आन्दोलनको ‘ल्यान्ड’ गराउनुपर्थ्यो । ओलीले राजीनामा दिएपछि निकास संविधानबाटै खोजिनुपर्थ्यो । संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारसम्बन्धी शक्तिशाली स्वतन्त्र आयोग, निर्वाचन प्रणालीमा श्रमिक एवं विपन्न वर्गबाट समेत समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने व्यवस्था, ‘पितृसत्तात्मक’ र ‘वर्ण व्यवस्थाजन्य विभेद’ अन्त्य संविधान संशोधनबाटै हटाउनुपर्थ्यो । त्यसका लागि उत्तम उपाय, प्रतिनिधिसभा विघटन नगरीकन गराउनुपर्थ्यो । अहिलेकै संसद्हरूलाई त्यो काम लगाउनुपर्थ्यो । यसमा जेन–जी नराम्ररी चुकेका छन् । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भए पनि संविधान संशोधनको ग्यारेन्टी छैन । प्रत्यक्ष कार्यकारीको कुरा परको भइसकेको छ ।
संविधानअन्तर्गत रहेका कतिपय कानुन, ऐन, नियमावलीहरू अपुष्ट र अपुरा, समय अनुकूल नभएका छन् । तिनको परिमार्जन संविधानबाटै खोज्नुपर्थ्यो । त्यसमा जेन–जी पुस्ताको क्रान्ति असफल भएको छ । आन्दोलन पनि त्यसैका लागि थियो ।
अब प्रश्न छ— त्यसो भए जेन–जीका नाममा भएको विद्रोह प्रधानमन्त्री ओलीलाई हटाएर सुशीला कार्कीलाई बनाउन मात्र हो त ? सामाजिक सञ्जालका भाइरलहरूलाई मन्त्री बनाउन मात्र हो ? नेपालमा जेन–जी क्रान्ति सफल भएको छ तर समूह र झुन्डमा देखेर जेन–जी, सहिदका परिवार र घाइतेहरू के सोचिरहेका होलान् !
संविधानकै परिकल्पनाबाहिर गएर पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सडकमा रगत बगेको हो ? संविधानकै पक्षमा रहेका जेन–जीलाई निद्रा लागेको छ ? हिजोका भ्रष्टका फाइल जलेका छन् । भ्रष्टहरू पुनः उठ्दै छन् । तिनीहरूको दीर्घकालीन व्यवस्थापन खोइ ? पूर्वशासक र प्रशासनको सम्पत्ति छानबिन गरेर कानुनी कारबाही गर्नुपर्दैन ? भ्रष्टहरूको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्दैन ? भ्रष्टको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्दा पनि जलेका सरकारी संरचना बनाउन पुग्छ कि ! त्यसतर्फ कार्की नेतृत्वको सरकारको ध्यान गएको छैन । यसमा जेन–जीहरूले खबरदारी गर्नुपर्दैन ।
जेन–जी पुस्ताका अनुहार मन्त्री परिषद्मा किन लोप भए ? मन्त्री हुने उमेर पुगेका जेन–जीहरू धेरै छन् । यस विषयमा जेन–जीको आन्दोलनको अगुवाइ हुँ भन्नेहरूले सोच्नुपर्दैन । दलको दाग नलागेको खोज्ने भन्दै भाइरल व्यक्ति खोजेर देशले पार पाउँछ ? हिजोका भ्रष्टलाई आज स्वतन्त्र मान्छे भनेर रोज्न वा खोज्न बानेश्वरमा रगत बगेको हो ?
अर्को कुरा, शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने आदेश दिने सरकारको छानबिन कसरी हुन्छ ? विगतका आन्दोलनहरूमा धेरै छानबिन समिति बनेका छन् तर नतिजा शून्य छ । यो पनि त्यस्तै हो ? यी प्रश्नको उत्तर अहिले जेन–जीको नेतृत्वकर्ता बनेर निस्केका सुदन गुरुङसँग छ ? गुरुङको बोलीचाली हेर्दा त्यस्तो देखिँदैन । त्यस कारण नेतृत्वविहीन जेन–जी क्रान्तिले अझै ठुलो क्रान्तिको संकेत प्रस्ट गरेको छ । त्यो आन्दोलनका लागि नयाँ बाटो नेपालमा जेन–जी पुस्ताले खोलेको छ ।
दल र नेतामा दबाब
बहुदलीय प्रजातान्त्रिक वा लोकतान्त्रिक मूल्य–मान्यता बोकेको गणतान्त्रिक देशमा दलको विकल्प दल नै हुन्छ । त्यस कारण जेन–जी क्रान्तिपछि केवल सत्तारुढ दलहरू मात्र होइन, सम्पूर्ण राजनीतिक दलमाथि वा पुराना र नयाँ नेतामाथि दबाब सिर्जना भएको छ । दल र नेताहरू सच्चिने अवस्थामा छन् ।
यता एउटा समूहमा भ्रम फैलिएको छ । दलका नेतालाई घृणा गर्नुपर्छ । हालसम्म आफूलाई जेन–जीका नेतृत्वकर्ता बताउने सुदन गुरुङको मुखबाट ‘नेता कुटिन्छ/कुट्छौँ’ भन्ने तर्क सामाजिक सञ्जालमा बारम्बार आइरहन्छ । के यो मण्डले प्रवृत्ति होइन र ? पढे–लेखेको र संसार बुझेको जेन–जीको संस्कार यही हो ?
पुराना दल र नेताले नै बाँडेको गुलियो सपनामा नुनिलो स्वाद जनताले भेटिसकेका छन् । त्यसो भएकाले प्रतिगामी विचारधारा बोक्ने, यथास्थितिवादमा रमाउने जेन–जी पुस्ताले मात्र सबै दल र नेतालाई गाली गर्छ । क्रान्तिकारी वा परिवर्तनकारी विचारको पथमा हिँड्ने वामपन्थीले सधैँ नयाँ विकल्प खोज्छ । नयाँ विकल्प दिन अघि सर्छ । अब नेपालमा नयाँ दल पनि आउला । पुराना दलमा पनि सुध्रिने संकेत आएको छ । परिवर्तन हुन जरुरी छ । जुन जेन–जी आन्दोलनले सिधै खबरदारी गरेको छ ।
वर्षौं सत्तामा रमाउने परिपाटीबाट अब सबै दलमा भएका जेन–जीले मुक्त गर्नैपर्छ । जनताले आफ्नै हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टी खोजिरहेको प्रस्ट छ । त्यो पनि जेन–जीले दिन सक्नुपर्छ । नारामा वामपन्थी विचार दिने, व्यवहारमा दक्षिणपन्थी बाटो लिने दलहरूको बिदाइ गर्नैपर्छ ।
भित्री पाटो
भारतीय सञ्चारमाध्यमले नेपालको जेन–जी आन्दोलनमा अमेरिकन हात रहेको प्रचार–प्रसार गरिरहेका छन् । हामीले नेपाली विज्ञ, विश्लेषक भन्नेका मुखबाट थरीथरीका विश्लेषण सुनिरहेका छौँ । कसैले आन्दोलनलाई पश्चिमी शक्तिद्वारा आयोजित ‘कलर रिभोलुसन’ भनेका छन् । कसैले यसमा भारत त कसैले क–कसलाई जोडेका छन् । नेपालको आन्दोलनमा छिमेकी भारत र चीनमा चासो हुनु स्वाभाविक हो । त्यसमा पनि मित्र राष्ट्रको चासो हुनुहुँदैन भन्ने होइन ।
नेपालका विगतका सडक आन्दोलन होस् या सशस्त्र युद्ध होस्, तिनमा विदेशी शक्तिको भूमिका रहेको बारे धेरै लेख र किताब पनि बजारमा आएका छन् । तिनले प्रस्ट भन्छन्— बाह्य शक्तिको हस्तक्षेप नौलो होइन, सामान्य हो । यद्यपि यो जेन–जी क्रान्ति कुनै षड्यन्त्र होइन । क्रान्तिकारी नेतृत्व नभएपछि प्रतिक्रियावादी शक्तिले हस्तक्षेप गर्न खोजेको प्रस्ट हो । त्यसमा अमूर्त रूपमा संविधान जोगिएको छ, मात्र मिचिएको हो । त्यसमा घरेलु बाह्य शक्ति दुवै थिए । मात्र एउटा समूहले जित्यो र अर्को समूहले हार्यो । यसमा अध्ययन गर्दा हुन्छ तर हाम्रो देशलाई बाह्य शक्तिको मतियार बन्नबाट जोगाउनुपर्छ । मित्र राष्ट्रले आफूअनुकूल बनाउन खोज्दा रणमैदान बन्न सक्छ । यसमा जेन–जीले ध्यान दिनुपर्छ ।
नेपालमा राजतन्त्रको अन्त्यपछि पनि आर्थिक विकासको मेरुदण्ड तय हुन सकेको थिएन । गरिबी, बेरोजगारी पहिलाकै जस्तै थियो । त्यसकारण श्रीलंका र बंगलादेशमा जसरी निवर्तमान सरकार ढले, त्यसै गरी नेपालमा पनि ढलेको हो । नयाँ निर्माण भएको कार्कीको सत्तामा पनि पुरानै मनोभावको छ । रुसको सन् १९१७ को फेब्रुअरी क्रान्तिसँग यसको तुलना गर्न सकिन्छ । जहाँ जार गयो, तर पुँजीवादी वर्ग यथावत् रह्यो । जब अक्टोबरमा बोल्सेभिकले सत्ता कब्जा गर्यो, अनि केही समयमा समाजवादी देशका रूपमा रुस चिनियो तर फेरि पुँजीवादी विचारधाराका भूतहरूले अहिले फेरि रुसमा सुधारिएको पुँजीवादी व्यवस्था नै फर्काए ।
श्रीलंकाबाट सुरु भएको यो डिजिटल विद्रोहले बंगलादेश, नेपाल, इन्डोनेसिया, केन्यामा जसरी उथलपुथल ल्यायो; यसको मूल कारणमा उच्च बेरोजगारी, असमान विकास, भ्रष्टाचार, नेतृत्वमा दलाल मानसिकता, निरंकुशता, वैदेशिक ऋणको बोझ, युवा भविष्य अन्योल, असमानता, विधि र पद्धति, ऐन–नियम, कानुनको उल्लंघन हुन् ।
संसारका धेरै देश यस्तै स्थितिमा छन् । यसले देखाउँछ कि क्रान्तिकारी पार्टी पहिले नै निर्माण गर्नुपर्छ, समय धेरै छैन । संसारभर पुँजीवादको संकट तीव्र छ । आज गरिब देशमा सुरु भएको यो लहर अन्ततः विकसित देशसम्म देखिन्छ । विश्व जागिरहेको छ । अबको विद्रोह बन्दुक बोकेर होइन, हातमा मोबाइल बोकेर हुनेछ । यो झन् ठुलो क्रान्तिकारी विस्फोट बन्छ । लाखौँ लाख मानिस मर्न तयार हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण